दमौली खबर संवाददाता
दमौली, असोज ८
तनहुँको एक व्यक्ति सामाजिक सुरक्षा भत्ता लिनु भएको छैन । भत्ता नलिनेमा तनहुँको भिमाद नगरपालिका–३ दरकाङ घर भई हाल सदरमुकाम दमौलीमा दैनिक ज्यालादारी गरेर जीवन यापन गर्ने ७९ वर्षिय देउबहादुर थापा हुनुहुन्छ ।
थापा आर्थिक रुपमा विपन्न भएपनि थापा मनको धनी हुनुहुन्छ । थापाले राज्यबाट जेष्ठ नागरिकको लागि पाउने सामाजिक सुरक्षा भत्ता लिनुहुन्न भने बचेको रकम दान दक्षिणा दिने गर्नुहुन्छ । देश गरीव भएकोले भत्ता लिन मन नलागेको थापाले बताउनुभयो । थापाले भन्नुभयो–जेष्ठ नागरिक भत्ता अहिलेसम्म आफुले नलिएको र काम गर्न सुकञ्जेल भत्ता लिन्न ।’’
उहाँ दमौलीमा एक्लै बस्नुहुन्छ । उहाँका सन्तान छैनन् । एक श्रीमति रोग लागेर वितेको त्यस पछि विहे गरेको श्रीमतीले दोस्रो विहे गरेकोले एक्लै जीवन काट्नु भएको हो । ज्यालादारीबाट दैनिक पाँच सय रुपियाँ आम्दानी हुने त्यसैबाट खर्च धानेको उहाँले बताउनुभयो । एक्लै बस्ने भएकोले ठुलो खर्च नभएको आफैले कमाएकोले खर्च धानेकाले राज्यबाट भत्ता लिन मन नलागेकोले भत्ताको लागि आवेदन नदिएको थापाले भन्नुभयो । उहाँका तीन भाई र दुई बैनी रहेका छन् । खर्च गरेको बचेको रकम पनि दान दक्षिण दिने गरेको उहाँ बताउनुहुन्छ । थापा भन्नुहुन्छ –मरेर लानु केही छैन, लिन नपरोस् दिन पाईयोस् ।’’ थापा विगत लामो समय देखि भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रमा घाँसका बिरुवा उत्पादनको लागि दैनिक ज्यालादारीमा काम गर्नुहुन्छ । सरकारबाट भत्ता लिनुस् बसी खाने उमेरमा आराम गर्नुस् भन्दा मान्नुहुन्न केन्द्रका प्राविधिक रुद्रसिंह ठकुरीले भन्नुभयो ।
सम्पन्न भएका नागरिकले पनि भत्ताको लोभ गर्ने गर्छन् तर उहाँमा राज्यबाट सुविधा लिन हुँदैन भन्ने भावाना रहेको पाएको ठकुरी बताउनुुहुन्छ । हाल रोग लागेर विरामी हुन नपरेको थापाले बताउनुभयो । काम गरेर पसिना बगाउने भएकोले मलाई रोगले आक्रमण गर्न नसकेको थापा बताउनुहुन्छ । मासिक ४ हजारको भत्ता लिनको बदलामा आठ दिन गर्न ठिक लागेको उहाँको भनाई छ । धनी मानिसहरुले समेत वृद्ध भत्ता लिईरहेको भएपनि थापाले वृद्ध भत्ता नलिएर नयाँ उदाहरण प्रस्तुत गर्नु भएको छ । तनहुँको म्याग्दे गाउँपालिकाले भत्ता नलिने जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम राखिएको भएपनि एक जना पनि त्यस्तो व्यक्ति नभएको पाईएको छ । सम्मान गर्ने कार्यक्रम राखेपनि निवेद नदिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताउनुभयो ।