समाचार

निषेधाज्ञा उल्लंघन गर्दै कार्यक्रम, मुकदर्शक बन्यो तनहुँ प्रशासन

दमौली खबर संवाददाता
साउन ३१, दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले भीडभाड कम गर्न निषेधाज्ञा जारी गरेको भएता पनि तनहँुमा भीडभाड हुने कार्यक्रम भईराखेका छन । निषेधाज्ञा उलंघन गदै जिल्लाका सामाजिक संघ संस्था, राजनीतिक दल लगायत संस्थाले सार्वजनिक कार्यक्रम गरेका हुन् । सामाजिक सेवामा क्रियाशील रहेको रोटरी क्लब अफ दमौलीले संस्थाको २१ औं स्थापना दिवसको अवसरमा स्वास्थ्य मापदण्ड उल्लंघन गर्दै कार्यक्रम गरेको छ । क्लबले व्यास ३ स्थित रहेको तनहँु उद्योग वाणिज्य संघको सभा हलमा ठूलो संख्यामा सदस्यहरुसहितको कार्यक्रमको आयोजना गरेको हो । कोभिड महामारी कायम रहेको भन्दै प्रशासनले निषेधाज्ञा केही खुकुलो बनाएपनि सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार सञ्चालन गर्न, मानिसहरु भेला जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, जात्रा, महोत्सव गर्न निषेध गरेको छ । तर, प्रशासनको अनुमति बिना क्लबले सभा आयोजना गरेको हो ।

प्रशासनको आदेशको अटेरी गर्दै आयोजना गरिएको कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपाने पनि सहभागि थिए । त्यस्तै दृश्य दोहोरियो नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिस्ट लिग (वाइसिएल) व्यास नगर कमिटीको दास्रो नगर सम्मेलनमा । प्रशासनले निषेधाज्ञाको बेला सामाजिक संस्कृतिक कार्यक्रममा १५ जना भन्दा बढी भेला नहुन आदेश जारी गरे पनि उक्त कार्यक्रममा एक सय ५० जना भेला भएका थिए । शनिबार एकैदिन दमौलीमा भएको दुबै कार्यक्रमको बारेमा नजिकै भएको जिल्ला प्रशासन कार्यालय तनहँु मुकदर्शक भएर बसिरह्यो । तनहँुका व्यास, शुक्लागण्डकी, भानु र भिमाद नगरपालिका अहिले कोरोनाको रेड जोनमा रहेको स्वाथ्य कार्यालय तनहँुले जनाएको छ ।

एक सय ९२ सक्रिय कोरोना संक्रमित रहेको व्यास नगरपालिकामा दिनहँु सार्वजनिक कार्यक्रम हुने गरेका छन् । प्रशासनले जारी गरेको निषेधाज्ञाको उलघंन गदै जनप्रतिनिधिहरु कार्यक्रम उद्घाटन गर्न पुग्छन् । व्यासका वडाअध्यक्षहरु झन विद्यालयमा अभिभावक भेला गदै नयाँ विद्यालय व्यवस्थापन समिति गठन गदै छन् । साउन मसान्त सम्म विद्यालयमा अभिभावक भेला गरि व्यवस्थापन समिति गठन गर्न भन्दै नगरपालिकाले सूचना जारी गरेको छ । जिल्लामा पाँच सय २ सक्रिय कोरोना संक्रमित रहेको छन् । दिनहँु जिल्लामा संक्रमित थपिरहेका छन् । यता जिल्ला प्रशासन कार्यालय तनहँुका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले शनिबार भएका कार्यक्रमबारेमा आफुहरुलाइ कुनै जानकारी नभएको बताए ।

उनले भने, ‘विवाह व्रतबन्ध लगायत आवश्यक कार्य गर्न १५ जना भन्दा बढी भेला नभई गर्न भनिएको छ । अन्य कार्यक्रमको लागि प्रशासनको अनुमति लिन पर्छ । ’ उनले अघि भने,‘ जिम्मेवार व्यक्ति तथा संस्थाले नै गैर जिम्मेवारी तरिकाले काम गर्नु सुखद् कुरा होइन् । उलंघन गर्नेलाई कारबाही हुन्छ । रोगबाट प्रशासन जोगिने होइन, प्रहरी जोगिने होइन ।’ कोभिड संकट व्यवस्थापनको बैठक आईतबार बसी निषेधाज्ञा कडाई गरिने बारे छलफल हुने उनले जानकारी दिए ।

Show More

Related Articles

Back to top button