समाचारकोरोनाभाइरसस्वास्थ्य

‘खोप देउ, नभए किन्ने वातावरण मिलाउ’

दमौली खबर संवाददाता
तनहँुका स्थानिय तहहरुले कोरोनाविरुद्धको खोप खरिद गर्न स्वास्थ्य मन्त्रालयसंग अनुमति मागेका छन् । सरकारले नै कोभिडविरुद्धको खोप ल्याउन नसकिरहेका बेला पछिल्लो समय स्थानीय तहले खोप किन्नका लागि स्वास्थ्य मन्त्रालयसँग अनुमति मागिरहेका छन् । त्यसमध्येमा व्यास नगरपालिका र म्याग्दे गाँउपालिका पनि थपिएको छ ।
विश्वभरि महामरीको रुपमा फैलिएको कोरोना भाइरसबाट आक्रान्त आफ्ना नागरिकलाई बचाउन स्वास्थ्य मन्त्रालयमा पत्रचार गर्दै खोप किन्ने अनुमति मागेको म्याग्दे गाँउपालिकाकी अध्यक्ष मायादेवी रानाले बताईन् ।

पछिल्लो समयमा गाँउपालिकामा कोभिड संक्रमितको संख्या बढ्दै गएको र यसको रोकथामको लागि खोप नै भरपर्दो भएको हुनाले आफ्नो नागरिकलाई सुरक्षित राख्न आफ्नै स्रोतबाट खोप किन्ने निर्णय गरेको उनले बताईन् । त्यसको लागि गाँउपालिका अध्यक्ष राना र उपाध्यक्ष बालकृष्ण घिमिरेद्वारा हस्ताक्षरित पत्र मन्त्रालयमा पठाइएको छ । यता व्यास नगरपालिकाले खोप उपलब्ध गराउन नसके किन्ने वातावरण मिलाउ केन्द्र सरकारलाई माग गरेको छ । नागरिकको जीवन रक्षाका लागी विकास बजेट कटौती गरेर खोप किन्न चाहेको व्यासनगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

उनले भने, ‘केन्द्र सरकारको मुख ताकियो भने समयमा खोप लगाउन सकिदैन’, उनले अघि भने, ‘त्यसैले आफैँ खोप किनेर जनतालाई लगाउन नगरपालिकाले यो कदम चालेको छ, यस बारेमा संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग अनुमति माग गरिएको छ।’ स्थानीय नागरिकले कोरोनाविरुद्धको भ्याक्सिन अत्याधिक माग गरेकाले यथाशीघ्र उपलब्ध गराइदिन मन्त्रालयसँग अनुरोध गरिएको उनले बताए । नगरप्रमुख न्यौपानेले भने,‘खोप उपलब्ध गराउन नसके खोप किन्ने अनुमति दिए पुग्छ ।

हामी हाम्रो नगरवासीलाई खोप लगाई कोरोनाबाट सुरक्षित गराउन चाहान्छौं । ’ केन्द्र सरकारले आवश्यक खोप उपलब्ध नगराएपछि यतिबेला स्थानीय सरकारले संघीय सरकार मातहतको स्वास्थ्य मन्त्रालयसँग कोरोनाविरुद्धको खोप किन्न अनुमति माग्ने गरेका छन् । यस अगाडि स्याङजाको वालिङ नगरपालिकाले समेत खोप किन्न स्वास्थ्य मन्त्रालयसँग अनुमति मागिसकेको छ ।

Show More

Related Articles

Back to top button