Allफिचरविचार

भारत र चीनबीचको तरुल होइन, पिङ बन्नुपर्छ

सफ्ट पावरको अवधारणा  सर्वप्रथम  अमेरिकाका प्रसिद्ध राजनीतिक विशेषज्ञ जोसेफ न्येले प्रस्तुत गरेका थिए । विश्व समुदायलाई भाषा, संस्कृति, प्रकृति आदिले आकर्षित गर्न सकिन्छ, यही नै हो सफ्ट पावर ।​ हाम्रो सन्दर्भमा त भाषा, संस्कृति, प्रकृतिका अलावा मूर्तिकला, वास्तुकला, गौतम बुद्ध, सगरमाथा आदि पनि सफ्ट पावरका माध्यम बन्न सक्छन् ।

राष्ट्र–राष्ट्र बीचको राजनैतिक सम्बन्ध जसले अन्तर्राष्ट्रिय समुदायमा आफ्नो राष्ट्रिय हितका लागि दक्षतापूर्वक सञ्चालन गर्ने नीतिलाई नै कूटनीति भनिन्छ। आखिर शक्ति के हो त ? अरू कसैलाई प्रभाव पारेर आफूले भनेजस्तो र चाहिएको परिणाम  हाँसिल गर्ने कलालाई नै शक्ति  भनिन्छ ।

शक्तिको स्रोत भनेको बन्दुक, पैसा, सद्भावना र मित्र भाव नै हो। हाम्रो देशसँग न त पैसा छ, न लड्नका लागि हातहतियार नै । हामीसँग भएको सबैभन्दा  ठूलो शक्ति भनेको सद्भावना र मित्रभाव नै हो।

हाम्रो वैदिक सनातन संस्कृति पनि सद्भावना र मित्रभावमा आधारित छ। सांस्कृतिक कूटनीति सार्वजनिक कूटनीतिको एक अंश हो। हामीले यस्तो युद्ध लड्नुपर्छ जुन बन्दुक र गोलीले होइन, प्रेम र सद्भावले जित्न सकियोस् । हामीसँग न त वालेट पावर छ, न त  बुलेट पावर, हामीसँग भएको केवल चकलेट पावर हो ।

१९४७ मा भारत स्वतन्त्र भयो। भारत स्वतन्त्र  हुनुअगाडि नै सन् १८१६ मा नेपालको कूटनीतिक सम्बन्ध ब्रिटेनसँग थियो । ब्रिटेनपछि सन् १९४७ मा अमेरिका, सन् १९४७ मा नै भारत, सन् १९४९ मा फ्रान्स तथा सन्  १९५५ मा चाइनासँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना गरेको थियो।

भौगोलिक स्थिति, आर्थिक अवस्था जस्ता कारणले पनि ती देशसँग हाम्रो सफ्ट मित्रता थियो। तसर्थ नेपालको कूटनीतिक सम्बन्ध शुरूदेखि नै सफ्ट पावर (सद्भावना र मित्र भाव ) मा आधारित थियो भन्न सकिन्छ। 

सफ्ट पावरका  तीन आधार छन्,  ती हुन् संस्कृति, राजनीतिक मूल्य र विदेश नीति ।

सफ्ट पावर भन्नाले बलको प्रयोग नगरी देशको विदेश नीतिको उद्देश्य र प्राथमिकताहरू अघि बढाउन सक्ने राष्ट्रिय क्षमता हो भन्ने बुझिन्छ । द्विपक्षीय र बहुपक्षीय कूटनीतिमा फराकिलो कथानक आकार दिने क्षमता भएकाले यो आफ्नै नीतिमा वा हार्ड पावरको उपयोगको पूरकको रूपमा रहेको छ ।

परराष्ट्र मन्त्रालयले अन्य सरकारी संस्थाहरूसँग व्यापक द्विपक्षीय र बहुपक्षीय आर्थिक सहयोग कार्यक्रमहरू, विकास परियोजनाहरू, क्षमता अभिवृद्धि, विद्यार्थी आदानप्रदान र छात्रवृत्ति, पारस्परिक सम्बन्ध, प्रशिक्षण कार्यक्रम, अरू थुप्रै क्रियाकलाप र सांस्कृतिक गतिविधिहरूको आदानप्रदान तथा रचनात्मक प्रदर्शनलाई समेट्ने समन्वय गर्दछ ।

ग्लोबल इन्डेक्स ६ वटा उप-सूचकाङ्कबाट सिर्जना गरिएको छ जसले देशहरूलाई ६ वटा कोटीमा मूल्याङ्कन गर्दछ– संस्कृति, सरकार, शिक्षा, सहकार्य, डिजिटल प्रविधि र व्यापार। उदाहरणका लागि सांस्कृतिक सूचकाङ्कले विश्वव्यापी पहुँच र प्रत्येक देशको सांस्कृतिक प्रस्तावको आकर्षणको स्कोर गर्दछ, जबकि सरकारी सूचकाङ्कले यसको राजनीतिक संस्थाहरूको गुणस्तरको साथै स्वतन्त्रता, मानव अधिकार र लोकतन्त्रप्रति देशहरूको प्रतिबद्धतालाई पनि ध्यानमा राख्छ।

