गण्डकी प्रदेशAllखेलकुद

१३ वर्षमै आमा

लमजुङ । मात्र १३ वर्षको उमेरमै आमा बनेकी लमजुङकी एक किशोरीको यतिखेर चर्चा छ । अभाव र गरीबीको पीडाबीच छट्पटिएकी हसिना मियाँ तामाङले गत शुक्रबार नवजात शिशु छोरीको जन्म दिएकी थिइन् ।
झट्ट सुन्दा पत्यार नलाग्ने यो खबर सुन्दरबजार नगरपालिका–९, भोटेओढारमा सत्य भएको हो । झोलामा कापीकिताब बोकेर स्कुल पढ्ने उमेरकी यी बालिकाले सिर्जना गरेको सत्य अचम्मलाग्दो बनेको हो । मस्र्याङ्दी गाउँपालिका–८, भुस्मे गाउँमा घर बताउने ती बालिकाका श्रीमान् कालु भन्ने आइतबहादुर तामाङ हुन् । भोटेओढारमा हसिनाको माइती हो । उनी यतिबेला त्यही उनकी फुपूको घरमा बच्चा हुकाइहेकी छन् ।
उनी १३ वर्षको उमेरमै कसरी गर्भवती भइन् भन्नेमा समाज चकित छ । उनले कक्षा ४ मात्र पढेकी छिन् । उनका ६ दाजुभाइ छन् । उनीहरूबीचको एक्ली बहिनी र दिदी हुन् हसिना । बाबु अति सोझो भएको र घरमा खानेकुराको दुख हुन थालेपछि उनी घरबाट भागेर बालुवा बोक्ने र चाल्ने काम गर्न थालिन् । त्यही काम गर्दागर्दै कालुलाई मन पराउन थालिन् । अनि, ३ वर्षअघि १० वर्षकै उमेरमा विवाह गरिन् ।
उनी आफ्नो भोगाइ सुनाउँछिन्, ‘आमाले दोस्रो विहे गरेर गइन् । त्यसपछि मलाई पनि घरमा बस्न मन भएन र राजीखुसीले विहे गरें ।’ उनका श्रीमान् तामाङ पनि लमजुङका स्थायी बासिन्दा भए पनि आमाले दोस्रो विवाह गरी हिडेपछि उनी घर छाडेर ४ वर्ष अघि हिडेको र त्यसपछि घरमा नगएको बताउँछन् ।
हसिनाले तामाङसँग विवाह गरेपछि उनका फुपू सुकमाया मियाँलाई मन नपरेपछि फिर्ता ल्याउने प्रयास पटकपटक भएको थियो । उनले आफूहरूको आँखा छल्ने फेरि भाग्ने र उही केटासँग जाने गरेको उनकी फुपूले सुनाइन् । ‘हामीले भनेको टेरिन १० वर्षमै हिडी, ऐले १३ वर्ष लागेकी मात्र छे, छोरी पाई,’ उनले भनिन् । घरमा सुत्केरीले स्याहारसुहार पाउन सक्ने अवस्था नदेखेपछि आफ्नै घरमा ल्याएर राखेको फुपूले बताइन् ।
हसिनाले पेट बढ्न थालेपछि गत जेठमा जचाँउन जाँदा गर्भ भएको रहस्य खुलेको थियो । त्यसपछि अस्पताल नगएकी उनले नानी जन्माउने बेलामा पनि ३ दिनसम्म व्यथा लागेको र तेस्रो दिनमा लोग्ने आएर अस्पताल लगेको उनले बताइन् ।
अस्पतालमा हसिनाले आफ्नो उमेर १८ वर्ष लेखाएको अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार इमर्जेन्सीमा त २० वर्ष लेखाइएको रहेछ । पछि भर्ना गर्ने बेलामा १८ वर्ष लेखाएको देखिन्छ । उनले भने, ‘यस्तो केस अस्पतालमा आइरहने भएकोले खासै ध्यान गएन । शिशुको तौल पनि २ किलो ५० ग्राम छ । त्यसैले हामीले सामान्य रुपमा लियौं ।’
साँझबिहान के खाने भन्ने ठेगान नभएकी उनले ‘छोरी कसैले मागेर पाल्छु भनेमा दिन्छेउ ?’ भन्ने जिज्ञासामा भनिन्, ‘दिन्नँ । माया लाग्छ नि ।’
हसिनाका लोग्ने आइतबहादुर अत्यन्त सरल रहेछन् । मनको कुरा पनि व्यक्त गर्न नसक्ने स्वभाव छ । यतिबेला कोरोना कारण निरन्तर चलेको निषेधाज्ञाका कारणले कामविहीन छन् । बाल्य उमेरमा सुत्केरी भएकी श्रीमतीलाई के कसरी उम्काउने कस्तो खान दिने भन्ने पत्तो छैन । बालिकाले बिहा गरेर गएको घरमा पनि सौतेनी सासू रहेको आफूलाई घरमा नलगिएको हसिनाले बताएकी छिन् ।
विश्वका अधिकांश देशमा १८ वर्षसम्म उमेरकालाई बालबालिकाको श्रेणीमा राख्ने गरिएको छ । तर नेपालमा भने १८ वर्षको उमेरमा मतदान अधिकारसमेत दिइएको छ । त्यसैले १६ वर्ष उमेरभन्दा कमका नागरिकलाई मात्र बालबालिकाको सूचीमा राख्ने गरिएको छ । विवाहका लागि भने २० वर्षभन्दा कम उमेरमा गर्न नपाउने कानुनी व्यवस्था छ ।

Show More

Related Articles

Back to top button