दमौली खबर संवाददाता
दमौली, असोज ५ गते
नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले नेपाली कांग्रेस गलत बाटो हिडेकोले आगामी २०८४ चुनावमा अस्तित्व जोगाउन कठिन हुने बताउनु भएको छ । सो कुरा नेता जोशीले बिहीबार तनहुँको दमौलीमा विपी विचार समाज तनहुँले आयोजना गरेको विशेष भेलालाई सम्बोधन बताउनु भएको हो ।
कांग्रेसले विपीको आर्दश, सिद्धान्त र विचार छोडेकाले कमजोर भएको उहाँको भनाई थियो । जुन दिन सिद्धान्तलाई छोडेर सत्तालाई प्राथमिकता दिन्छ कांग्रेस निरर्थक हुन्छ भनेर विपीले भनेको कुरा नेता जोशीले स्मरण गर्दै कांग्रेसले सिद्धान्त छोडेकाले अतित्व समाप्त हुँदै गएको बताउनुभयो । विपीले आफ्नो बारेमा भ्रम सिर्जना गरिन्छ भन्नुभएको कुरा हाल देखिएको उहाँले बताउनुभयो । विपीको बाटोमा देश नहिडेकोले नेपाल कमजोर भएको जोशीको भनाई थियो । देश यस्तै अवस्था रहे सबै विदेश पलायन भएर नेपाली सेना, नेपाल प्रहरी र शिक्षकमा भर्ना हुने मान्छे नपाईने अवस्था आउने बताउनुभयो । योग्य र शिक्षित जनशक्ति सबै विदेश जाने भएपछि देशमा आवश्यक पर्ने जनशक्ति नपाईले जोशीले भविष्यवाणी गर्नुभयो । नेपाली जनता नै रहेनन् भने नेपाल रहन्छकि रहदैन ? जोशीको प्रतिप्रश्न थियो । दशैं पछि काठमाडौंबाट मात्रै दुई लाख मानिस विस्थापित हुँदैछन्, काठमाडौंका व्यापारिक केन्द्र न्यूरोडबाटै थुप्रै व्यापारीहरुले व्यवशाय छाड्ने अवस्था आएको जोशीले बताउनुभयो । हामीले ल्याएको गणन्त्रणको उपलब्धी यही हो त ? जोशीले भन्नुभयो । आन्दोलन ग¥यौं गणतन्त्र ल्याऔं, उपलब्धी के भो ? जनताले खान नपाउने अवस्था आईसकेको बताउँदै भोकभोकै अवस्था आएमा लुटपाट हुने कुरा बताउनुभयो । साथै उहाँले पूर्वमन्त्री माथि नै खुकुरी प्रहार भएको र यस्तो अस्थिर अवस्था आएको उल्लेख गर्दै गणतन्त्रले हामीलाई त्यही दिएको हो त ? देशमा २०६२÷०६३ को आन्दोलनबाट उपलब्धी के भयो त ? भनेर प्रश्न गर्नुभयो ।
समाजका कार्यबाहक अध्यक्ष क्याप्टेन रेशम गुरुङको अध्यक्षतामा भएको कार्यक्रमा समाजका केन्द्रीय सदस्य सुकुुमलाल गुरुङ, गण्डकी प्रदेशका सचिव परशुराम गिरी, नेपाली कांग्रेस शुक्लागण्डकी सभापति गोपीबहादुर गुरुङ, समाजका नरेन्द्र थापा, सोलबहादुर चितौरे, रामदेव पन्थ, ऋषिराम पोख्रेल, सल्लाहकार गोपालप्रसाद भण्डारी लगायतले नेपाली कांग्रेस पाटी नसचिए आगामी निर्वाचनमा गंभिर परिणाम व्यहोर्नु पर्ने बताउनुभयो ।


