हेडलाईनसमाचारAll

वैदेशिक रोजगारीमा समस्या परेकाले दुई करोड ३० लाख बढी क्षतिपूर्ति पाए

दमौली खबर संवाददाता

दमौली, चैत्र २४

तनहुँमा वैदेशिक रोजगारीमा समस्यामा परेका एक सय ९२ जनाले क्षतिपूर्तिस्वरुप दुई करोड ३१ लाखभन्दा बढी राहत प्राप्त गरेका छन् । सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्र तनहुँको पहलमा चालु आर्थिक वर्षमा सो रकम प्राप्त गरेका हुन् ।

वैदेशिक रोजगारीका क्रममा ठगी, मृत्यु, उद्दार तथा जालसाजीमा परेका उनीहरुले सामी कार्यक्रमको समन्वयमा उक्त रकम प्राप्त गरेको कार्यक्रम संयोजक लुना राना मगरले जानकारी दिनुभयो । रानाका अनुसार व्यास नगरपालिकाका ६७ जनाले ६१ लाख ९१ हजार, भानु नगरपालिकाका १६ जनाले एक लाख २० हजार, शुक्लागण्डकी नगरपालिकाका १५ जनाले ११ लाख, म्याग्दे गाउँपालिकाका २२ जनाले ४५ लाख ५० हजार, भिमाद नगरपालिकाका २५ जनाले ६४ लाख ७९ हजार, बन्दीपुर गाउँपालकाका ११ जनाले दुई लाख, देवघाट गाउँपालिकाका ११ जनाले २१ लाख, आँबुखैरेनी गाउँपालिकाका चार जनाले ५० हजार, ऋषिङ गाउँपालिकाका १४ जनाले दुई लाख ५० हजार क्षतिपूर्ति पाएका  छन् ।

तनहुँ बाहेक अन्य ठाउँका सात जनाले २१ लाख क्षतिपूर्ति रकम पाएको संयोजक रानाले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालयमा रहेको आप्रवासी स्रोत केन्द्रमा एक सय १८ ठगीका, १४ मृत्यु, छ जेल, १२ करार उल्लङ्घन, १४ उद्दार र ६३ अन्य उजुरी परेका थिए । रानाले भन्नुभयो, “आप्रवासन केन्द्रमा मुद्दा दर्ता भएपछि प्रशासन कार्यालय, प्रहरी कार्यालय, स्थानीय तहलगायतको सहकार्यमा पीडित परिवारलाई क्षतिपूर्ति रकम प्रदान गर्न सकिएको हो ।” सामी कार्यक्रम सञ्चालन भएपछि वैदेशिक रोजगारमा जाने र रोजगारमा ठगिएका, मृत्यु भएकाले राहत रकम पाउँदा पीडित परिवारलाई सहज हुने गरेको उहाँको भनाइ छ । कार्यक्रममार्फत हालसम्म छ हजार छ सय ९१ जनालाई परामर्श प्रदान गरिएको   छ ।

Show More

Related Articles

Back to top button