Uncategorized

देउमायाको मृत्यु रहस्यमय : जाहेरी नलिएको भन्दै प्रहरी कार्यालय घेराउ

दमौली खबर सम्बाददाता
फागुन २८, दमौली । तनहुँको देवघाट गाँउपालिका वडा १ मा गत फागुन १२ गते भएको एक युवतीको मृत्यु रहस्यमय बनेको छ ।
गत फागुन १२ देवघाट १ मानुङमा आफ्नै घरमा झुण्डिएको अवस्थामा प्रहरीले १६ वर्षीया देउमाया थापाको शव फेला पारेको थियो ।
घटनाको अर्काे तीन दिन पछि देउमायाको माइती पक्षले मृत्यु शंकास्पद भन्दै इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा किटानी जाहेरी दिन गए । तर, प्रहरीले देउमायाको बुबाले जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन मानेन । सोही वडाको कालिकाटार बस्ने प्रेमबहादुर थापाको जाहेरी दर्ता नगरेपछि पीडित पक्ष रूष्ट बनेको थियो।
घटनाबारे प्रहरीले चासो नै नदिएको भन्दै बुधबार करिब २ सयको संख्यामा मृतकका आफन्त र माइतीपक्ष जिल्ला प्रहरी कार्यालय तनहुँ घेराउ गर्न पुगेका थिए । देउमायाको विवाह ०७५ साउन १ गते रुपबहादुर गुरुङसंग भएको
थियो ।
विवाह भएको करिब ८ महिनामा यस्तो घटना भयो, मृतकका एक आफन्तले भने । मृतक देउमायाका श्रीमानले पटक पटक हिंसा गर्दै आएको भन्दै उनले हामीसंग गुनासो गरेकी थिइन्, त्यसलाई हामीले सामान्य होला भन्ने सोच्यौ तर त्यस्तै कारण छोरीको ज्यान जाला भन्ने हेक्का थिएन, मृतकका बुबा प्रेमबहादुर थापाले भने ।
साथै उनले घटनास्थल प्रकृति मुचुल्का र शवको चेक जाँच प्रकृति मुचुल्का र पोस्टमार्टम रिर्पोट हेर्न पाउने माग गरे ।
‘प्रहरीले किटानी जाहेरी दर्ता गरोस् अनि सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाही गरोस्, थापाले भने । घटनाको प्रकृती हेर्दा आत्महत्या नभई हत्या भएकोले घटनाको सत्यतथ्य छानविन हुनुपर्छ, देउमाया थापामगर हत्या काण्ड संघर्ष समिति संयोजक एवं देवघाट १ महिला सञ्जाल अध्यक्ष जुली सारु मगरले भनिन् ।
महिलाको शवको घटना प्रकृति हेर्दा आत्महत्या नभई हत्या भएको हुनसक्ने भएकाले सत्यतत्थ छानविनको लागि आफुलहरुले जिल्ला प्रहरी कार्यालयमा अनुरोध स्वरुप छलफल गरिएको देवघाट गाउँपालिका वडा नम्वर १ का वडा अध्यक्ष भीम वहादुर गुरुङले बताए ।
जिल्ला प्रहरी कार्यालय तनहुँ प्रमुख प्रहरी उपरीक्षक विनोद शिलवाल मृतक महिलाको आफन्तले ज्यान सम्बन्धी कसुर मुद्धा दर्ता गर्न खोजेपनि उक्त घटनाको लागि प्रमाण स्पष्ट नभएकाले मुद्धा गर्न नमिल्ने र आत्महत्या दुरुत्साहन मुद्धाको लागि बिहीवार वकिलसंग प्रमाण हेरेर दर्ता प्रक्रिया अघि बढाउने बताए ।
‘घटनाप्रति हामी पनि गम्भिर छौं तर आत्महत्या भएको अवस्थामा नै प्रहरीले उनको शब फेला पारेर मुचुल्का उठाएको छ’ उनले भने । प्रहरीले घटनाको बारेमा अनुसन्धान गर्ने भने पछि आफन्तजनले केहीबेर नाराबाजी समेत गरेका थिए ।

Show More

Related Articles

Back to top button