Uncategorized

नाम मात्रको निषेधाज्ञा

दमौली खबर संवाददाता

जिल्लाको सदरमुकाम दमौली बजार भरि चहलपहल बाक्लो छ । चोक–चोकमा मानिसको भीडभाड उस्तै छ । बैंक लगायत वित्तिय संस्थाको बाहिर जात्रा झै लाग्ने भिड छ । सरकारी कार्यालयमा पनि सेवा लिनेहरुको उस्तै भिड छ । बाटोमा हिड्ने र भिडभाडमा रहेकाले मास्क लगाएको देखिँदैन  । भौतिक दूरी पनि कतै देखिँदैन । प्रहरीको निगरानी पनि कतै भेटिँदैन । मास्क नलगाउनेलाई कारबाही गर्न पनि छोडिएको छ । विहान देखि साँझ ५ बजे सम्म सबै पसलहरु खुलेका छन् । खुलेका कुनै पनि पसलमा सतर्कता अपनाएको पाइँदैन् । मानिसहरु खुल्लारुपमा आवत–जावत गरिरहेका छन् । सार्वजनिक यातायातमा समेत मापदण्ड लागू भएको पाइँदैन ।

यात्रुवाहक साधनले कोचाकोच गरेर यात्रु राख्ने गरेको छ। कोभिड १९ को दोस्रो भेरियन्ट सुरु भएपछि तनहँुमा बैशाख २२ गतेदेखि निषेधाज्ञा सुरु गरेको थियो । त्यसबेलादेखि जारी भएको निषेधज्ञा साउन २० गते सम्मलाई लम्बाईएको छ । कोरोना जोखिम न्युनिकरणको लागि जारी गरिएको निषेधाज्ञाले संक्रमणको दर घट्नुको साटो उल्टै बढेको छ । सरकारी नियमन निकायले अहिले मापदण्ड पालना भएनभएको अनुगमन गरेको छैन । तनहुँमा शनिबार एकैपटक एक सय ७ जना नयाँ कोरोना संक्रमित थपिए । अहिले तुलनात्मक रूपमा संक्रमितको संख्या धेरै देखिएको छ । निषेधाज्ञा खुकुलो भएसँगै संक्रमणको दर पनि फैलदो छ ।

साउनको पहिलो सातामा दुई सय ४२ जना सक्रिय संक्रमित रहेकोमा साउन १७ गते सम्म यो संख्या बढेर तीन सय १८ पुगेको छ । असारको अन्तिम हप्तासम्म दैनिक संक्रमितको संख्या २० भन्दा तल थियो । साउन सुरु भएपछि संक्रमितको संख्या ह्वात्तै बढेको हो । सुरुवाति समयमा चेकजाँचमा कडाइ गरेपनि अहिले खुल्ला गरिएको छ । जसकारण जिल्लामा संक्रमणको दर ह्वात्तै बढेको हो । सर्वसाधारणले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना नगरेमा फेरी संक्रमण दर भयावह हुने स्वास्थ्य कार्यालय तनहँुका प्रमुख शंखरबाबु अधिकारी बताउन्छन् । उनले भने,‘निषेधाज्ञा अहिले पनि जारी छ तर कार्यान्वयन फितलो छ ।

आवश्यक सावधानी नपअनाएर संक्रमण कुन बेला अर्को रूप लिन्छ भन्न सक्ने अवस्था छैन,’ उनले अघि भने, ‘फेरि संक्रमण समुदायमा फैलिन सक्ने खतरा छ ।’ यस्तो अवस्थामा आवश्यक स्वास्थ्य सतर्कता र स्वास्थ्य मापदण्ड पालनामा सबै पक्ष गम्भीर भइदिए मात्रै विगतको जस्तो विडम्बना नआउने उनको भनाई छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्कगत बरालले निषेधाज्ञा खुकुलो बनाउँदा मानिसहरु सचेत नभएर उल्टै लापरवाही गर्दा जोखिम बढेको बताए । उनले भने, ‘प्रहरीले र प्रशासनले मात्रै डण्डा लगाएर मास्क लगाउ भने मात्रै लगाउने नत्र वास्ता नगर्ने परिपाटी देखियो,’ उनले अघि भने ‘संक्रमण फैलन नदिन सबैले आ–आफनो ठाँउबाट आफनो कर्तव्यको पालना गर्नुपर्छ ।

Show More

Related Articles

Back to top button