समाचारबन्दीपुरAll

बन्दीपुरमा प्रहरीद्धारा नरभक्षी चितुवालाई गोली हानी मारियो

दमौली खबर संवाददाता
दमौली, मंसिर २१ ।  खोजी गरेको लामो समय पछि तनहुँ प्रहरी नरभक्षी चितुवालाई मार्न सफल भएको छ ।
तनहुँको बन्दीपुर गाउँपालिका–२ पार्चेमा नरभक्षी चितुवालाई गोली हानी मार्न प्रहरी सफल भएको हो  । प्रहरी नायब निरीक्षक रामशरण रानाको  कमाण्डमा खटिएको टोलीले गोली हानी चितुवा मारिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।
करीव ५० किलो तौल भएको चितुवामाथि दुई राउण्ड गोली प्रहार गरी मारिएको उहाँले जानकारी दिनुभयो । सोमबार साँझ मरेको चितुवालाई डिभिजन वन कार्यालय तनहुँमा बुझाईएको छ ।
निरन्तर रुपमा तनहुँमा आतङ्क मच्चाईरहेको नरभंक्षी चितुवा मार्न कात्तिक १६ गते  जिल्ला प्रशासन कार्यालयले आदेश दिएको थियो । प्रशासनले  स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम नरभंक्षी चितुवा मार्न शसस्त्र प्रहरी र जनपथ प्रहरीलाई आदेश दिएपछि चितुुवाको खोजी गरिएको थियो । व्यास नगरपालिका, बन्दिपुर गाउँपालिकाका साथै स्थानीय व्यक्तिहरुले नरभंक्षी चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुनथालेपछि उक्त चितुवा मार्नुपर्ने भनि प्रतिवेदन उपलब्ध गराएपछि स्थानीय प्रशासनले सो चितुवा मार्न निर्देशन दिएको हो ।
 चितुवाले कात्तिक ४ गते बन्दिपुर गाउँपालिका–३ की ११ वर्षीया बालिका, कात्तिक १५ गते व्यास नगरपालिका–१२ छिर्कनेका ८ वर्षीय बालकलाई आक्रमण गर्दा मृत्यु भएको थियो । तनहुँले बन्दिपुर गाउँपालिकाको वडा नं. १, ३, ४ र ५ मा तथा व्यास नगरपालिकाको वडा नं. ११ र १२ मा गरी चितुवाको आक्रमणबाट ८ जना सङ्ख्य घाइते र ५ जना बालबालिकाको मृत्यु भएकोले मार्ने आदेश दिईएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले  जानकारी दिनुभयो ।  मानिस तथा घरेलु पशु चौपायाहरु माथि बारम्बार आक्रमण हुने स्थिति विद्यमान भएकाले उक्त त्रासदीपूर्ण वातावरणको अन्त्य गरी स्थानीय बासिन्दालाई जीउज्यानको सुरक्षाको अनुभूति दिन आवश्यक देखिएको सन्दर्भमा सो हिंस्रक नरभंक्षी चितुवालाई मारी मृत चितुवा डिभिजन वन कार्यालय तनहुँमा बुझाई दिनुहुन स्थानीय प्रशासन ऐन २०२८ को दफा ९(४) बमोजिम अनुरोध गरिएको थियो  । विगत पाँच वर्षदेखि तनहुँमा वन्यजन्तु चितुवा र मानव बीच द्वन्द्व बढ्दै गएको छ । यो अबधिमा भानु नगरपालिका, आँवुखैरेनी गाउँपालिका, बन्दिपुर गाउँपालिका, व्यास नगरपालिका र शुक्लागण्डकी नगरपालिकामा गरी १४ जना बालबालिका चितुवाको आक्रमण परी ज्यान गुमाएका छन भने दर्जन भन्दा बढी बालिबलिका घाइते भएका छन् । नरभक्षी चितुवा मारिएपछि स्थानीय वासिन्दाले राहतको महशुस गरेको बन्दीपुर गाउँपालिकाका प्रवक्त शिवकुमार श्रेष्ठ बताउनुहुन्छ । सो क्षेत्रमा अन्य पनि नरभक्षी चितुवा भएको आशंका भएकोले स्थानीय वासिन्दा ढुक्क भने हुन नसकेको प्रवत्ता श्रेष्ठ बताउनुहुन्छ ।
Show More

Related Articles

Back to top button