समाचारकोरोनाभाइरसस्वास्थ्य

तनहुँमा पनि ‘मास्क अभियान’ शुरु : ‘लापरबाहीले गर्दा संक्रमण फैलियो’


दमौली खबर संवाददाता
साउन २७, दमौली । कोरोना नियन्त्रणका लागि गएको ६ जेठमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश राजपत्रमा प्रकाशित ग¥यो । जतिबेलामा कोरोनाको दोस्रो भेरियन्ट आक्रामक रुपमा फैलँदै थियो । अध्यादेशमा भएका कारबाहीसम्बन्धी व्यवस्थाले लापरबाही गर्नेलाई ठाउँको ठाउँ जरिवाना तिर्नुपर्ने भयो । सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को प्रावधान नमान्नेलाई कडा कारबाही हुने भएको छ । कोरोना महामारी नियन्त्रण, निदान, उपचार लगायतका काममा बाधा पुग्ने काम कसैले गरेमा सरकारले १ वर्षसम्म कैद वा ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था अध्यादेशमार्फत व्यवस्था गरेको छ ।

यसैगरी यो अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगर्नेलाई ६ महिनासम्म कैद वा ३ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । यस अध्यादेशबमोजिम सरकारले दिएको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले १ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्छन् । कुनै संस्थाले उल्लंघन गरेमा ५ लाखसम्म जरिवाना हुन्छ । मास्क नलगाई सार्वजनिक स्थलमा आवतजावत गरेमा सुरक्षाकर्मीले पटकैपिच्छे १ सय रुपैयाँ, आवतजावत रोक लगाइएको स्थानमा हिँडडुल गरेमा पटकैपिच्छे २ सय रुपैयाँ जरिवाना हुन्छ ।

अनुमति विना वा सुरक्षाकर्मीलाई सूचना नदिई २ पांग्रे सवारी साधन चलाएमा २ हजार रुपैयाँ र अन्य सवारी साधन चलाएमा ५ हजार रुपैयाँ जरिवाना हुनेछ । बिरामी ओसारपसार गर्ने काममा भने जरिवाना हुनेछैन । अध्यादेश ल्याएपछि कार्यान्वयन नहुँदै कोरोना संक्रमितभन्दा निको हुने बढ्दै गयो । त्यसपछि गरिरहेको लकडाउन लुज लकडाउन स्मार्ट लकडाउनको नाममा खुकुलो बनाउँदै गयो । खुकुलो लकडाउनकै कारण कोरोनाका संक्रमित बढ्न थालेका छन् । बढ्दै गएको कोरोना नियन्त्रणका लागि तनहुँमा ‘मास्क अभियान’ शुरु गरिएको छ ।

सरकारले देशव्यापी रुपमा सञ्चालन गरेको ‘नेपाल मास्क अभियान’ अन्तर्गत स्वास्थ्य कार्यालय तनहुँले मङ्गलबारदेखि जिल्लाव्यापी रुपमा मास्क अभियान शुरुवात गरेको गरिएको हो । व्यास ३ स्थित अनसन चौतारीमा अभियानको शुरुवात गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले निषेधाज्ञा खुकुलो भएसँगै लापरबाहीको कारणले फेरी संक्रमण फैलिएको बताए । सर्वसाधारणले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना नगरेमा फेरि संक्रमण दर भयावह हुने उनले बताए ।

आवश्यक सावधानी नअपनाएर फेरि संक्रमण समुदायमा फैलिन सक्ने खतरा रहेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंखरबाबु अधिकारीले बताए । यस्तो अवस्थामा आवश्यक स्वास्थ्य सतर्कता र स्वास्थ्य मापदण्ड पालनामा सबै पक्ष गम्भीर भइदिए मात्रै विगतको जस्तो विडम्बना नआउने उनको भनाइ छ । अभियान अन्तर्गत सबैलाई कोरोना भाईरस सम्बन्धी सचेतना सँगै दमौली बजारमा मास्क वितरण गरिएको छ । तनहुँ प्रहरी, तनहुँ उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ संस्था मार्फत जिल्लामा मास्क वितरण अभियान थालिएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक दिनेशराज मैनाली, दमौली अस्पतालका मेसु डा. सुनिल पौडेल, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ लगायत सहभागी थिए । कार्यालयमा लापरवाहीका कारण कोरोना सङ्क्रमण बढ्दै गएकाले सबै सचेत हुनुपर्नेमा वक्ताहरुले जोड दिए ।

Show More

Related Articles

Back to top button