Uncategorized

मनको एउटा रित्तो पाना: मेरो अन्तिम राजनीतिक यात्रा

मनको एउटा रित्तो पाना: मेरो अन्तिम राजनीतिक यात्रा

म सधैं आफ्नै मनको पदचाप पछ्याउन चाहन्थेँ। सोच्थेँ, यो मनले जे भन्छ, त्यो सत्य हो; जे रोज्छ, त्यो सही हो। तर जीवनको कठोर यथार्थ सधैं सोचेजस्तो कहाँ हुँदो रहेछ र? धेरै मोडहरूमा म यसरी उभिएँ, जहाँ मेरो आफ्नै आवाज मभन्दा बाहिरका कोलाहलहरूले दबाइदिए।

परिवारका ती आशामुखी आँखाहरू, समाजको गरुङ्गो भारी, र कहिलेकाहीँ आफ्नै भावनात्मक निर्धोपन यी सबैको चक्रव्यूहमा पर्दा मैले नो भन्ने साहस जुटाउन सकिनँ। मनले एउटा गोरेटो देखाउँथ्यो, तर गोडाहरू परिस्थितिको साङ्लोमा बाँधिएका हुन्थे। आज पछाडि फर्केर हेर्दा एउटा ऐना अगाडि उभिएको महसुस हुन्।‌यदि त्यो बेला मैले आफ्नो मनको हात अलि दह्रोसँग समातेको भए, सायद आज मेरो जीवनको कथाको रङ्ग अर्कै हुन्थ्यो होला।

जीवन केवल पछुतोको आँसुमा रुझ्ने ओत होइन। हरेक ठक्करले एउटा नयाँ चेतना दिँदो रहेछ। त्यसैले अब मैले बाँकी जीवनको क्यानभासमा अलि फरक रङ्ग भर्ने निर्णय गरेको छु।‌अब मलाई यो बाहिरी भीड, यो कृत्रिम प्रतिस्पर्धा, र कहिल्यै नसकिने शक्तिको दौडबाट अलि टाढा जानु छ। जीवनभर अरूको भावना बुझ्दा-बुझ्दै, अरूको अपेक्षा पूरा गर्दा-गर्दै मैले आफैंलाई कता हराएछु, पत्तै पाइनँ। अब मलाई आफ्नै आत्माको गहिराइमा डुबुल्की मार्नु छ। वास्तविक शान्ति कुनै पद वा प्रतिष्ठामा होइन, आफ्नै मौनताभित्र लुकेको हुँदो रहेछ भन्ने आभास भएको छ।

राजनीतिको त्यो संसार‌ जहाँ हरेक दिन एउटा नयाँ युद्ध थियो। कहिले चुनावको राप, कहिले आरोपको विषालु वाण, त कहिले समर्थनको न्यानो माया। त्यो आँधीबेहरीले मलाई धेरै दियो, तर बदलामा मेरो भित्री शान्तिलाई विस्तारै रित्याउँदै लग्यो। म अब बाहिरी विजयभन्दा भित्री सन्तुलनको खोजीमा निस्कन चाहन्छु। जसले संसार जित्छ, उसले सायद केही पाउँछ होला; तर जसले आफैंलाई जित्छ, उसले सबैथोक पाउँछ।

अब मेरो बाटो अध्ययन, चिन्तन र आध्यात्मिक खोजतर्फ मोडिएको छ। किताबका पानाहरूमा हराउनु, प्रकृतिको काखमा सुस्ताउनु र आफ्नै मौनतासँग संवाद गर्नु नै अब मेरो गन्तव्य हुनेछ।

मलाई यहाँसम्म डोर्याउने, म कमजोर हुँदा मेरो काँध थाम्ने र ममाथि अटुट विश्वास राख्ने तपाईंहरू सबैप्रति म नतमस्तक छु। तपाईंहरूको माया नै मेरो जीवनको सबैभन्दा ठूलो कमाइ हो।‌तर, आज म भारी मनले भए पनि एउटा दृढ निर्णय सुनाउँदै छु‌ , म आफ्नो राजनीतिक यात्रामा आजैका मितिदेखि पूर्णविराम लगाउँदै छु।

यो निर्णय लिनु मेरो लागि र मेरो वरिपरि रहने हरुको लागि त्यति सहज नहुन सक्छ तर कहिलेकाहीँ एउटा सुन्दर साँझको लागि घाम अस्ताउनै पर्छ। मैले आफ्नो तर्फबाट इमानदारीको मसीले इतिहास लेख्ने कोसिस गरेँ, तर सायद समयको माग अर्कै थियो। मेरा केही सपनाहरू अपूरै रहे, केही इच्छाहरू अधुरै छुटे तर यसमा मलाई कुनै गुनासो छैन।

हार र असफलताले मानिसलाई अझ विनम्र बनाउँदो रहेछ। अब मलाई प्रतिस्पर्धाभन्दा सन्तोष प्रिय छ, र महत्वाकांक्षाभन्दा स्थिरता मूल्यवान् छ। बिदाइ राजनीति! अब म आफ्नै खोजीमा निस्किएको छु।

दीपक राज जोशी
व्यास २ , दमौली, तनहुँ

Show More

Related Articles

Back to top button