समाचारAll

चोकर र दाना महंगो हुदाँ बाख्रा पालन व्यवसाय संकटमा परेको गुनासो

दमौली खबर संवाददाता

दमौली । तनहुँका व्यावसायिक बाख्रा पालक कृषकहरुले चोकर, दाना र मकै महंगो हुँदा बाख्रा पालन व्यवसाय संकटमा परेको बताएका छन् । बुधबार दमौलीमा राष्ट्रिय बाख्रा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा कृषकहरु सो गुनासो गर्नु भएको हो ।

चोकर र दाना हाल दोब्बर मंहगो भएपनि मासु भने मूल्य भने झन घटेर बेच्नु परेको आँबुखैरेनी १ सत्रसयका कृषक कुमार पोख्रेलले बताउनुभयो । भारतीय बजारबाट नेपालको भन्दा सस्तो मूल्यमा लुकीछिपी बाख्रा आयात हुने गरेकाले जिल्लाका कृषकले उत्पादन गरेको बाख्रा बेच्नलाई समस्या परेको गुनासो उहाँले गर्नुभयो । ६ सय रुपियाँ प्रति केजी जिउँदा बाख्रा विक्री गर्ने गरेकोमा हाल ५५० रुपियाँ बेच्नु परेको उहाँले जानकारी दिनुभयो । बन्दीपुर गाउँपालिका–४ बिमल नगरकी सिता थापाले कृषकलाई प्राविधिक ज्ञान नहुँदा बाख्रा मर्ने जस्ता समस्याले कृषकलाई सताएको बताउनुभयो । सो अवसरमा भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा. बालकुमार श्रेष्ठले दाना र चोकरको मूल्य बढेकाले नाफा कमाउनको लागि घाँसको आधारमा बाख्रा पालन गर्नु पर्ने सुझाव दिनुभयो ।

राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र बन्दीपुरका प्रमुख डा. राजु कँडेलले सरकारले प्राविधिक ज्ञान किसानलाई दिने गरी अनुसन्धान केन्द्र बनाउँदा धेरै कृषक लाभान्वित हुने बताउनुभयो । कार्यक्रमको उद्घाट जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले गर्नु भएको थियो । सो अवसरमा वाग्लेले जनप्रतिनिधीले किसानलाई लाभ हुने योजना बनाउन आवश्यक रहेको बताउनुभयो । साथै कृषि क्षेत्रमा राज्य लगानी गरे अनुसारको प्रतिफल नपाएकोले वास्तविक कृषक लाभाविन्त हुने योजनाहरु ल्याउनु पर्ने बताउनुभयो ।

कार्यक्रम नेपाल बाख्रा पालक व्यवसायिक महासंघ तनहुँका अध्यक्ष कुशलचन्द्र वाग्लेको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा नेकपा एकिकृत समाजवादी तनहुँका अध्यक्ष श्रीराम कार्की, नेपाल बाख्रा पालक व्यवसायिक महासंघका तनहुँका निर्वमान अध्यक्ष मानबहादुर भण्डारी, सदस्य चेतबहादुर थापा लगायतले कृषक गुनासो सुन्ने मात्रै नभई समाधान गर्न दबाब दिनको लागि सबै जना एक जुट भएर लाग्नु आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।

Show More

Related Articles

Back to top button