समाजको डरले खुल्दैनन् एचआईभी संक्रमित
सविन लामिछाने
घटना १
तनहँुका रमेश (नाम परिवर्तन) १० वर्ष अगाडी एक सामाजिक संस्थाको सदस्य थिए । त्यो संस्थाले एचआइभी भएका मानिसहरुलाई सहजीकरण काम हुन्थ्यो उनको । गाउँ–गाउँमा एचआइभी संक्रमण सर्ने कारण, कसरी सुरक्षित रहने भन्ने सन्देश फैलाउदै हिँडने उनै ४० बर्षीया रमेशलाई १६ दिन अगाडी मात्र एचआईभी संक्रमणको पुष्टी भयो । ९ बर्षयता वैदेशिक रोजगारीमा आउजाउ गरिरहेका थिए । दुई वर्ष अगाडि आएपछि फेरि फर्केनन् । साउदी, दुवई, कतार उनको रोजगारीका गन्तव्य हुन् ।
त्यहाँ ६÷६ महिनामा स्वास्थ्य जाँच गर्दा एचआइभीको पनि परीक्षण हुन्थ्यो । त्यतिबेला नदेखिएको एचआइभी अहिले देखियो । ‘तीन महिना अगाडि पत्ता एचआईभि लागेको पत्ता लाग्यो’, उनले भने, ‘वैदेशिक रोजगारीको लागि फेरि जान लागेको थिए । स्वास्थ्य परिक्षण गर्दा एआईभी देखिदाँ त छाँगोबाट खसे जस्तै भए ।’ पेशाले ड्राइभर हुन् रमेश । दिनमा झण्डै १८ घण्टा गाडिको स्टेरिङ्गमा हात हुन्छ । अहिले पनि उनले काम गर्दैछन् । उनले पढाई एसएलसीसम्म पूरा गरेनन् । त्यसपछि उनी काठमान्डौंमा गाडी चलाउन पुगे । यहि क्रममा उनी वैदेशिक रोजगारीमा गए र अहिले नेपालमा आई दमौलीमा कार्यरत छन् । वैदेशिक रोजगारीमा जानु अगाडि उनको विवाह भइसकेको थियो । एक छोरा र एक छोरी छन् ।
उनका बाबा आमा पनि सँगै छन् । रमेशले कतार एयरवेजको जागीरको लागि अप्लाई गरेका थिए । भिसा आयो । कन्र्फमेशनका लागि काठमाडौँको एक मेडिकलमा स्वास्थ्य जाँच गरे । तीन दिनपछि उनलाई फोन आयो, ‘तपाईँ टेकुको एआरटी सेन्टरमा जानुहोस् ।’ रमेशलाई यसको बारेमा थाहा थिएन । उनले सोधेँ ‘किन ?’मेडिकलले बुझाइदिएपछि उनलाई अचम्म लाग्यो । ‘त्यतिबेला म पोखरामा थिएँ, त्यतै जाँच गर्दा पोजेटिभ देखियो ।’ उनलाई जमिन भासिएको जस्तो भान भयो, जीवनको अन्तिम अवस्थामा आइपुगेको जस्तो लाग्यो । उनी उच्च रक्तचापको औषधि खान्थे, अल्सरको औषधि पनि खाइरहेका थिए । उनले त्यो सबै औषधि फालिदिए । थाहा पाउने बित्तिकै बुबालाई भनेका थिए ।
आफूलाई एचआइभी पोजेटिभ भएको थाहा पाएपछि उनले आफ्नो यौन सम्बन्ध राख्ने साथीलाई पनि जाँच गराए । उनलाई पनि एचआइभी पोजिटिभ देखियो । रमेशले आफूबाट अन्य तीन जनालाई सरेको बताए । उनले आफ्नो श्रीमतिलाई भने यो कुरा भन्न सकेका छैनन् रे । उनलाई श्रीमतीले घृणा गर्लिन्, समाजले घृणा गर्ला भन्ने डर छ । सोचेका छन्, ‘पछिका लागि तर मानिसले एचआइभीलाई संकुचित रुपमा लिन्छन् । घृणाको दृष्टिले हेर्लान् भन्ने डर छ ।’
घटना २
२० बर्षीया युवती रोजी (नाम परिवर्तन)लाई रक्त अल्पत्ता सम्बन्धी रोग छ । ६ देखि ८ महिनाको अन्तरमा रगत फेर्नुपर्दछ । उनको फियो सुन्निने समस्या पनि थियो । त्यसैको उपचारका लागी अस्पताल गएको बखत उनलाई एचआइभी देखियो । जिल्ला बाहिरबाट आएका उनको आमा छोरी रोइरहेका थिए । तीन महिना अगाडि देखाउँदा पनि ठीक थियो । युवती यौन कार्यमा सक्रिय भएकी थिइनन् वा सेक्सुअल्ली इनएक्टिभ थिइन् । डाक्टरले उनलाई राखिएको रगतबाट एचआइभीको संक्रमण भएको हुनसक्ने बताए ।
घटना ३
