समाचारम्याग्दे

अनियमित बिजुलीले हैरान बने म्याग्देबासी

दमौली खबर संवाददाता
साउन २७, दमौली । म्याग्दे गाँउपालिका वडा नं २ का असिम शाही दमौलीको सत्यवती माविको कक्षा ६ मा अध्यनरत छन् रु। विद्यालयले चलाउने अनलाइन कक्षामा हरेक दिन बस्नुपर्छ तर उनलाई अनलाइन पढ्न विद्युतले साथ दिदैन । झ्याप्प–झ्याप्प जाने विद्युतले हैरानी थप्ने गर्छ । विद्युत गयो भने नेट पनि जान्छरु। अनि अनलाइन कक्षा पनि प्रभावित हुन्छ । हरेक दिन जसो झ्याप्प–झ्याप्प जाने विद्युतले विद्यार्थीको पढाइमा समेत असर गरेको छ । ‘विद्युत गयो भने त पढाइ पनि हुँदैन । महत्वपूर्ण सिकाइ भइरहेको बेलामा लाइनले डिस्टर्व गर्छ’ उनले भने, ‘सधैं एकैनासको नहुने भयो विद्युत ।’ विश्व श्रेष्ठको चाउमिन उद्योग छ ।

उद्योगबाट चाउमिन तयार पार्ने बेलामा विद्युत गयो भने मैदा काम लाग्दैन । जसले गर्दा नोक्सानी हुने गर्छ । ‘उद्योग चलिरहेको समयमा लाइन गयो भने समस्या थपिन्छ । मुछेको पीठो काम लाग्दैन । चाउमिन बनाउन सकिदैन’ उनले भने ‘विद्युत अनियमित हुँदा समस्या थपिन्छ ।’ समुन्द्र गोतामेले फोटो स्टुडियो र प्रिन्ट पसल चलाएका छन् । लाइन जादा ग्राहकलाई समेत फर्काउनुपर्ने बाध्यता छ । ‘फोटोकपी गर्दिनुस् भन्नुहुन्छ । लाइन हुँदैन । ग्राहक फर्काउनुपर्ने बाध्यता छ’ उनले भने, ‘लोडसेडिङ छैन भन्छन् तर पटक–पटक किन विद्युत जान्छ ?’ ठूला उद्योगले विद्युत गयो भने पनि जेनेरेटरको व्यवस्थापन गरेका हुन्छन् तर साना तथा मझौला उद्योगमा यी सबै व्यवस्थापन गर्न सकिदैन ।

झ्याप्प–झ्याप्प जाने विद्युतले उद्योगी व्यवसायीलाई मर्का पार्ने गरेको तनहँु उद्योग वाणिज्य संघ थर्पु बजार एकाईका सभापति भीमलाल श्रेष्ठले बताए । ‘सबै व्यवसायलाई हानी पु¥याउँछ । पोल्ट्री अन्तर्गत ह्याचरी उद्योग चलाउन लाइन नभई हुन्न । लाइन जाँदा बित्तिकै जेनेरेटर चलाउनुपर्ने बाध्यता हुन्छ’ उनले भने, ‘लोडसेडिङ त होइन होला तर सूचनाबिनै लाइन काट्ने गरिन्छ । जसले गर्दा यसको क्षति सबैले व्यहोर्नुपर्ने अवस्था छ ।’ एक साता देखि म्याग्दे गाँउपालिका क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ । सोमबार राति थर्पु क्षेत्रमा गएको विद्युत मंगलबार बिहान मात्रै आयो । यसअघि कम भोल्टेजमा लाईन आउने गरेको स्थानिय मनिशा गुरुङले बताईन् ।

यता नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्रले मर्मत पश्चात राजमार्ग क्षेत्रमा बिजुली नियमित भएको र भित्र क्षेत्रमा मर्मत कार्य जारी रहेको जनाएको छ । केन्द्रका प्रमुख सुबोत अधिकारीका अनुसार समस्या आएको ठाउँ नै पत्ता लाग्न नसक्दा मर्मतमा कठिनाइ आएको बताए । उनले भने,‘पोल पोलमा चढेर जाँच गर्दा समय लागेको हो । राजमार्ग क्षेत्रमा बिजुली नियमित भईसकेको छ । भित्र क्षेत्रमा पनि चाँडै नै सुचारु हुन्छ ।’

Show More

Related Articles

Back to top button