Allफिचरविचारसमाचार

राजनीतिमा वंश परम्परा : शेखर, शशांक र सुजाताको काँधमा बीपीको विरासत

दीपकराज जोशी

दीपकराज जोशी

नै पनि राजनीतिक परिवेशमा शक्तिशाली राजनीतिक परिवारका सदस्यहरूलाई पद र राजनीति गर्ने अवसर दिइन्छ, त्यसलाई सामान्यतया राजनीतिक वंशवादको रूपमा चिनिन्छ ।

नेपालमा परिवारका त्यस्ता धेरै सदस्यले राजनीतिमा र सार्वजनिक पदमा विना योग्यता पनि राजनीतिक नियुक्ति पाइरहेका छन् । दक्षिण एसियाको राजनीतिमा वंशवादको प्रभुत्व नयाँ होइन ।

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, सांसदजस्ता पदहरूका साथै अरू शक्ति संरचना यिनै परिवारको वरिपरि घुमिरहेको पाइन्छ ।

भारतीय कांग्रेस पार्टीमा नेहरू-गान्धी वंश, पाकिस्तानमा भुट्टो , श्रीलंकामा बन्दरानाइके, म्यानमारमा सुकी, नेपालमा कोइराला परिवारले नै राजनीति चलाइरहेको देखिन्छ ।

नेपालको राजनीतिमा कुन हदसम्म राजवंश प्रवेश गरेको छ भनेर प्रायः सबै पार्टीहरूमा स्पष्ट देखिन्छ । अहिले आएर राजनीतिले व्यवसायको रूप लिएको छ । राजनीतिक परिवारका सन्तानहरू राजनीतिको क, ख, गसँग परिचित नभए पनि उनीहरू पार्टीको टिकट र ओहदालाई आफ्नो अधिकार मान्दछन् ।

केही सम्भ्रान्त परिवारको हातमा जब शक्ति हुन्छ, तब उनीहरूको नेतृत्वले उदार लोकतन्त्रको सार र अस्तित्वको उल्लङ्घन गर्दछ । वंशवादमा राजनीतिमा नेतृत्व गर्नेको योग्यताको प्रश्न गरिँदैन । उनीहरूका लागि वंश नै सबैभन्दा ठूलो योग्यता बन्छ । जब योग्यता नभएकाले नेतृत्व गर्छ, तब भ्रष्टाचार र खराब प्रशासनको जन्म हुन्छ ।

नेतृत्वले पार्टीलाई जब सही ढंगले अगाडि बढाउन सक्दैन तब देशलाई अस्थिरताको पथमा डोर्‍याउँछ।

परिवारका योग्य सदस्यहरू राजनीतिमा आउँदा वंशवादलाई नराम्रो भन्न मिल्दैन, तर समाजलाई नराम्रो तब हुन्छ जब योग्यता नभएका वंशका उत्तराधिकारीहरू लाई नै जनताले राजनीतिको मुकुट लगाएको हेर्न चाहन्छन् ।

यसको परिणाम जहिले पनि निर्दोष व्यक्ति जो वंशवाद नभए पनि वंशवाद राजनीतिक परिवारले चलाएको राजनीतिक दलको झुटो नाराहरूको शिकार हुन्छन् र सधैँ उनीहरू वंशवादी नेताहरूको दयामा जिउन बाध्य हुन्छन् ।

उनीहरूको राजनीतिक भविष्य जहिले पनि अन्धकार हुन्छ ।

नेपाली कांग्रेसको तुलनामा कम्युनिस्ट र अन्य पार्टीहरूमा वंशवादको प्रभाव कम छ । तर जोसँग छ त्यसले राजनीतिक दलहरूलाई पारिवारिक सम्पत्तिका रूपमा चलाइरहेका छ ।

सार्वजनिक सरोकारका कार्यकारणी पदमा नियुक्ति गर्दा भाइ-भतिजा, छोरा-छोरी, साला-साली, सम्धीलाई योग्यता नै नभए पनि प्राथमिकता दिने चलन नौलो छैन । कम्युनिस्ट पार्टीमा वंशवादभन्दा परिवारवाद बढी छ ।

प्रचण्डको परिवार र नातागोताका झन्डै १५ जना जतिले विभिन्न पदमा नियुक्ति पाएका छन् ।

वर्तमान संसद्मा झन्डै ३०% सांसद नाता पर्ने छन् । यसकै कारणले गर्दा योग्य र प्रतिभाशाली व्यक्तिहरूका लागि राजनीतिमा प्रवेश गर्न गाह्रो भइरहेको छ ।

राजनीतिक पार्टीलाई परिवारले पारिवारिक व्यवसायका रूपमा लिने गरेको प्रशस्त भेटिन्छ । यहाँ हुने गठबन्धनहरू नीति, विचारधाराका आधारमा नभएर राजनीतिक सुविधामा आधारित हुन्छन् ।

जब वंशवाद, परिवारवादले स्थान पाउँछ, तब मूल्य-मान्यता, विचारधारा र मुद्दामा आधारित राजनीति पछाडि पर्छ ।

सबै ठाउँमा आफ्नै वंश, परिवारको उपस्थितिका कारणले राजनीतिक भ्रष्टाचारको समस्यालाई अझ गहिराइमा पुर्‍याउँछ, जसले प्रजातन्त्रलाई कमजोर पार्दछ ।

वंशवादको राजनीतिले शुरूदेखि नै हाम्रो देशमा प्रभुत्व जमाएको छ । नेपाली कांग्रेसमा वास्तवमै आन्तरिक प्रजातान्त्रिक अभ्यास छैन । कहिले परिवारवाद छ भने कहिले गुट ।

कुनै समय केबल कोइराला परिवार र उनीहरूका नजिकका व्यक्तिहरूले मात्र पार्टी चलाउँथे र हरेक निर्णय लिन्थे ।

हुन त नेपाल एक प्रजातान्त्रिक देश हो तर दुर्भाग्यवश हाम्रो राजनीतिलाई व्यापक रूपमा वंशवाद र परिवारवादले जकडेको छ, जसका कारणले सक्षम उम्मेदवारहरूले न त चुनावमा टिकट पाउँछन्, पाए भने पनि उनीहरूलाई चुनाव जित्न कठिन हुन्छ ।

वंशवाद र परिवारवादले जहिले पनि नैतिक मूल्यमान्यता र मूल्यहरूलाई लत्याएर साम, दाम, दण्ड, भेदको प्रयोग गरेर सत्ताको बागडोर सम्हाल्ने प्रयास गर्दछ । वंशवाद र पारिवारिक राजनीतिले बाहिरबाट सक्षम दोस्रो पुस्ताको नेतृत्वको उदय हुन दिँदैन ।

असक्षमहरूको भीडको आफ्नै गुट हुन्छ र त्यस गुटले आफ्नै आसेपासेलाई मात्र पार्टीका सबै तहमा नियुक्ति दिने गर्छन् ।

for more article please visit More at https://lokaantar.com/story/129548/2021/1/4/rajniti

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button