समाचार

आँबुखैरेनीमा स्वास्थ्य भवन निर्माण

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्किचोक तिलवारीमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माण गरिएको छ । ग्रामीण भेगका जनतालाई वडास्तरमा नै स्वास्थ्य सेवा दिने उद्देश्य सहित स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको हो । उक्त भवनको उद्घाटन गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि बहादुर चुमानले गरे । उनले आँबुखैरेनीमा छिट्टै १५ बेडको अस्पताल स्थापना गर्ने बताए ।

अस्पताल निर्माणको लागि उपयुक्त सरकारी जग्गाको खोजी भैरहेको उनले बताए । उनले भने, “ढकालटारको सेना गणको तल्लो खण्ड खाली जग्गा उपयुक्त हुन सक्ने छ । सोही स्थानमा अस्पताल बनाउने बिषयमा सरकारसँग छलफल हुदैछ ।” विसं २०७६ कात्तिक ६ मा शुरु भएको भवन विसं २०७७ असोज २७ मा सम्पन्न भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए । उनका अनुसार एक हजार एक सय ५६ वर्गफिटमा फैलिएको भवन रु ५३ लाख ३८ हजार २९ को लागतमा सम्पन्न भएको हो ।

खरादेवी निर्माण सेवा भक्तपुरले भवन निर्माणको जिम्मा पाएको थियो । स्वास्थ्य केन्द्रमा एक एचए, एक अनमि र कार्यालय सहयोगीको व्यवस्था गरिएको छ । विस्तारै जनशक्ति थपिने उहाँ बताउनुभयो । स्वास्थ्य केन्द्रबाट सरकारले उपलब्ध गराएको ३५ प्रकारका औषधि निःशुल्क रुपमा प्राप्त हुनेछ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले वडा वडामा स्थापना भएका आधारभूत स्वास्थ्य केन्द्रबाट अधिकतम सेवा लिन सर्वसाधारणलाई आग्रह समेत गरे ।

Show More

Related Articles

Back to top button