समाचारUncategorized

दुर्घटनामा पु¥याउने खाल्डैखाल्डाको राजमार्ग!

लकडाउनमै काठमाडौंका सडक मर्मत गरेर चर्चा कमाएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले देशभरका अन्य सडकमा भने आँखा चिम्लिए। यसैको एउटा उदाहरण हो, पृथ्वी राजमार्ग। यस राजमार्गको दमौली–पोखरा खण्डमा मात्र सयौं खाल्डाहरू छन्, कतिपय खाल्डा ३ वर्षदेखि पुरिएका छैनन्। तनहुँको कोत्रेमा पृथ्वी राजमार्ग भत्किएको ३ वर्ष पुग्यो। कास्की र तनहुँको सीमावर्ती क्षेत्रमा भत्किएको सडक मर्मत सम्भारमा अहिलेसम्म सडक डिभिजन कार्यालयले चासो दिएको छैन। खाल्डाका कारण यात्रु र सडक वरिपरिका बासिन्दाले धुँवा–धुलोको सास्ती त खेप्नुपर्छ नै, सडक दुर्घटनाको प्रमुख कारण नै खाल्डा भएको ट्राफिक प्रहरीको भनाइ छ। सडकमा परेको खाल्डाकै कारण दुर्घटनामा परेर कतिले ज्यान समेत गुमाएका छन् । तनहँुमा मात्र साउनयता भएका ६ वटा ठूला दुर्घटनामा ४ जनाको ज्यान गएको जिल्ला ट्राफिक प्रमुख रेशम रानाभाटले बताए। सडकमा भएका खाल्डाखुल्डी र चालकको लापरबाहीका कारण दुर्घटना बढेको उनले बताए।

उनले भने,‘खाल्डाखुल्डीकै कारण दैनिक दजनौ सानातिना दुद्र्यटनाहरु भईरहन्छ ।’ राजमार्गमा खाल्डाबाट जोगिन खोज्दा धेरै दुर्घटना हुने, खाल्डाकै कारण सवारी साधन अनियन्त्रित भएर दुर्घटना हुने गरेको उनले बताए। यता, सडक डिभिजन कार्यालय तनहुँले जिल्लामा पर्ने ७२ किलोमिटर खण्डमा यस्तो समस्या नआउने गरी काम भैरहेको दाबी गरेको छ । विभिन्न खण्डमा गरी सडक मर्मतको काम थालेकाले दशैंसम्म खाल्डा पुरिने उक्त कार्यालयले दाबी गरेको छ । डिभिजन प्रमुख अमितकुमार श्रेष्ठका अनुसार पोहोर नै मर्मत गरिनुपर्ने सडक लकडाउनले गर्दा नसकिएको भन्दै यसपाली दशैंसम्म सक्ने गरि काम भैरहेको बताए । उनले भने, ‘अहिले मर्मत थालिएकामा पहिल्यै हुनुपर्ने योजना धेरै छन् भने केही नयाँ पनि छन् ।

राजमार्गअन्र्तगतको मुग्लिन दमौली, दमौली कुम्लेखोला तथा कुम्लेखोला कोत्रे खण्डमा मर्मतको काम भैरहेको छ ।’ लकडाउन खुकुलो भएको लामो समयसम्म पनि मर्मतको काम शुरु हुन नसक्दा सडकको अवस्था झनै बिग्रेको थियो । काम थाल्न लागेका ठेकेदारले पनि कामदार ल्याउन नपाएको गुनासो गरे पछि प्रशासनसँग सहयोगका लागि आग्रह गरेकाले अहिले अवस्था सहज भएको डिभिजन प्रमुख अमितकुमार श्रेष्ठको भनाई छ । प्रशासनले पनि कामदार ल्याउने काममा सहजीकरण गरिएको बताएको छ । पृथ्वी राजमार्ग अन्तर्गत कास्कीको सीमानादेखि मुग्लिनसम्म सडक डिभिजन कार्यालय दमौलीको क्षेत्राधिकारभित्र पर्छ। तनहुँको कोत्रे खण्डमा वर्षौंदेखि सडक भत्किएको राजमार्ग मर्मत गर्न सडक डिभिजनलाई बारम्बार आग्रह गरे पनि अटेरी गरेको स्थानीयले बताएका छन्।राजमार्गहरूमा मात्र होइन, दुई जिल्ला जोड्ने सडक र आर्थिक केन्द्रहरू जोड्ने सडक पनि वर्षौंदेखि मर्मत हुन सकेको छैन।

तनहुँको दमौलीदेखि लमजुङको भोर्लेटार जोड्ने सडक यसैको अर्को उदाहरण हो। उक्त सडक कालोपत्रे भएदेखि एक पटक पनि मर्मत नभएको स्थानीयले बताएका छन्। प्रदेशमा हस्तान्तरण भएका सडकको पनि मर्मत सम्भार गर्न अहिलेसम्म बजेट बाँडफाँट नै हुन सकेको छैन। भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकीका सचिव रामचन्द्र श्रेष्ठले मर्मत सम्भार गर्नुपर्ने सडकको पहिचान नै नभएको बताए। ‘कुन सडक कति मर्मत गर्नुपर्ने छ पहिचान भइसकेको छैन’, उनले भने, ‘मर्मतका लागि बजेट त छ, सडक पहिचान नभएकाले बाँडफाँट भएको छैन।’ मर्मतका लागि यसअघि नै बजेटको व्यवस्था भएका सडक छिटो मर्मत सम्भार गर्न ठेकेदार पक्षलाई पत्राचार गर्ने उनले बताए।

Show More

Related Articles

Back to top button