दमौली खबर संवाददाता
तनहुँ, फागुन १६ गते
बाल यौन दुरुचार गरेको अभियोगमा पुर्पक्षका लागि तनहुँ कारागरामा एक वर्ष अघि देखि थुनामा रहेका नायक पूर्णविक्रम शाह(पल) सोमबार रिहा हुनु भएको छ । यौन दुरुपयोगको आरोपमा नवलपुर जिल्ला अदालतबाट दोषी ठहर भएका कलाकार शाहलाई उच्च अदालत पोखराले आईतबार सफाई दिएपछि नायक शाह थुनामुक्त हुनुभयो । कायमुकायम मूख्य न्यायधीश डिल्लीराज आचार्य र न्यायधीस श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले अभियोग दाबी नपुगेको भन्दै सफाई दिएपछि नायक शाह थुनामुक्त हुनु भएको हो ।
उच्च अदालत पोखराले नवलपुर अदालतको अभियोग दाबीबाट सफाई पाउने फैसला भएकोले थुनामुक्त गर्नु भन्ने पत्र पठाएकोले सोमबार थुनामुक्त गरिएको तनहुँ कारागारका प्रमुख नारायणप्रसाद अधिकारीले बताउनुभयो । शाहको बैनी रोशनी शाहलाई जिम्मा लगाएर(बुझाएर) थुनामुक्त गराईएको अधिकारीले जानकारी दिनुभयो । उच्च अदालतले बाल यौन दुरुपयोग ठहर गर्नुपर्ने आधार मिलेन भनेर सफाई दिएको शाहका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिनुभयो ।
नवलपुर जिल्ला अदालतले भदौ २१ शाहलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुव्र्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय र पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरे पछि नायक शाहले उच्च अदालत पोखरामा दिएको रिट निवेदन दिनु भएको थियो । सो रिट निवेदन माथि कामु मुख्य न्यायाधीश आचार्य र न्यायधिस पुडासैनीका बेञ्चमा बहस पैरवी भई आईतबार सफाई दिएको थियो ।
गत फागुन ११ गते बालिकाका बुबाले आफ्नी बालिका छोरीमाथि शाहले पटक पटक जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिनु भएको थियो । शाह फागुन १५ गते उक्त प्रहरी कार्यालयमा आफै सम्पर्कमा आउनु भएको थियो । पहिले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिए पनि पछि पीडित भनिएकी बालिका र उहाँका बुबाले समेत दुवै अदालतमा बलत्कार हैन भनि बयान फेर्नु भएको थियो ।
जिल्ला अदालत तनहुँले अभिनेता पल शाहलाइ माघ ३ गते सफाइ दिएको थियो । जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको थियो । नायक शाह थुनामुक्त हुने खबर पाएसँगै सोमबार विहान देखि राजधानी लगायत विभिन्न स्थानबाट कलाकारहरु, उहाँका शुभचिन्तकहरु भेट्नको लागि ठुलो भिड लागेको थियो । थुनामुक्त भएपछि खुसी हुँदै नायक शाहले कलाकारितालाई निरन्तरता दिने बताउनुभयो ।




