दमौली खबर संवाददाता
दमौली, भदौ २०
तनहुँको व्यास नगरपालिका–५ नेपालटार र यस आसपासका बासिन्दाहरुमा योग प्रति रुची बढेको छ । योग शारिरिक तथा मानसिक स्वास्थ्य लाभ हुन थालेपछि बिहान साढे ४ बजे देखि नै स्थानीय बासिन्दा योग गर्न जम्मा हुन थालेका छन् ।
सो ठाउँ स्थित जनजुक्त शाही माध्यमिक विद्यालयको प्राङगणमा जम्मा हुने गरेका छन् । दमौलीबाट पतञ्जलीका योग गुरु पुग्ने वित्तिकै उनीहरुमा उत्साह सुरु हुने गर्दछ । गाउँमै योग सिक्न पाउँदा गाउँलेहरु त्यसरी उत्साहित हुन थालेका हुन् । खानपानमा राम्रो ध्यान दिन नसक्दा कुनै न कुनै रोगबाट ग्रसित ति बासिन्दाहरु निःशुल्क रुपमा योगा सिक्न पाउँदा रोग निको हुनेमा ढुक्क समेत हुने गरेका छन । १० दिने पतञ्जली योग विज्ञान शिविर निःशुल्क रुपमा संचालन भएपछि सागे रानीटारी, नेपालटार, निबुवाखोला, बाह्रबिसे, पण्डित कुना, म्याग्दे ७ पयेरका बासिन्दाहरु खुशी भएका छन । योग शिक्षकहरु अर्जुन श्रेष्ठ, कुमार मल्ल, लगायतकाले हरेक दिन २ घण्टा योगा सिकाउन थालेपछि गाउँलेहरुमा जोश, जागर र कामप्रतिको लगाव समेत बढ्दै गएको छ । जनजुक्त शाही मावि, नेपालटार र रानीटारी टोल विकास संस्थाले पतञ्जली योग समितिको प्राविधिक सहयोगमा योग सम्बन्धी ज्ञान, सिप र तालिम प्रदान गर्न थालेपछि त्यस क्षेत्रका बासिन्दाहरुमा उत्साह छाएको हो । सोही विद्यालयका अध्यक्ष अच्युतराज काफ्लेले योग शिविरको शुभारम्भ गर्दै वर्तमान अवस्थामा त्यसको महत्व बताउनुभयो । योग प्रशिक्षक श्रेष्ठ र मल्लले शुरुमा द्विप प्रज्वलन गरी ३ पटक ओमकारको ध्यान गरी ५ वटा वैदिक महामन्त्र उच्चारण गरेपछि योगा सिकाइने गरिएको हो । अष्टाङ्ग योग अन्तर्गत ५९ र ७९ का दुई प्याकेजका योगा सिकाइने गरिएको छ । युवा, बालबालिका, बृद्धबृद्धा, रोगीका लागि फरक फरक ढंगबाट योगा सिकाइने गरिएको प्रशिक्षक अर्जुन श्रेष्ठले बताउनुभयो ।
खानपानका साथै समाज सुधार, सभ्य समाज निर्माणका लागि योग सम्बन्धी ज्ञान दिने गरिएको हो श्रेष्ठले भने । हरेक नागरिकको बोली, व्यवहार, आचरण र संस्कारमा परिवर्तन ल्याउन योगा शिक्षाको निकै महत्व रहेको अर्का योग शिक्षक कुमार मल्लले बताउनुभयो । जनजुक्त शाही माविका सहायक प्रधानाध्यापक खेम रेग्मीले नेपालटारमा संचालित योग शिविर प्रति सर्वसाधारणहरुको आकर्षण बढेको बताए । गाउँमै योगा सिक्न पाउदा उनीहरु निकै उत्साहित बताउनुभयो । योग शिविरमा दैनिक रुपमा २ सय भन्दा बढी गाउँलेहरु उपस्थित हुने गरेका छन । व्यास ५ को बरबोटेमा समेत योग शिविर चलाइने तयारी भइरहेको प्रशिक्षक श्रेष्ठले जानकारी दिनुभयो । पतञ्जली योग जिल्ला समितिले जिल्लाका सहरी मात्रै नभई ग्रामिण क्षेत्रहरुमा समेत विस्तार गरिरहेको छ ।




