समाचार

उत्पादनमा जोड दिनुपर्छ ः पूर्व अर्थमन्त्री महत


पूर्व अर्थमन्त्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.रामशरण महतले काँग्रेसले अबलम्बन गरेको उदार अर्थनीतिमा देशमा राजस्व बढेको बताएका छन् । नेपाल वितरक महासङ्घ काठमाडौंको शनिबारबाट दमौलीमा शुरु भएको नवौ वार्षिक साधरण सभाको उद्घाटन गर्दै महतले सो कुरा बताएका हुन् । प्रजातन्त्रको पुर्नस्थापना पनि उदार अर्थनीति अवलम्बन गरिएकोले आर्थिक गतिविधी बढेको र देशमा औद्योगिक क्षेत्र फष्टाउने अवसर प्राप्त भएको बताए । वि.स.२०४८ सालमा १२ अरबको राजस्व संकलन भएकोमा हाल १ हजार अरब राजस्व संकलन गर्ने वातावरण बनेको उनको भनाई थियो ।

नेपालमा माग अनुसार उत्पादन हुन नसकेको उल्लेख गर्दै उत्पादन वृद्धि गर्न व्यवसायीले लगानी बढाउनु पर्ने र सरकारले उद्योगमैत्री विकासको पूर्वाधारहरु खर्च धेरै गर्नु पर्ने महतले बताए । यातयात, सञ्चार, विद्युत, प्राविधिक जनशक्ति जस्ता पूर्वाधार निर्माणमा सरकारले ध्यान दिनुपर्ने पूर्वमन्त्री महतको भनाई थियो । कृषि, जलस्रोत र पर्यटन विकासको सम्भावना धेरै भएपनि सो अनुसारको पूर्वाधारहरु तयार काम हुन नसक्दा नेपाल विकासमा पछि परेको उनको धारणा थियो । कार्यक्रममा धेरै ठाउँमा कर र व्यवसाय दर्ता गर्नु पर्ने समस्याको समाधान गर्न व्यवसायीहरुले आग्रह गरेका छन् ।

नेपाल वितरक महासङ्घका केन्द्रीय सदस्य दुर्गाराज श्रेष्ठले व्यावसायीले धेरै ठाउँमा कर र व्यवसाय दर्ता गर्नु पर्ने बाध्यता हुँदा झन्झट भएकोले सरलीकृत गर्नु आवश्यक रहेको बताए । ‘‘हामीले व्यवसाय दर्ता गर्दैनौ, कर तिर्दैनौं भनेका छैनौं तर धेरै ठाउँमा कर र व्यवसाय दर्ता गर्नु पर्ने प्रावधान हटाएर सहज बनाउनु पर्छ’’ श्रेष्ठले भने । स्थानीय, केन्द्र, घरेलु, कर कार्यालय, उद्योग विभाग, कम्पनी रजिष्टूार जस्ता १० स्थानमा दर्ता गर्नु पर्ने प्रावधान नराखी एकै स्थानमा दर्ता गर्नु पर्ने उनले माग राखे । साथै उनले घर बहाल घर घरबेटीले तिर्नुपर्ने भएपनि व्यवसायीको टाउँकोमा थुपार्ने काम भएकोले नीतिगत व्यवस्था गरी समाधान गर्नु पर्ने बताए ।

महासङ्घका अध्यक्ष सुरेश अधिकारीले दर्ता नभएका राजनैतिक दलबाट चन्दा, सहयोग माग्ने जस्ता समस्या व्यवसायीले भोग्नु परेकोले व्यवसायीको सुरक्षाको लागि सरकारले विशेष ध्यान दिनु पर्ने जरुरी रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेस तनहुँका सभापति वैकुष्ठ न्यौपाने जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष वैकुण्ठनाथ मिश्र लगायतले बोलेका थिए ।

Show More

Related Articles

Back to top button