दमौली खबर संवाददाता
दमौली, असोज १२
नेपाल हृदय रोग निवारण प्रतिष्ठान तनहुँले शुक्रबार विश्व मुटु दिवसको उपलक्ष्यमा व्यास नगरपालिका–५ पाटन स्थित परोकार जेष्ठ नागरिक आश्रम आश्रितहरुको मुटुको जाँच तथा रक्त परिक्षण गर्ने भएको छ । आश्रम रहेका आमा तथा बुबाहरुलाई मुटुको परिक्षण गर्नुको अतिरिक्त मुटु रोगबाट बच्ने उपायको बारेमा जानकारी समेत प्रदान गरिने प्रतिष्ठानका तनहुँका अध्यक्ष कृष्णचन्द्र पाडेले जानकारी दिनुभयो ।
व्यास नगरपालिका–३ दमौली स्थित नेशनल एपोलो हस्पिटलको प्राविधिक सहयोगमा परिक्षण गरिने प्रतिष्ठानको तनहुँको अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिनुभयो । विश्वमा हरेक वर्ष दुई करोड मानिसको मृत्यु मुटुरोगले गर्दा हुने गर्दछ । यो संसारको मृत्युको मध्ये पहिलो हो ।
कुनै पनि महामारी, कुनै दुर्घटना, कुनै एड्स या कुनै अरू सरुवा रोगबाट भन्दा यो बढी हो । यो एउटा महामारीको रूपमा देखापरेको छ । यो रोगबाट बच्न र बचाउन सबैजना लागि नपर्ने हो भने कल्पना पनि गर्न नसकिने अवस्थाको सिर्जना हुने प्रतिष्ठानले जनाएको छ । सन् १९९९ मा विश्व मुटु सङ्गठन र विश्व स्वास्थ्य सङ्घको संयुक्त प्रयासमा यो विश्व मुटु दिवस मनाउने चलन सुरु भएको हो । विश्व मुटु दिवस पहिलो पटक २७ सेप्टेम्बर २००० मा सुरु भएको हो । सन् २०११ सम्म यो दिवस हरेक सेप्टेम्बर महिनाको अन्तिम आइतबार मनाउने गरिएको थियो भने त्यसपछि सेप्टेम्बरको २९ तारिखको दिन विश्वभरि यो दिवस मनाउने गरिएको छ । यस वर्षको मुटु दिवसको नारा “युज हार्ट फर एभ्री हार्ट (मन लगाऔं मुटु बचाऔं) वा हरेक मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने रहेको छ । यसको अर्थ आफ्नो मुटुको लागि हृदयको प्रयोग गरौं भन्ने हो ।
मुख्यगरी धूम्रपान वा सुर्ती जन्य पदार्थको सेवन, उच्च रक्तचाप, नियन्त्रित नभएको मधुमेह, रगतमा भएको चिल्लो पदार्थहरूको असन्तुलन, व्यायाम ध्यान योग नगर्ने बानी, वजन धेरै हुनु, अनावश्यक तनाव लिने बानी, लोभ लालच, फलफूल नखाने बानी, खानामा नुनु धेरै, चिनी धेरै, कार्बोहाइड्रेट धेरै खाने, बजारको पोके पत्रु खाना खाने बानी, कम सुत्ने बानी , ठीक ठाउँमा राख्न सकेदेखि मुटु रोग बाट बच्न सकिने चिकित्सक बताउँछन् । चुरोट रक्सीको सेवन नर्गने, रक्तचाप मधुमेह र रगतमा हुने चिल्लो पदार्थ नियन्त्रण गरेर राख्नु पर्दछ । यस्तैगरी तौल बढ्न नदिन व्यायाम, ध्यान योग अभ्यास गर्ने, अनावश्यक तनाव नलिने, लोभ लालचमा नफस्ने, फलफूल खाने बानी बसाल्नु आवश्यक हुन्छ ।



