दमौली खबर संवाददाता
तनहुँ, असोज २ । तनहुँमा थप ८८ जना डेंगुका बिरामी भेटिएका छन् । जिल्लामा परीक्षण गर्दा उक्त सङ्ख्यामा संक्रमण भएको पाईएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो ।
सबैभन्दा धेरै शुक्लागण्डकी नगरपालिका स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा ७८, व्यास नगरपालिकामा पर्ने दमौली स्थित दमौली अस्पतालमा तीन र बन्दीपुर गाउँपालिका बन्दीपुर स्थित बन्दीपुर अस्पतालमा सात गरी ८८ जनामा सङ्क्रमण पुष्टी भएको उहाँले जानकारी दिनुभयो । सफा पानीमा हुने लामखुट्टेको टोकाइले डेंगुको सङक्रमण फैलिने गरेको छ । लामखुट्टेको टोकाइबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरि पानी जम्न नदिइ सफा राख्न स्वास्थ्य कार्यालयले सबैसँग आग्रह गरेको छ । साथै डेंगुसंग मिल्दा लक्षण देखिने बित्तिकै चेक जाँच गराउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । बिगतका बर्षहरुको तुलनामा यस बर्ष देशै भरी नै तिब्र रुपमा सङ्क्रमण भई रहेको र तनहुँमा सङक्रमितको सङख्या धेरै देखिएकोले अवस्था जोखिमपूर्ण भएकोले सर्तकता अपनाउन आग्रह गरिएको स्वास्थ्य प्रमुख अधिकारीले बताउनुभयो । दमौली अस्पतालका निमित्ति प्रमुख डा. राजु थापा डेंगुको सङ्क्रमण बढ्दै गएकोले लामखुट्टेको टोकाईबाट बच्न झुलको प्रयोग गर्न र घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्न र पानी जम्न नदिने हिडडुल गर्दा पनि लामो बाउला भएको कपडा लगाउनु पर्ने बताउनुहुन्छ । लामखुट्टेको बासस्थान नै नष्ट पार्नु डेंगुको प्रमुख रोकथाम भएको डा. थापाको भनाई छ । डा. थापाका अनुसार डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने सरुवा रोग हो । एडिस लामखुट्टेले माीनसलाई दिउँसो मात्र टोक्ने गर्दछ । डेंगु रोग मानिसबाट मानिसमा सिधैं सर्दैन । सो प्रजातिको लामखुट्टेले सफा पानी जमेको ठाउँमा साना साना स्थानहरुमा फुल पार्दछ । खासगरी वर्षाको पानी जम्ने स्थान, पानी जम्ने टिनका डब्बा, टायर, ड्रमहरु, फुलदानी र गमला लगायतका स्थानमा यसले फुल पार्दछ । वर्षातको आगमनसँगै जताततै पानी जम्न थालेपछि सो रोगको संक्रमण फैलिने गर्दछ । डेंगु ज्वरो एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने रोग हो । यो जातको लामखुट्टेले दिनमा मात्र टोक्ने यो रोगको खोप तथा खास उपचार नभएको उहाँले बताउनुभयो ।
‘खोजी र नष्ट अभियान’ सञ्चालन
तनहुँमा डेंगुरोग नियन्त्रण र रोकथामको लागि ‘खोजी र नष्ट अभियान’ सञ्चालन गरेको छ । जिल्ला स्वास्थ्य कार्यालयले अभियान सञ्चालन गरेको हो ।
अभियान जिल्ला स्थित सबै सरकारी कार्यालयहरु,सस्थानहरु, स्थानीय तहका कार्यालयहरु तथा गैर सरकारी सस्थाको सहकार्यमा कार्यालयले शुक्रबारबाट सुरु गरिएको हो । तनहुँमा डेंगुरोगको प्रकोप फैलिएको र विरामीको सङ्ख्या दिनप्रतिदिन बढीरहेकोले अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । रोगको नियन्त्रण, न्यूनिकरण र रोकथामको लागि लामखुट्टेले फूलपार्ने ठाउँहरु खोजौं र नष्टगरौं भन्ने नारा सहित अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । प्रत्येक शनिबार १० बजे बजे समय छुट्टाई अभियानमा भाग लिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ । घर भित्र र बाहिर यस अभियान कार्यान्वयनको लागि स्थानीय जनप्रतिनिधीको नेतृत्वमा अभियान जारी राखिने कार्यालयले जनाएको छ । सरोकारवालाका लागि अभिमुखीकरण कार्यक्रम समेत कार्यालयले गरिरहेको छ ।
