समाचार

कौसीखेती प्रर्वद्धन गर्दै व्यास नगरपालिका

दमौली खबर संवाददाता
व्यास नगरपालिका वडा २ कालिका मार्गकी कल्पना गौली पेशाले महिला उद्यमी हुन् । तर अचेल उनको परिचयमा यो पनि थपिएको छ – ‘एक सफल कौसी खेती किसान ।’ पछिल्लो समय उनी दमौलीमा महिला उद्यमी भन्दा पनि सफल कौसी खेती किसानको रुपमा परिचित हुन थालेकी छन् । १८ वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी कल्पनाले कौसीमै उत्पादित तरकारीमा आत्मनिर्भर एक सफल कृषक बनेकी छन् । कौसीमा सामान्यतया तरकारी खेती गर्ने त अहिले सोख नै भएको छ । तर उनी भने कौसीकै तरकारीबाट आत्मनिर्भर भएकोले उनको सफलताले अहिले यहाँ चर्चा पनि पाउने गरेको छ । बिहान जुरुक्क उठ्दा उनको घर अगाडिबाट कयौं मानिस बिहानको हिंडाई (मर्निङ वाक) मा देखिन्छन् । तर उनको बिहान भने कौसीमा तरकारीसँगै बित्ने गर्दछ ।

उनी सामान्य व्यायामपछि तरकारीको हेरचाहमा व्यस्त हुन्छिन् । मौसमी तरकारीका बेर्नादेखि डोरीमा लहलह फलेका काँक्रो, घिरौंला, लौका, सागहरु भ्यान्टा, खुर्सानी गोडभेल र तिनमा एक नजर लगाएपछि उनको बिहानको एक/ डेढ घण्टा बितिहाल्छ । गौली भन्छिन्, ‘पसिना बगाएसँगै हुर्केका फलहरुमा भेटिएको खुशीको कुनै मुल्य नै नहुने रहेछ ।’ ‘जति आफूले खाँदा आनन्द आउँछ त्यति नै अरुलाई बाँडेर खान पाउँदा पनि मज्जा लाग्छ’, आफ्नो अनुभव उनले यसरी सुनाइन् । गौलीसँग कौसीमा कुनै एक याममा २०० केजीसम्म तरकारी फलाएर जोखेको अनुभव पनि छ । गौलीको पछिल्लो दिनचर्या कौसीमा तरकारी लगाउन चाहानेहरुलाई तालिम दिन र आवश्यक परामर्शमा जुट्ने गरेर बितेको छ ।

‘अहिले त सहर बजारका धेरै महिला कौसी खेतीतर्फ आकर्षित हुन थाल्नुभएको छ, तर फेसन जस्तो गरेर कौसीखेती गर्दा महँगो हुन्छ । घरमा भएका पुराना भाँडाकुँडा जे छ त्यसैलाई सदुपयोग गर्दै, भान्साको फोहरलाई व्यवस्थापन गर्दै यो खेती गर्दामात्र सस्तो पर्न जान्छ’, उनले भनिन् । सामाजिक सञ्जालमा देखाउन गरिने कौसी खेतीले आर्थिक भार पर्न जाने अनुभव पनि उनले सुनाइन् । व्यास नगरपालिकाले नीति तथा कार्यक्रमा समेत कौसी खेतीलाई समेटिएकाले पनि यसको महत्वलाई उजागार गरेको उनको भनाइ छ । व्यास नगरपालिकाले सहरी क्षेत्रमा रहेको वडाहरुमा कौसी खेती तालिम दिंदै आएको छ । व्यासका मुख्य सहरी क्षेत्रभित्र समेटेर कौसी खेती कार्यक्रमलाई प्रभावारी बनाउँदै लगिएको छ । यसैबीच आईतबार देखि व्यास १ भाँदगाँउमा कौसी खेती तालिम दिन सुरु गरिएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख वैकुण्ठ न्यौपानेले सरसफाई व्यवस्थापनका लागि सहरी क्षेत्रको वडामा कौसी खेती सम्बन्धी तालिम दिदै आएको बताए । उनले भने,‘क्रंक्रिट सहरलाई कौसी खेती मार्फत हराभरा बनाउने उद्देश्य हो । एक तिर कुहिने फोहोरको व्यवस्थापन पनि हुने,अर्को तिर राम्रो आयआर्जनको माध्यम पनि बन्ने ।’ स्वच्छ र हराभरा नगर भन्ने अभियानमा कौसी तथा करेसाबारीलाई पनि जोडेर लगेको उनको भनाई छ । व्यास १ का वडा अध्यक्ष खरसिं दरैले चुलोचौकामा मात्र सिमित महिलाले कौसी खेतीबाट मनग्य आम्दानी गर्न सक्ने बताए । यसअघि व्यासले वडा नं २,३ र ४ मा कौसी खेती सम्बन्धी तालिम दिईसकेको नगरपालिकाको सरसफाई उपशाखाका प्रमुख भाग्यशाली ढुङगनाले जानकारी दिए ।

Show More

Related Articles

Back to top button