साहित्यAll

कुरीकुरी

पेटीकोट खस्यो इँजार चुडिँदा त्यो बालुवाटारको
खस्केको सुरुवाल देखिन गयो झन् सिंहदर्बारको
लौ न्यायालय कट्टुमा जुन थियो सर्वाङ्ग नाङ्गो हुँदा
छ्याछ्या! दृश्य! कुरीकुरी! सरम भो छोप्ने कुरा देखिँदा
।१।

पैलो गुप्त छ अङ्ग जो मुलुकको कानून जन्माउँछ
दोस्रो अङ्ग सहर्ष पालन गरी कानून अन्माउँछ
तेस्रो अङ्ग विधान रक्षक हुने सिद्धान्त साक्षी हुँदा
तीनै अङ्ग कुरीकुरी! सरम भो छोप्ने कुरा देखिँदा
।२।

दोषी चोर अभद्र दुष्ट पुजिए के गुह्य हो आखिर
हुन्छन् भक्षक तुल्य रक्षक तिनै सत्कारमा हाजिर
नाङ्गो नर्तक रङ्गमञ्च मलिनो तस्वीर अर्कै हुँदा
छ्याछ्या!नृत्य कुरीकुरी!सरम भो छोप्ने कुरा देखिँदा
।३।

यौटा पक्ष छ दण्डहीन बलिया निर्लज्ज डाँकाहरू
अर्को पक्ष निरीह तप्प चुहिने निर्दोष आँखाहरू
बढ्दो लाज छिमेक माझ घरको ऐना बिरामी हुँदा
नाङ्गो राज! कुरीकुरी!सरम भो छोप्ने कुरा देखिँदा
।४।

राणा अस्ति र एक राजन हिजो संघीयता आज छ
रोपेको गणतन्त्रको कुसुम जो फुल्दो टुसा माझ छ
नाङ्गो आङ सुहाउँदैन नृपते शालीनता रोप न
प्यारो देश फुलोस् पुगोस् शिखरमा छोप्ने कुरा छोप न
।५।

Show More

Related Articles

Back to top button