समाचारAll

आन्तरिक राजस्व कार्यालय दमौलीद्धारा लक्ष्यभन्दा १५५ प्रतिशत राजस्व संकलन

तनहुँमा २५ दिनमै एक अर्ब ३ करोड ९० लाख राजस्व दाखिला
दमौली खबर संवाददाता
  दमौली, २६ साउन । आन्तरिक राजश्व कार्यालय दमौलीले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा १५५ प्रतिशत राजस्व संकलन गर्न सफल भएको छ  । कार्यालयले  २५ दिनमा अर्थात साउन २५ गते सम्ममा १ अर्ब ३ करोड ९० लाख २९ हजार राजस्व सङ्कलन गरेको छ । लक्ष्य भन्दा एक सय ५५ प्रतिशत वृद्धि भएको कार्यालयका प्रमुख कर अधिकृत डा.नारायण ढकालले जानकारी दिनुभयो । साउन महिनामा ६६ करोड ८९ लाख ३४ हजार लक्ष्य राखिएकोमा साउन २५ गते सम्ममा सो रकम सङ्कलन भएको ढकालले बताउनुभयो ।
 नेपाल सरकारले अन्तशुल्कमा १८ देखि २० प्रतिशत वृद्धि गर्नु, करदाताको सङ्ख्यामा वृद्धि हुनु लगायतले गर्दा राजस्व वृद्धि भएको ढकाल बताउनुहुन्छ । कार्यालयका अनुसार गत आर्थिक वर्षमा  ९ अर्ब २४ करोड ९२ लाख ४ हजार रुपियाँ राजश्व सङकलन भएको छ । झण्डै एक लाख करदाताबाट सो राजस्व सङ्कलन भएको हा कार्यालयले जनाएको छ ।
      गत आर्थिक वर्ष २०७९÷०८० मा ९ अर्ब ९ करोड ८६ लाख २८ हजार रुपियाँ राजश्व उठाउने लक्ष्य राखिएकोमा लक्ष्य भन्दा १४ करोड बढी राजश्व उठाउन सफल भएको कार्यालयका प्रमुख कर अधिकृत ढकालले जानकारी दिनुभयो । आयकर, घर बहाल कर, अन्तशुल्क, स्वास्थ्य कर, शिक्षा सेवा, ब्याजकर बाट उक्त रुपियाँ सङ्कलन भएको उहाँले बताउनुभयो । अन्त शुल्क उत्पादित वस्तु निकासी गर्दा मात्रै ६ अर्ब १७ कोड ५ लाख ५१ हजार रुपियाँ सङकलन भएको कार्यालयले जनाएको छ । सबैभन्दा धेरै सूर्य टोबाको कम्पनीबाट साढे ४ अर्ब भन्दा बढी राजश्व सङ्कलन भएको कार्यालयका प्रमुख ढकालले बताउनुभयो । आर्थिक वर्ष २०७७÷०७८ मा ८ अर्ब ५६ करोड ६८ लाख ३७ हजार रुपियाँ उठाउने लक्ष्य राखिएकोमा ८ अर्ब ५० करोड २६ लाख ६१ हजार रुपियाँ राजश्व सङ्कलन भएको सूचना प्रविधि अधिकारी रामप्रसाद पोख्रेलले जानकारी दिनुभयो ।
     गत आर्थिक वर्षमा भन्दा ७४ करोड ६५ लाख ४३ हजार रुपियाँ बढी आन्तरिक राजश्व उठाउन सफल भएको ढकाल बताउनुहुन्छ ।  ६७ प्रतिशत अन्तशुल्क कर, मूल्य अभिबृद्धि कर, आयकरबाट उक्त आम्दानी गर्न सफल भएको सो कार्यालयले जनाएको छ । कार्यालयका अनुसार तनहुँ जिल्लाभित्र ९३ हजार ३ सय २८ जना करदाता रहेका छन । तनहुँ जिल्लाभित्र सक्रिय करदाता आयकर तर्फ ४७ हजार २ सय ९४, व्यक्तिगत पानमा ४५ हजार ४ सय ७९ र अग्रिम कर कट्टी गर्ने ५ सय ५५ जना छन् । पछिल्लो १ वर्षमा व्यवसायिक पान तर्फ ६ हजार ३ सय ९३, व्यक्तिगत पान तर्फ १३ हजार २ सय ४२, अग्रिम करकट्टी गर्ने ३ सय ४७ गरी १९ हजार ९ सय ८२ जना करदाता थपिएका छन् । हाल ९४ हजार चार सय २५ जना करदाता रहेको कार्यालयले जनाएको छ । कार्यालयका अनुुसार लमजुङको १५ हजार चार सय ११  र गोरखाको २० हजार एक सय ११ गरेर एक लाख २९ हजार नौ सय ५४ जना करदाता रहेका छन् । हाल लमजुङको वेशीसहरमा मनाङ जिल्लालाई समेत समेट्ने गरी र गोरखाको गोरखा बजारमा आन्तरिक राजस्व कार्यालय सञ्चालन ल्याईएको छ । त्यहाँ कार्यालय सञ्चालन गरेपछि दमौलीमा सेवाग्राहीको चाप कम भएको छ ।
Show More

Related Articles

Back to top button