समाचार

सक्षम बन्दै महिलाहरु, नवज्योति आमा समुहमा पौडेल

सामुहिक रुपमा बोल्दा समेत लजाउने शुक्लागण्डकी नगरपालिका वडा नं २ गाछेपानीका महिलाहरु उत्प्रेरणा तालिम पछि मञ्चमा उभिएर भाषण गर्न सक्ने भएका छन् । माँ दुर्गा नामक अत्ध्यामिक संस्थाले उक्त ठाँउका ५० जना भन्दा बढी महिलालाई उत्प्रेरणा तालिम दिएपछि धेरै महिलाहरुले अगाडी उभिएर भाषण गर्न सक्ने भएका हुन् ।

शुक्लागण्डकी २ गाछेपानीका महिलाहरूको सशक्तीकरणका लागि मुक्तिनाथ शुक्लागण्डकी च्यवनधाममा उत्प्रेरणा तालिम प्रदान गरेपछि उनिहरुको बोलीबचनमा नै परिर्वतन भएको छ । नवज्योति आमा समुहको आयोजनामा माँ दुर्गा नामक आध्यात्मिक संस्थाले गाछेपानीका ५० जना महिलाहरूलाई निःशुल्क तालिम प्रदान गरिएको थियो । गाछेपानीकी ३५ वर्षीया सीता रिमालले बोल्ने कलाको सिपले आफुलाई जीवनमा नयाँ अनुभुती भएको बताईन् ।

‘के के न होला जस्तो हुन्थ्यो, अनुहार रातो पिरो भएर पसिना छुट्थ्यो, तालिमले सबै कुरा विर्सायो’–उनले भनिन् । गृहणी देखि व्यवसाय गर्ने महिलाहरुलाई लक्षति गरि उत्प्रेरणा तालिमलाई अगाडी बढाएको माँ दुर्गा संस्थाका संस्थापक एंव् महिला उद्यमी समिति तनहुँका अध्यक्ष कल्पना गौलीले बताईन् । उनले सशक्त हुनका लागि महिलाहरूले स्वयम् आफैसंग लडाइ लड्नुपर्ने हुनाले सबै महिलालाई उत्प्रेरणा प्रदान गर्ने लक्ष्य राखेको बताईन् ।

उनले भनिन्,‘ मनैदेखिको चाहना हुने हो भने जुन सुकै कठिन कामका लागि पनि समय र सामर्थ्य को व्यवस्थापन गर्न सकिने छ । घरमा महिला सक्षम भए घरका सबै सदस्य सक्षम हुन्छन् । ’ संस्थापक अध्यक्ष गौली नेपाल घरेलु तथा साना उद्योग महासंघ, तनहुँ महिला उद्यमी समितिका अध्यक्ष समेत हुन् । उनले स्थानिय तहको समन्वयमा सबै महिलाहरुलाई निशुल्क उत्प्ररेणा तालिम प्रदान गर्नेे बताईन् ।

नवज्योति आमा समुहको अध्यक्षमा शारदा रिमाल पौडेल चयन भएकी छन् । आमा समुहको बुधबार सम्पन्न १२ औं साधारणसभा तथा पाचौं अधिवेशनले पौडेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा जमुना वाग्ले, सचिवमा अस्मिता खनाल, सह सचिवमा सविता रिमाल, कोषाध्यक्षमा शर्मिला श्रेष्ठ र सदस्यहरूमा मिना वाग्ले, अप्सरा भण्डारी, नानुमायाँ खत्री, सिता अधिकारी, सुनिता ढुङ्गाना र सरस्वती लम्साल रहेका छन् ।

अधिवेशनको उद्घाटन गर्दै नेपाल घरेलु तथा साना उद्योग महासंघ, तनहुँ महिला उद्यमी समितिका अध्यक्ष गौलीले मातृ शक्तिको उपयोगबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सकिने बताईन् । गौलीले सदैव कर्ममा व्यस्त रहने महिलाहरूलाई आफ्नो उद्यममा एकाग्र हुन आह्वान गर्दै श्रमलाई पुजा गर्ने संस्कृति बसाउनुपर्ने धारणा व्यक्त गरिन् ।

एकता र सहकार्यको प्रतिकका रूपमा आमा समुहहरूले सामाजिक विकासमा उल्लेख्य भुमिका खेलेको गौलीको भनाई छ। साधारणसभा तथा अधिवेशनको अवसरमा सहयोगी जेष्ठ नागरिक खगिसरा थापालाई न्यायो पछ्यौराद्वारा सम्मान गरिएको थियोे । कार्यक्रममा शुक्लागण्डकी नगर कार्यपालिका सदस्य दानु अधिकारी सापकोटा, गाछेपानी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नवराज तिवारी, आमा समुहका पुर्व अध्यक्षहरू देवी पौडेल र ईन्दिरा पौडेल लगायतले समुहको प्रगतिको शुभकामना दिएका थिए । साधारणसभाका अवसरमा समुहका निवर्तमान अध्यक्ष बिन्देश्वरी लम्सालले कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष गोमा भुजेलले आर्थिक प्रतिवेदन र उपाध्यक्ष सिता रिमालले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिईन् ।

Show More

Related Articles

Back to top button