समाचारकोरोनाभाइरसस्वास्थ्य

पाको उमेरकाले लगाए भेरोसेल खोप

दमौली खबर संवाददाता
व्यास नगरपालिका वडा नं ५ कन्टारका ६४ वर्षीय तारा खनाल हतारहतार गदै साँझको साढे चार बजे कोरोना भाइरसविरुद्धको खोप लगाउन पतेनी आधारभूत स्वास्थ्य केन्द्रमा पुगे । खोप लगाए पछि खनाल खुशी छन् । ‘सरकारले हामीलाई खोपको व्यवस्था गरेर राम्रो ग¥यो । सबैले लगाउन पाए राम्रो हुन्थ्यो’, उनले भने, ‘धेरै अझै छुट्नु भएको छ । उहाँहरुलाई पनि छिटो लगाइयोस् ।’ चीन सरकारले अनुदानमा पठाएको भेरोसेलको खोप यहाँ ६२ देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइएको छ । ‘स्थानीय स्तरमा खोप केन्द्र निर्धारण गरेर खोप लगाउने अभियान चलेको छ’, व्यास नगरपालिका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले भने, ‘सरकारले तोकेको मापदण्ड भन्दा तलमाथि नपर्ने गरि खोप लगाइन्छ ।’ यस्तै काठमाडौँ उपत्यका बाहिर रहेका तर, भेरोसेलको पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन बाँकी भएकाहरुलाई पनि यस अभियान अन्तर्गत खोप लगाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन अनुसार भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई यसपालि खोप लगाइएको हो । ‘काठमाडौँमा पहिलो मात्रा लगाइयो । दोस्रो मात्रा लगाउन छुटेको थियो । यसपालि लगाउन पाइयो’ पतेनीका रामकुमार पौडेलले भने । तनहँु जिल्लामा यसपटक करिब ४ हजार ९ सय जनालाई भेरोसेल खोप लगाउने लक्ष रहेको स्वास्थ्य कार्यालयका प्रमुख शंखरबाबु अधिकारीले बताए । जिल्लामा ९९ वटा खोप केन्द्र मार्फत खोप लगाइएको छ । मंगलबार छुटेका जेष्ठ नागरिकलाई बुधबार लगाईने बताईएको छ ।

Show More

Related Articles

Back to top button