साहित्यAll

कृषक

कृषक
ठाकुरनाथ शर्मा

सुर्ता शोक न भोक रोग छ म मा आनन्द यो जीवन
बढ्ता लालच लोभ छैन मनमा सन्तोष मेरो धन
आफ्नै पौरखमा रमाउँछु सदा आफैँ कमाई गरी
खाने अन्न छदैछ टन्न घरमा ठूला भकारी भरी।।

रायो चम्सुर काउली र हरिया सब्जी लगाई सधैं
खाई साझ बिहान स्वस्थ छु सधैं बोक्दैछु भारी अझै
आफैँ खान्छु टिपेर अङ्गुर लिची आफ्नै बगैँचा गई
यस्तो लाग्दछ लोभिदैछ दुनिया स्वर्गीय आनन्द यै।।

सानो एक तले छ बास झुपडी ऐश्वर्य मेरो यही
सम्झी सात तले म बस्दछु सधैं दर्बार मेरो यही
भो चाहिन्न्न ठुलो विशाल घर नै सानो सधैं रोज्दछु
सुत्ने ठाउँ नहोस् अभाव र कमी मात्रै यही सोच्दछु।।

चौपाया पशुले छ गोठ भरिलो वर्दान पाएँ यही
खाने गर्दछु दूध घ्यू दिनदिनै पीयूषजस्तो दही
काट्दै घाँस झरी र मेघ नभनी बित्दैछ मेरो दिन
आफ्नो दैनिक कर्ममा सरिक भै हाँसी रमाईकन।।

बारी खेत गएर झार्छु पसिना माटाेसँगै मुछ्दछु
गर्दा काम छ जोस जाँगर म मा आगोसँगै खेल्दछु
मानो बीज छरी फलाउँछु मुरी राम्रो यही मान्दछु
दाता अन्न भएर यो भुवनको मै सृष्टि नै थाम्दछु।।

Show More

Related Articles

Check Also
Close
Back to top button