दमौली खबर संवाददाता
तनहुँ, असोज ७ गते
करेन्ट लगाएर माछामार्ने क्रममा तनहुँमा एक जनाको मृत्यु भएको छ । नुवाकोट साबिक कल्याणपुर गाविस–८ स्थायी घर भई हाल तनहुँको व्यास नगरपालिका–११ सुन्धाराटोल बस्ने बर्ष ५२ को बिरबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।
घर नजिक रहेको पानीको कुलोमा आफ्नै घरबाट तार जोडी माछा मार्ने क्रममा करेन्ट लागी घाईते भएकोमा दमौली अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रनाउ खाँडले बताउनुभयो । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । घरमा करेन्ट लागेर मृत्यु भएको भनिएकोमा अनुसन्धानको क्रममा माछा मार्ने क्रममा करेन्ट लागेको खुलेको प्रहरीले जनाएको छ ।


