दमौली खबर संवाददाता
यही भदौ २७ गते देखि व्यास नगरपालिका–१ भादगाउँ, सेतीबुल्दी घाट नजिक ‘‘दमौली भोटी बजार भादगाउँ तनहुँ सांस्कृतिक महोत्सव–२०८०’’ हुँदैछ । विशेष गरी दमौलीको भोटी बजार एकादशी मेलामा लाग्ने भएपनि त्यस समयमा तनहुँ महोत्सव, दमौली महोत्सव जस्ता हुँदै आएकोले यसले छुट्टै महत्व पाउन सकेको थिएन । महोत्सव गर्न सजिलो छैन त्यसमाथि आर्थिक मन्दी, गर्मीको समय आदिले गर्दा जे जस्तो भएपनि दोभान युवा क्लबमा आवद्ध युवाहरुले जुन आँट गरेका छन् त्यो भने नमुना काम नै हो । भोटीको माछा , स्थानीय मदिरा पाइने विशेष पहिचान बोकेको छ । भोटी बजारको पहिचानको प्रवद्र्धन गर्ने प्रमुख उद्धेश्यले महोत्सव गर्ने लागिएको छ । स्थानीय उत्पादन, बस्तु तथा सेवाहरुको बजार प्रवद्र्धन गर्ने, उद्यमी एवम् व्यवसायीहरुलाई प्रोत्साहन गर्नु, आदिवासी जनजातिका भाषा, धर्म, कला र सस्कृतिको माध्यमबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवद्धन गर्नु लगायत महोत्सवको थप उद्धेश्य रहेको दरैले बताउनुभयो । महोत्सवमा राखिने खानाका स्टलमा भोटी माछाको परिकारहरु अनिवार्य राख्नु पर्ने नियम राखिएको छ यो राम्रो पक्ष हो । महोत्सवमा स्थानीयका साथै राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुको दैनिक प्रस्तुति, कृषि पर्दशनी, हस्तकला प्रर्दशनी, सास्कृतिक प्रर्दशनी, धार्मिक तथा ऐतिहासिक स्थलको प्रवद्धन गरिने बताईएको छ । दोभान आमा समुहको सहआयोजना र व्यास नगरपालिका वडा नम्बर १ को प्रवद्धृनमा महोत्सव भदौ २७ देखि असोज ७ गते सम्म हुने महोत्सवमा लाखे नाच प्रतियोगिता, कौरा गीत प्रतियोगिता, झाँकी पुरस्कार, नरसिंह तथा पञ्चेबाजा प्रतियोगिता राखिएको छ । छिम्केश्वरी, बन्दीपुर, तनहुँसुर, पतेनी दरैगाउँ, पुलटारी बोटेगाउँ, मानहुँकोट, भादगाउँ, खैरेनीटार दगाम, दुलेगौंडा भुजीकोट, रामकोट लगायतको पौराणिक ठाउँहरुमा ग्राम भ्रमणको कार्यक्रम राखिएको छ । यस महोत्सवलाई सफल बनाउन दमौली र यस आसपासमा सबै बासिन्दाले मद्धत गर्नुपर्दछ ।