७ वर्ष अगाडि ३० बर्षीया रमिता (नाम परिवर्तन) बिरामी परिन् । सामान्य रुघा थियो, ज्वरो आएको बेला निको नहुने समस्या भइरह्यो । त्यहि बेला उनको गाउँमा स्वास्थ्य शिविर आयो, उनले जचाइन् । त्यतिबेलै एचआइभी संक्रमण देखियो । उनले श्रीमानको पनि स्वास्थ्य परिक्षण गराइन् । उनलाई पनि एचआइभी देखियो । जेठो छोरा दुई वर्षको हुँदा उनको श्रीमान बरालिए थिए । ‘आफ्नो घर बेचेर बाहिर बाहिर हिँडे, भारततिर पनि गएका थिए’, उनले भनिन्, ‘दुई वर्षपछि आउँदा हामी सँगै बस्यौँ ।’ त्यसपछि उनले दोस्रो सन्तान छोरा नै जन्माइन्, तेस्रो पटक गर्भवति हुँदा पनि छोरा नै भएको थाहा पाएपछि उनले गर्भपतन गराइन् । तर बिडम्बना उनको दोस्रो छोरा ३ वर्षको हुँदा बिते । जेठो छोरालाई एचआइभी छैन । उनको माइतीमा उनलाई एचआइभी भएको थाहा छ । छोरालाई पनि थाहा छ ।
छोराले गारो हुने काम नगर्नुस् भन्छन् । जागिर गर्छन् र बाबुआमालाई पाल्छन् । यीत प्रतिनिधीमुलक घटना मात्र हुन् । एचआईभी संक्रमितको संख्या बढ्दो छ । संक्रमितसंगै मृतकको संख्या पनि उस्तै रहेको दमौली अस्पतालमा रहेको एआरटी शाखाको तथ्याङ्कले देखाउँछ । तनहुँमा हालसम्म एचआइभी एड्सको संक्रमणबाट ४९ जनाको मृत्यु भएको छ । जिल्लामा अहिले तीन सय ३३ जना संक्रमित रहेको शाखाले जनाएको छ । जसमा सबैभन्दा बढी पुरुष एक सय ६३ जना छन् । एक सय ४३ जना महिला, एक जना तेस्रो लिंगी, १४ जना बालिका र १३ जना बालक रहेको शाखाकी इञ्चार्ज सुस्मिला खनालले जानकारी दिइन् ।
तनहँुमा गत बर्षसम्म ३७ जनाको मृत्यु भएको थियो भने तीन सय २८ जना संक्रमित थिए । भारतमा मजदुरीका लागि जाने र असुरक्षित यौन सम्बन्ध राख्ने कारण फर्किंदा एचआईभी एड्स जस्ता संक्रमण घर फिर्ने गरेको अनुमान छ । यसको अलवा निर्मलीकरण नगरिएको असुरक्षित सिरिन्जको प्रयोगले पनि संक्रमणको जोखिम छ । खनालले भनिन्, ’रोगबाट संक्रमित भएका समाजमा धेरै छन् । सामाजिक अवहेलनाले खेप्नु पर्ने हुदाँ खुल्न सकिरहेको अवस्था छैन् ।’
समाजको डर
समाजमा हेर्ने दृष्टिकोण परिर्वतन नभएकाले अझैपनि एचआईभी संक्रमित खुल्दैनन् । तनहँुका केही एचाईभी संक्रिमत त जिल्लामा थाहा हुने डरले नजिकको जिल्लाका अस्पतालमा पुगेर उपचार सेवा लिने गरेको दमौली अस्पतालका प्रमुख सुनिल पौडेलले बताए । उनले भने, ‘नजिकको अस्पतालमा उपचारको लागि गएको बेला अरुले देख्छन् र संक्रमित हो भन्ने थाहा पाउने डरले यहीँ उपचार गराउन डराउँछन् ।’ अहिले पनि समाजमा एचाईभी संक्रमित रोग लुकाएर बस्न बाध्य रहेको पौडेलले बताए ।
अस्पतालमा सम्पर्कमा आएका संक्रमितलाई सरकारले दिएको निःशुल्क औषधी दिने गरेको उनले जनाए । कोरोना भाईरसको संक्रमण रोक्न गत चैत महिनामा भएको लकडाउनले औषधि खरिद गर्न समस्यामा परेका एचआइभी संक्रमितलाई कम्युनिटी सपोर्ट ग्रुप तनहुँले घरघरमै औषधि वितरण गरेको थियो । ‘संक्रमितले नियमित औषधि सेवन गर्नुपर्छ । त्यसैले लकडाउनको बेला औषधि सकिएका संक्रमितको सहजतका लागी घरमै पुगेर औषधि वितरण ग¥यौँ’, ग्रुपका अध्यक्ष श्रीराम कंडेलले भने । उनका अनुसार एक सय १३ संक्रमितलाई घरघरमै पुगेर औषधि उपलब्ध गराईएको थियो । संस्थाले एचआइभी संक्रमितको अधिकार प्राप्तीका लागी वकालत गर्दै आईरहेको छ ।