Allसाहित्य

रगतको कथा

  • प्रीति कार्की

आफ्नो कुमारित्वको
रगतमा जबरजस्ती लतपतिएँ जुनदिन
त्यसै दिनदेखि तर्सन्छु-
हरेक रातो रगतसँग
लाग्छ, प्रत्येक रगतको
पीडा मेरै जस्तो हुँदो हो ।

रातो त पराक्रम जनाउने रङ
रङहरूको राजा
र पनि मलाई किन-किन
कहिल्यै मन परेन यो
किनकि
त्यही रातो रङको लेपन पोतेर
जन्मिएका थिए
मेरो कुमारित्व खोस्नेहरु पनि ।

रातो भएकै कसुरमा म घृणा गर्छु
आगोलाई पनि
भत्भती पोल्ने यसको धर्म
र, मैले पोलाइ खपेको त्यो समय
कहिल्यै भिन्न लागेन,
सँधै लागिरह्यो- कुमारी रगत ।

सायद बलिका लागि
पर्सिएका प्राणीका रगतका
कथा-व्यथा एउटै हुन्छन् !
र, ती रेटिन्छन्
पत्थरकी देवीलाई खुसी पार्ने
अन्धविस्वासको खुकुरीले
अनि बिटुल्याइन्छ- अर्की जीवित देवीलाई
कुमारीत्वको बलि लिएर !

मन एक तमासले कुँडिन्छ
सम्झेर केही थान
पुरुष नामक राक्षसहरू
जसलाई लागिरह्यो
भाले हुनु भनेको झम्टिन सक्ने हुनु हो
र, खनिनु हो निम्छरोमाथि
अनि गाइरह्यो एउटा युगले तिनैका
बहादुरीका गीत
र त आज पनि छोरी हुनुमा
पुर्पुरो समाउनेको जमात भेटिन्छ ।

मन कुँडिए पनि मगज क्रान्तिकारी
बनेको बेला पारेर
रगतै-रगतैको होली खेल्दा
मजा मान्नेहरूलाई
सुत्केरीको रगतमा लतपताएर
भन्न मन छ-
यही हो तिम्रो असली अस्तित्व !
रजस्वलाको रगतसमेत
नछाड्नेहरूलाई
सझाउन मन छ-
अपमानको बदलामा द्रौपदीले
माहाभारत रचेको कुरा ।

महसुस गरुन् तिनले रगतको पीडा
त्यसले दिएको आँसु
र, पुकार मिसिएको चीत्कार ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button