यसै क्रममा शुक्रबार तनहुँका सञ्चारकर्मीहरुलाई अभिमूखीकरण गरिएको छ । यसैगरी स्वास्थ्यकर्मीहरु, महिला सामुदायिक स्वास्थ्य स्वएम् सेविका, शिक्षक, सङ्घसस्थाहरु तथा सबै सरोकारवालाई निकायहरुलाई स्थानीय तह मार्फत परिचालन गरी आ–आफ्नो वडाका हरेका घरुधरीमा अभियान सञ्चालन भईरहेको स्वास्थ्य कार्यालयका प्रमुख अधिकारीले जानकारी दिनुभयो । ‘सबै जागौं, सबै लागौं वरीपरी जमेका पानी हटाई डेंगु भगाऔं’ भन्ने मुल नारा नाराका साथ अभियान गरिएको छ । डेंगुको ज्वरो गराउने वयस्क लामखुट्टे, लार्भा र अण्डालाई नष्ट गर्ने अभियान सफल पार्न खोज र नष्ट गर भन्ने अभियानलाई निरन्तरता दिईने स्वास्थ्य प्रमुख अधिकारी बताउनुहुन्छ । एडिस एजिप्टाइ जातको सङक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने संक्रामक सरुवा रोग खोज्ने र नष्ट गर्ने कामसहित डेंगु नियन्त्रणको योजना बनाउन वडास्तरमा अभिमुखीकरणसहित टोलटोलमा जनचेतनामूलक कार्यक्रमसमेत सुरू गरिएको कार्यालयले जनाएको छ । अभियान जिल्लाका पालिकाले शुरु गरिसकेका छन् ।
लामखुट्टेको बासस्थान पहिचान र नष्ट गर्ने रणनीति बनाएर टोलटोलमा अभियान सञ्चालन गरिएको व्यास नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । ा साथै डेंगु नियन्त्रणका लागि रणनीति तयार पारिएको उनकोे भनाइ छ । टोलटोलमा अभियानसँगै लामखुट्टेका बासस्थान हुने पानी जम्ने टायर, खाल्डाखुल्डी, झाडी पहिचान गरेर हटाउन थालिएको सोतीले बताउनुभयो । बजार क्षेत्रमा टोललाई सक्रिय बनाएर डेंगुको जोखिमस्थलको पहिचान गरी नष्ट गरिने र ग्रामीण क्षेत्रमा समेत सचेतनामूलक कार्यक्रमलाई प्राथमिकता दिइने उहाँले बताउनुभयो । डेंगुबाट जोगिन वनजङ्गलमा घाँस दाउरामा ल्याउन जाने, पशुचौपाया राख्ने गोठ आसपासका क्षेत्र, घरभित्र र वरपरको वातावरण सफा राख्ने, झाडीमा जाँदा शरीर ढाक्ने कपडा लगाउनेलगायतका सतर्कता आवश्यक रहेको चिकित्सकको भनाइ छ
डेंगु नियन्त्रणका लागि जिल्लामा विभिन्न संघ संस्थाको अगुवाईमा डेंगु सचेतना तथा खाली भाडामा पानी जम्न नदिने गरी घरदैलो कार्यक्रममा भई रहेको स्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिनुभयो । लामखुट्टेको वृद्धि र संक्रमण गराउने उपयुक्त मौसम भएकाले पोखरामा डेंगु सङक्रमणको उच्च जोखिम अझै रहने बताउँदै उहाँले सावधानी अपनाउन सबैलाई आग्रह समेत गर्नुभयो । रोगबाट बच्न एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट बच्नु पर्ने स्वास्थ्यकर्मीहरु बताउँछन् । डेंगु रोग नियन्त्रणको प्रमुख उपाय लामखुट्टेको लार्भा र प्यूपा बस्ने बासस्थान नष्ट गर्नु हो ।
डेंगु लागेपछि देखिने लक्षणमा उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने, आँखाको गेडी वरपर दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, छालामा रगत जमेको धब्वाहरु देखा पर्ने, नाक, गिँजा र शरीरका अन्य अंगबाट रगत बग्न लगायतका चिन्ह र लक्षणहरु देखापर्ने चिकित्सहरु बताउँछन् । लामखुट्टेको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय हो । त्यसका लागि दिउँसोको समयमा अनावश्यक रुपमा नाङ्गो जीउ बाहिर ननिस्कने, जमेको पानीमा यो जातको लामखुट्टले फुल पार्ने भएकाले आफू बस्ने वरिपरी फालिएका खाली बोत्तल, अलकत्रा तथा मट्टीतेलका खाली ड्रमहरु, पुराना टायर लगायतमा पानी जम्न नदिने, पानीट्यांकीमा लामखुट्टे बस्न नदिने, गमलामा पानी जम्न नदिने, भाँडामा पानी जम्न नदिई घोप्ट्याएर राख्ने लगायतको सहजकता अपाउनु पर्ने चिकित्सकको राय छ ।



