समाचार

प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्तीनै विकासको वाधक रहेको राष्ट्रपति पौडेलको भनाई

दमौली खबर संवाददाता

तनहुँ, वैशाख ३ गते

राष्ट्रपति रामचन्द्र पौडेलले झन्झटिलो प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरता नै विकासको वाधक भएको बताउनुभएको छ ।

तनहुँको म्याग्दे गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवनको सोमबार समुदघाटन गर्दै उहाँले झन्झटिलो प्रशासनिक प्रक्रिया, भ्रष्टाचार, ढिलासुस्ती र राजनीतिक अस्थिरता नै विकासको वाधक हो भन्नुभयो । “सुशासन र सुदृढ व्यवस्थापनका माध्यमबाट यसको चिरफार र शल्यक्रिया गरी व्यवस्था फेरिएपनि अवस्था फेरिएन भन्नेहरूका लागि एकातिर विकासको गतिलााई तीव्रता दिनुछ भने अर्कातिर जनताको बलिदान र संघर्षबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र बलियो बनाउनु हाम्रो साझा दायित्व बनेको छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । स्थानीय सरकार र जनप्रतिनिधि जति जनतामुखी, लोककल्याणकारी, जनउत्तरदायी हुन्छन अनि स्थानीय जनताको आकांक्षा र आवश्यकता पूरा गर्न सक्षम हुन्छन त्यति नै हाम्रो शासन व्यवस्थाले परिकल्पना गरेको लक्ष्य साकार हुने विश्वास व्यक्त गर्नुभएको छ ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको महत्वपूर्ण संरचना र आधारस्तम्भका रुपमा रहेका स्थानीय तहहरू हाम्रो जनताका आकांक्षा पुरा गर्ने सरकार अर्थात सिंहदरबार हुन् भन्दै उहाँले विगतमा सिंहरबारमा केन्द्रीकृत शासनप्रणालीलाई विकेन्द्रीत गरी जनताको घरदैलोमा सेवा सुविधा दिने र जनताका दैनिक कार्यसम्पादनलाई सहज, सरल र प्रभावकारी ढंगले पूरा गर्ने स्थानीय निकाय हाम्रो शासन प्रणालीको एउटा बलियो आधार भएको स्पष्ट गर्नुभयो ।

हामीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्दा स्वीट्जरल्याण्डकोजस्तो ‘स्वशासन’ र गान्धीले कल्पना गरेजस्तो ‘स्वराज’ को सोच अगाडि राखेर नयाँं राज्य संरचना तर्जुमा गरेको उहाँको भनाइ थियो । “ आज ती सोचहरूले कति साकार रूप लिन गैरहेका छन् र लिनसक्ने हुन् भन्ने कुरा अधिकार प्रत्यायोजनका क्रममा केन्द्रीय सरकारको उदारता एवं लचकता र स्थानीय सरकारको ग्रहणशीलता तथा क्षमतामा बढी निर्भर रहन्छ भनेर म सबैलाई सुझाउन चाहन्छु”, उहाँले भन्नुभयो । कृषि, पर्यटन र उर्जा नै हाम्रो मुलुकको विकासको आधार हो, त्यसको लागि श्रमको सम्मान गर्ने संस्कृतिको विकासमा उहाँले जोड दिनुभयो । “उर्वर कृषिभूमि, हरिया फाँट र मनोरम हिमाली सुन्दर दृश्य देखिने यो गाउँपालिका कृषि र पर्यटन क्षेत्रबाट प्रशस्त लाभ लिन सक्ने सम्भावना रहेको छ, कृषि र पर्यटनबाट नै यस क्षेत्रको आर्थिक विकासको ढोका खोल्नेछ भन्ने मैले विश्वास लिएको छु”, उहाँले भन्नुभयो । यो गाउँपालिका प्रकृतिको सुन्दर उपहार हो भन्दै उहाँले प्रकृतिको वरदान नै पाएजस्तो यहाँको भूवनोट मैदान, खोलानाला, फाँट र पाखापखेरा अनि यहाँका सरल सहृदयी र स्वभामानी वासिन्दाले यसको विशिष्ट पहिचानलाई उजागर गरेको अनुभूति हुन्छ भन्नुभयो ।

“आहा ! यहाँको सुन्दरता सिमलीका वारले पनि डोरयाइने, गुणादी र म्याग्देजस्ता नदीनाला, असीम उर्वराशक्ति बोकेको शस्य श्यामला धरा, वर–पर सुन्तलापुर भन्न मिल्ने डाँडाकाँडा”, उहाँले भन्नुभयो । अकलादेवी र किलचोक भगवतीलगायतका देवीदेउताका मन्दिरले यहाँको धार्मिक महिमालाई बढाएको, फराकिलो र स्तरोन्तति हुँदै गरेको पृथ्वीराजमार्ग र सेती जलाशयले औल्याएको यसको उज्यालो भविष्य हाम्रा लागि आशा र प्रगतिको परिचायक भएको बताउँदै राष्ट्रपति पौडेलले समृद्ध र समुन्नत म्याग्दे बनाउने गुरुत्तर जिम्मेवारीलाई यहाँका जनप्रतिनिधि, कर्मचारी र गाउँवासीले सहकार्य गरेर पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा गण्डकी प्रदेशका मूख्यमन्त्री खगराज अधिकारीले पृथ्वीराजमार्गको विस्तारको कामलाई तिब्र रुपमा गरी जनतालाई हिलो, धुँवा र धुलोको सास्तीलाई अन्त्य गर्न ताकेता गरिहेको बताउनुभयो ।

कार्यक्रममा पूर्वमन्त्री तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले स्विकृत भएका विकासका काममा समयमा बजेट निकास गर्नु भएको र निर्धारित समयमा सम्पन्न गर्न सबैले ध्यान दिन आवश्यक रहेको बताउनुभयो । म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जनप्रतिनिधी, पूर्वजनप्रतिनिधी तथा स्थानीय बासिन्दाको सहयोगले गर्दा भवन बनाउन सफलता मिलेको बताउनुभयो ।

Show More

Related Articles

Back to top button