सांस्कृतिक कूटनीति विचार, सूचना, मान, प्रणाली, परम्परा, विश्वास र अन्य सांस्कृतिक पक्षको आपसी समझ र आपसी सम्मानको भावना आधारित छ । सांस्कृतिक कूटनीति भनेको शिक्षा, विज्ञान, खेलकुद र कलाको प्रभावले  सूक्ष्म स्तरमा  सांस्कृतिक आयामहरूमार्फत आफ्नो राष्ट्रिय हितका लागि लड्ने  प्रयास हो।

नेपालका लागि चिनियाँ राजदूत नेपाली गीतमा नृत्य गर्नु, भारतको प्रधानमन्त्रीले नेपालीमा भाषण गर्नु आदि सफ्ट पावरको प्रतीक हो।

नेपाल आफैँमा देवभूमि र पुण्य भूमि हो– षड्दर्शन (पूर्व मीमांसा, वेदान्त (उत्तर मीमांसा), सांख्य, वैशेषिक, न्याय, योग) मध्ये ४ वटा दर्शन मीमांसा, वेदान्त, सांख्य, न्याय दर्शनका प्रणेता क्रमशः महर्षि जैमिनी, व्यास, कपिल र गौतम नेपालकै ऋषिमुनिहरू थिए । अझ भनिन्छ, योग दर्शन लेख्ने महर्षि पतञ्जलि पनि नेपालकै हालको अर्घाखाँचीमा जन्मिएका थिए । 

महर्षि बाल्मिकी (नवलपरासी), महर्षि पाणिनी (अर्घाखाँची), महर्षि श्रृंगी (गुल्मी), महायोगी गोरखनाथ (गोरखा) का हुन् । महर्षि कपिल नेपालको कपिलवस्तुको वाणगंगा, महर्षि जैमिनीको जन्म भूमि र तपोभूमि जैमिनी घाट काली र ठेउलेखोलाको दोभान म्याग्दी हो । महर्षि वेद व्यास नेपालको तनहुँमा जन्मेका हुन् । नेपालको कोशी, गण्डकी र कर्णाली नदीमा ऋषि विश्वामित्र, वशिष्ठ र वामदेव तपस्या गर्थे ।

गौतम बुद्धको ज्ञान भूमि, पुण्य भूमि, तपोभूमि, शान्ति भूमि नेपाल नै हो । माण्डव्य ऋषिको तपोभूमि माडी, और्व ऋषिको तपो भूमि अर्गेली, अत्रि ऋषिका पुत्र दुर्वासाको तपोभूमि दुर्गाखोला, व्याकरणका ज्ञाता पाणिनिको क्षेत्र पणेना दह, कश्यपकै नामबाट काश्यपी पर्वत चिनिएको थियो । त्यही काश्यपी पर्वतले कालान्तरमा कास्की (जिल्ला) नाम पाएको थियो । हामीले यी सबै चीजलाई सफ्ट पावरको रूपमा प्रयोग गरेर संसार जित्न सकिन्छ।

चाइना र भारतसँग हाम्रो सम्बन्ध  पिङजस्तो  हुन पर्छ, हामी दुई देशबीचको तरुल होइनौं । हाम्रा लागि यी दुई ठूला देश  बलिया खम्बा  हुन् भने हाम्रो देश पिङ हो। यस्तो  पिङ जसको एउटा खम्बा भारत हो भने अर्को चाइना हो।  त्यसैले  दुई बलिया खम्बाको बीचमा बनेको पिङजस्तै हामी पनि आनन्दले मच्ची-मच्ची अगाडि बढ्नु पर्दछ ।

राजा जनककी छोरी सीताको अयोध्याका राजकुमार रामसँग विवाह हुँदा जसरी भारतसँग हाम्रो रोटीबेटीको सम्बन्ध छ, त्यस्तै अंशुवर्माकी छोरी भृकुटी (उनलाई हरित तारा भनेर पनि चिनिन्छ) को चिनियाँ शासक श्रङ चङ गम्पोसँग विवाह  भएको  हुँदा चाइनासँग पनि नेपालको मीठो सम्बन्ध  हुनुपर्छ । यही नै हो, हाम्रो सफ्ट पावर । यसलाई नै अपनाएर हामीले सबन्ध सुधार गर्दै अगाडि बढ्न सकिन्छ ।

दीपकराज जोशी
दीपकराज जोशी

लेखकबाट थप…

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button