साहित्यAll

नाङ्गो गणतन्त्र

हिरा भट्ट
भान्साभित्र म दूध कुर्दछु भनी ढाडे बिराला सुते
हात्ती अंकुशमुक्त छन् मुलुकमा स्वार्थी हुँदा माहुते
देख्नेले पनि लाज मान्छ तनमा सक्छौ खरानी घस
नाङ्गै छौ गणतन्त्र लाज छ भने धोती लगाई बस
।१।
मुद्दा हाल्छ किसान धान नभई ती खेत रित्तै हुँदा
खुल्लेआम मुसाहरू कुदिरहे छन् जेलमा भ्यागुता
खोज्छौ धान भने मुसा सँगसँगै आफै दुलोमा पस
नाङ्गै छौ गणतन्त्र लाज छ भने धोती लगाई बस
।२।
देख्दैनौ किन हो सयौं कहरमा निर्धा परेली रुने
साँच्चै दृष्टिविहीन छौ यदि भने चस्मा लगाए हुने
छन् छर्लङ्ग समस्त अङ्ग किन हो सक्छौ लँगौटी कस
नाङ्गै छौ गणतन्त्र लाज छ भने धोती लगाई बस
।३।
खिल्ली कानुनको उड्यो उडिरह्यो नाघेर सीमा हद
लाग्दा रोग मरी सुशासन चरी टाढा रह्यो औषध
आफ्नै पक्ष सधैँ तराजु रहँदा गुन्डा बने शासक
नाङ्गै छौ गणतन्त्र लाज छ भने धोती लगाई बस
।४।
साँढेको छल युद्धमाझ मिचिए बाछा र बाछीहरू
आफै पाल्दछ अख्तियार सुनका माछा र माझीहरू
जाली स्वस्तिकछापको भर परी रित्ता बने बाकस
नाङ्गै छौ गणतन्त्र लाज छ भने धोती लगाई बस
।५।
छन्द:शार्दूलविक्रीडित
रचनाकार:हिरा भट्ट
ठेगाना:पञ्चेश्वर-६,बिजुल,बैतडी

Show More

Related Articles

Back to top button