समाचारAll

भाषा संरक्षण गर्न दुरा समुदायलाई मातृभाषा सिकाइँदै

दमौली खबर संवाददाता

दमौली, चैत्र २१ गते

दुरा भाषा लोप हुनबाट जोगाउने उद्धेश्यले तनहुँका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गर्दै भाषा सिकाईएको हो । व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ ।। लमजुङको दुराडाँडा सेरोफेरो र कुन्छाबाट बसाइँ सरी आएकामध्ये १५ जनालाई छनोट गरी मातृभाषा सिकाइएको आयोजकले जनाएको छ ।

दुरा जातिको भाषा लोप हुँदै जान थालेकोले संरक्षण गर्न तालिम आयोजना गरिएको दुरा सेवा समाजका सदस्य दिलु दुराले जानकारी दिनुभयो । आफ्नो भाषा, संस्कृति जोगाउनुपर्छ र संरक्षणको लागि नयाँ पुस्तालाई सिकाउने लागि प्रेरणा जगाउनु पर्ने भएकोले तालिम प्रदान गरिएको समाजले जनाएको छ । समाजका अनुसार चैत १७ देखि सुरु तालिम चैत २६ गतेसम्म सञ्चालन हुनेछ । तालिममा भाषा आयोगका नमूना अनुसारको पाठ्यसामग्री समावेश गरिएको छ ।

दुरा जातिले आफ्नो भाषा बिर्सिँदै गएकाले मातृभाषा तालिम सञ्चालन गरेर उदाहरणीय प्रयास भएको व्यास नगरपालिका–११ का वडाध्यक्ष दलबहादुर दुराले बताउनुभयो । सोही वडाका सदस्य गोकुल दुराले भाषा सिक्नु भनेको पहिचान जोगाउनु हो भन्नुभयो । दुरा सेवा समाज तनहुँका अध्यक्ष कृष्णबहादुर दुराले यसअघि व्यास नगरपालिका–१ र ४ मा बसोबास गर्ने दुरा समुदायलाई मातृभाषा सिकाइएको जानकारी दिनुभयो । तालिममा मुक्तिनाथ घिमिरे र कमला दुराले भाषा सिकाइरहनुभएको छ ।

दुराडाँडास्थित गणेश माध्यमिक विद्यालयमा अध्यापन गराउँदा सोही सेरोफेरोमा घुमेर दुरा भाषाको शब्द सङ्कलन गरेको उहाँले बताउनुभयो । घिमिरेले भन्नुभयो, “दुराडाँडामा दुरा जातिको बाक्लो बस्ती छ । त्यहाँमा बुढापाकासँग मैले शब्दहरू सङ्कलन गरेँ । अहिले पछिल्लो पुस्ताले दुरा भाषा बिर्सिँदै जान थाले ।” तनहुँका विभिन्न ठाउँमा लमजुङको दुराडाँडाबाट बसाइँ सरेका दुरा जातिका व्यक्ति बसोबास गरेको पाइन्छ । नेपालमा दुराहरूको सङ्ख्या करिब पाँच हजार चार सय रहेको छ । दुरा लोपोन्मूख अल्पसङ्ख्यकमा पर्दछ ।

Show More

Related Articles

Back to top button