समाचार

मानहुँकोटलाई सफा राख्न कर्मचारी

मानहुँकोट घुम्न आउने पर्यटकको संख्या बढेर फोहोरमैला व्यवस्थापनमा समस्या देखिन थालेपछि व्यास नगरपालिकाले सरसफाई गर्ने कर्मचारी खटाएको छ । कात्तिक अन्तिम सातादेखी एक जना कर्मचारीलाई मानहुँकोटको सरसफाईमा नगरपालिकाले खटाएको हो । व्यास नगरपालिका–५ मानहुँकोटमा आउने पर्यटकले लापरवाही गर्दा फोहोरमैला बढेको र यसले पर्यटकमा नकरात्मक सन्देश फैलने भएकाले सरसफाई गर्न कर्मचारी खटाएको सोही वडाका अध्यक्ष एवम नगरप्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । उनका अनुसार ती कर्मचारीले दैनिक रुपमा मानहुँकोट क्षेत्रमा सरसफाई गर्नेछन् । २३ कात्तिकमा मानहुँकोट उक्लिएर बसेको व्यास नगरपालिकाको कार्यपालिका बैठकले त्यहाँ सरसफाई कर्मचारी राख्ने निर्णय गरेको थियो ।

फोहोर बढ्न थालेपछि विभिन्न संघसंस्थाले समेत डस्बिन सहयोग गरिरहेको श्रेष्ठले बताए । घुम्न आएका पर्यटकले मानहुँकोटमा सुन्दरतामा आँच आउने जथाभावी फोहोर नगर्न उनको अनुरोध छ । ‘पर्यटक पनि फोहोर गर्न हुन्न भनेर सचेत हुन आवश्यक छ’, उनले भने । दमौली बजारदेखी ६ किलोमिटर पर पर्ने मानहुँकोटमा पछिल्लो समय तनहुँका विभिन्न स्थानसंगै छिमेकी जिल्ला कास्की, स्याङजा, लमजुङ, गोरखा, चितवन, काठमाडौं लगायत देशका विभिन्न स्थानबाट घुम्न आउनेको ताँती बढेपछि फोहोरमैला बढ्दै गएको हो ।

महर्षी बेदव्यासको तपोभुमी दमौली बजारको पश्चिमपट्टी शिरमा मानहुँकोटको डाँडो छ । दमौली बजारलाई कुहिरोको डम्मै ढाकेर सुर्य उदाँउदाको मनमोहक दृश्य हेर्न लालयित आन्तरिक पर्यटक मानहुँकोटको डाँडोमा उक्लनछन् । दमौली बजारलाई कुहिरोले डम्मै ढाक्नुलाई पौराणिक कथासंग पनि जोडिन्छ । परापूर्वकालमा महर्षी व्यासका पिता पराशर ऋषिले माझीकी छोरी मत्स्यगन्धासँग सम्भोग गर्न लागेको समय लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराईदिएको प्रसंगहरु उल्लेख छ । त्यही कुुहिरोका कारण दशैँयता पर्यटकको संख्या ह्वात्तै बढ्यो मानहुँकोटमा ।

यसबर्षको दशैँपछि दैनिक हजार बढी पर्यटक दमौलीबाट मानहुँकोट उक्लने गरेका छन् । गतबर्ष पर्यटकिय सिजनमा दैनिक २÷३ सयको हाराहारीमा पर्यटक आउथे । आजभोली मानहुँकोटको चर्चा जताततै छ । सामजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको फोटो छ्यापछ्पाप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको जमात पनि बाक्लो छ ।

Show More

Related Articles

Back to top button