हेडलाईनसमाचारभिमादAll

भिमाद बजारको पहिरो रोकथाम गर्न कसैको ध्यान गएन

दमौली खबर संवाददाता
भिमाद(तनहुँ), असोज ३०  । तनहुँको भिमाद नगरपालिका–६ स्थित ऐतिहासिक भिमाद बजारको अस्तित्व जोखिम भएको छ । असोज महिनामा समेत अविरल वर्षा भईरहेको थप क्षति पुगेको स्थानीयले बताएका छन् ।
     सेती नदीले खोतलेर र अबिरल वर्षाले पहिरो खसिरहेकोले  पहिरोले खसेर भिमादको मूख्य बजार क्षेत्रको ४५ घर परिवार विस्थापित भईसकेको र  यो भन्दा तेब्बर सङ्ख्याको घरमा पनि जोखिम भईसकेकोले भिमादकोम मूख्य बजार जोखिममा परेको हो । पहिरो गर्दा घर छोडेर डेरामा बास बस्नु परेको सो ठाउँकी रेणु वाग्ले बताउनुहुन्छ । धेरै वर्ष अघि देखि पहिरोको खसी रहेकोले तटबन्धन हुन नसक्दा डेरा बस्नु परेको छ, वाग्लेले भन्नुभयो ।  घरको आधाभाग नदीमा खसेकोले वडादशैं समेत भाडाको घरमा मनाउनु पर्दा खल्लो महशुस भएको उहाँले बताउनुभयो । ‘हाम्रो कुरा कसैले सुनेनन्, नेताहरुले दश वर्ष अघि देखि समाधान गर्छु भने तर गरेनन्’ वाग्लेले गुनासो गर्नुभयो  । बेलामै टेवा पर्खाल बनाएको बजारको अस्तित्व संरक्षण हुने भए उहाँको भनाइ छ । पहिरो पीडित माया हिराचनले पहिला घरको पछाडी तरकारी लगाउने ठाउँ समेत भएकोमा अहिले पहिरो खसेर आधा घर मात्रै बाँकी रहेको बताउनु भयो ।
      हाल निरन्तर परेको बर्षाले डेड दर्जन घर पछाडीबाट पहिरो खसिरहेको थप जोखिम भईरहेको वडाध्यक्ष जोशीले जानकारी दिनुभयो । वडाध्यक्ष जोशीका अनुसार २०५२ सालदेखी पहिराले निरन्तर खस्ने गरेकाले भिमादको मूख्य बजार नै जोखिममा परेको जानकारी दिनुभयो  । प्राय घरबाट सेतीको डिलसम्म १५ मिटरसम्म दुरी थियो । तर, अहिले एक इन्च दुरी छैन् । पहिरो खसीरहे नदीतर्फको मात्रै नभएर भिमाद बजारको कुमार चोकको  सडक माथिको भाग समेत  जोखिम भएको छ  । नदी कटान र पहिरो रोक्लाई सानो बजेटले काम नगरको बजेटले नपुग्ने हुँदा सङ्घ र प्रदेश सरकारसँग माग गर्दा बजेट प्रयाप्त नदिँदा समस्या परेको भिमाद नगरपालिकाले जनाएको छ । पहिरो नियन्त्रणको लागि करीव १७ करोड बजेट लाग्ने हुँदा नगरपालिकाको आन्तरिक स्रोतले नभेट्ने भएकोले सङ्घ तथा प्रदेश सरकारसँग बजेट माग गरिएको नगरपालिकाको सूचना अधिकारी टेकादेवी ढकालले जानकारी दिनुभयो । ‘गत वर्ष गण्डकी प्रदेश सररकाले तीस लाख र २० लाख गरी दुई पटकमा ५० लाख विनियोजन गरेको सो रकम प्रयाप्त नहुँदा पहिरो रोक्न सकेका छैनौं’ ढकालले भन्नुभयो ।
     बस्ती जोगाउनलाई नगरपालिकाको बजेटले गत बर्ष नै बिस्तृत अध्ययन प्रतिवेदन  तयार गरेको ढकालले बताउनुभयो । सेती नदीले वर्षेनी तनहुँको भिमादबजार कटान गर्दै आएको छ । तर, तटबन्धको काम भने सुरु नै भएको छैन । यही कारण भिमाद बजारको लाहुरे टोल, कुमारचोक हुँदै रत्नचोक क्षेत्रका करिब २ सय घर जोखिममा छन् । वर्षातको समय स्थानीयले त्रासमा बिताउँछन् । स्थानीय सरकारले वर्षेनी १० देखि २० लाख  खर्चेर कटान नियन्त्रणको काम गर्दै आएको छ । तर, यही बजेट र कामले पहिरो नियन्त्रण हुने नभएको वडाध्यक्ष  श्यामसुन्दर जोशी बताउनुहुन्छ ।  ‘ठुलो रकम आवश्यक परेकाले सङ्घ सरकारसँग बजेट माग गरेका छौं आशा छ यस पटक हाम्रो माग पुरा हुनेछ’ जोशीले भन्नुभयो ।
     भिमाद बजार ऐतिहासिक मानिन्छ । यही बजारको नामबाट भिमाद नगरपालिका नाम राखिएको छ ।  नगरपालिकाको नामाङ्‍कनका सम्बन्धमा प्राचीन महाभारत किंवदन्ती अनुसार पाण्डवका ५ भाई छोरा मध्ये भिमसेनले आफ्नो समयमा सेती नदीमा बाँधेको बाँधलाई भिमबाँध भनिन्थ्यो । भिमाद बजारलाई छोएको सेती नदीमा ठुलो ढुङ्गा भिमसेनले ल्याएर राखेको स्थानीयले विश्वास गर्छन् ।  इतिहासको विकासक्रम र परिवर्तनसँगै भिमबाँध शब्दको अपभ्रंश भई भिमाद भन्न थालिएको हो । भिमाद शब्द जनजिब्रोमा लोकप्रिय भएकोले यस स्थानको नाम भिमाद रहन गएको भन्ने भनाई छ । साविक भिमाद गाउँ विकास समिति समेत गाभिएर यो नगरपालिका स्थापना भएकोले सोही गा.वि.स. को नामलाई कायम राख्दै यस ऐतिहासिक स्थलको महिमा झल्काउने गरी भिमाद नगरपालिका नामाकरण गरिएको हो । भिमाद तनहुँको अतिरिक्त स्याङ्जा, पाल्पा, नवलपरासीको व्यापारिक केन्द्र पनि हो ।
Show More

Related Articles

Back to top button