दमौली खबर संवाददाता
तनहुँ, साउन २९ गते
मुग्लिन–पोखरा सडक सुधार आयोजना कार्य कछुवा गतिमा हुँदा पर्यटन व्यवसायीहरु मारमा परेको गुनासो व्यवसायीले गरेका छन् । तनहुँको दमौलीमा आईतबार पोखरा पर्यटन परिषदले गरेको पत्रकार भेटघाट कार्यक्रममा सो गुनासो गरेका हुन् । स्तरोन्नती कार्यलाई तिव्रता प्रदान गरी समयमै काम सम्पन्न गर्नु पर्ने माग पर्यटन व्यवसायीले गरेका छन् ।
एशियाली विकास बैंकको आर्थिक सहयोगमा मुग्लिन–पोखरा सडक सुधार आयोजना अन्तर्गत नेपालका दुई ठूला शहर– काठमाडौं र पोखरा जोड्ने पृथ्वी राजमार्ग अन्तर्गतको उक्त खण्डलाई कम्तिमा चार लेनको बनाउने कार्य निकै महत्वपूर्ण र सराहनीय भएपनि ढिलो हुँदा असर परेको परिषदले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले पोखरा पर्यटन परिषद् लगायत समग्र पर्यटन क्षेत्रका लागि सडक विस्तार हुनु हर्षको कुरा भएकोले उच्च प्रशंसा गरिएको तर निर्माण पक्षबाट भएको सुस्त र अव्यवस्थित विस्तारकार्यबाट सेवाग्राहीले थुप्रै कठिनाई र झण्जटहरु भोग्दै आउनु परेको बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘‘छोटो दूरीको यात्राका लागि लामो समय खर्चनुपर्ने, दिक्क लाग्दो र कष्टपूर्ण यात्रा, विरामी र अशक्त यात्रुका लागि थप जोखिम तथा हैरानीको अवस्था सिर्जना हुन पुगेको छ ।’’ काम सुस्त गतिमा काम अगाडि बढ्दा लामो समयसम्म सडक वरपरका वासिन्दाले धुलो, धुँवा र ध्वनी प्रदूषणको समस्याबाट गुज्रदै स्वास्थ्य जोखिमको सामाना गर्नु पर्ने अवस्था सिर्जना भएको परिषदले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार मानिएको पर्यटन र उद्योग वाणिज्य क्षेत्रले समेत सुस्त र अव्यवस्थित निर्माण कार्यबाट प्रत्यक्ष प्रभावित हुनु परेको उल्लेख गरिएको छ । काठमाडौं वा नारायणगढ हुँदै पोखरासम्म यात्रा गर्न चाहने पर्यटकले सिङगो दिन खर्चनुपर्ने अवस्था सिर्जना भएको परिषदले जनाएको छ । काठमाडौं–पोखराविचको पाँच देखि छ घण्टा लामो बसयात्राका लागि अहिले १२ घण्टा सम्म लाग्ने गरेको पत्रकार सम्मेलनमा जनाईएको थियो । यसबाट पोखरा र वरपरको पर्यटनमा नकारात्मक प्रभाव परेको छ, निजी क्षेत्रले विक्रीयोग्य बस्तु, अन्य उत्पादन र कच्चा पदार्थ ढुवानीमा लामो समय खर्चनु परेको पत्रकार समक्ष बताईएको थियो । भुकम्प र नाकाबन्दीपछि कोभिड – १९ को मार खेपेको पर्यटन र उद्योग वाणिज्य क्षेत्रका लागि पहुँचमार्गको यो अवरोध अर्को अभिसाप बन्न पुगेको परिषदले जनाएको छ । कार्यक्रममा जनप्रतिनिधीहरुले तोकिएको समयमा नै पुरा गर्न तोकेता गरिरहेको बताउनु भएको थियो । व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपाने, शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डित, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र थापा आफ्नो पालिकाका जनताले कुनै अवरोध नगरेको र गौरव आयोजना भएकोले अप्ठ्यारो सिर्जना नर्गन भनिएको साथै बारम्बार फोन गरेर काम द्रुत गतिमा गर्न आग्रह गरिएको भएपनि सुनुवाई नभएको गुनासो गर्नु भएको थियो । जनप्रतिनिधीले आफ्नो तर्फबाट काम छिटो गर्न पहल कदमी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो ।
खबौं रुपैयाँको लगानी रहेको पोखरा क्षेत्रको पर्यटनका लागि यो सुखद पक्ष नभएको परिषदका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । औपचारिक रुपमै नेपालको पर्यटकीय राजधानी घोषणा हुन लागेको पोखराका लागि त यो झनै नकारात्मक अवस्था भएको उहाँले बताउनुभयो । सडक विस्तार कार्य सुरु भएको यतिका समय गुज्रदा पनि निकै कम प्रतिशत मात्र प्रगति हुनु निरासजनक र दुःखद पक्ष भएको गुनासो श्रेष्ठले गर्नुभयो । यो विषयमा परिषद्ले विगतमा प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री, पर्यटन मन्त्री, गण्डकी प्रदेश सरकारका प्रमुख तथा मुख्यमन्त्री र मन्त्रीहरुको ध्यानाकर्षण गराइसकेको परिषदले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो ।
सडक विस्तारको शैलीलाई परिवर्तन गरी सडकको एक किनारतर्फ काम गर्ने र अर्कोतर्फबाट सवारीसाधनको सहज आवतजावतको वातावरण सिर्जना गर्न सके सेवाग्राहीलाई सहज वातावरण सिर्जना हुने परिषदले पत्रकार सम्मेलनमा सुझाव दिएको छ । विभिन्न सिफ्टमा काम गर्ने गरी राति र दिनमा उत्तिकै शीघ्र गतिमा काम अगाडि बढाउन जरुरी रहेको सडक अवलोकनका क्रममा महसुस गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ं । संभव भएका ठाउँमा वैकल्पिक मार्ग र डाइभर्सनहरुको व्यवस्था गरी यात्रालाई सहज र छिटो बनाउन सके भनै उत्तम उहाँले बताउनुभयो । सडक विस्तार कार्यलाई व्यवस्थित र तीव्र रुपमा अगाडि बढाउन सरकार, निर्माण पक्ष र सम्बन्धित निकायको गंभीर ध्यानाकर्षण गराउन परिषदले माग गरेको छ ।
राजमार्गको पश्चिमखण्डको काम सम्झौता भएको आधा समय वितिसक्दा आठ दशमलव १५ प्रतिशत मात्रै काम पुरा भएको छ । पूर्वि खण्डको काम भने सन्तोष जनक छ । जुन रुपमा सम्पन्न हुनु पर्ने हो सो अनुसारको सम्पन्न नभएपनि पूर्वीखण्डमा ३२ दशमलव ५ प्रतिशत काम पुरा भएको आयोजनाले जनाएको छ ।
काम कछुवा गतिमा हुँदा यात्रु र राजमार्ग आसपासका बासिन्दाहरूले हिलो र धुलोको सास्ती पाइरहेका छन् । ट्राफिक जामको समस्या झेलिरहेका छन् भने धुलो गर्दा ग्राहक नआउँदा राजमार्गका व्यापारी पेशा नै छाड्न पर्ने अवस्था आएको छ । सीमित कामदारले सुस्तगतिमा काम गर्दा सडक विस्तारले गति लिन नसकेको देखिन्छ । पश्चिम खण्डमा पर्ने तनहुँको जामुनेदेखि कास्कीको पोखरा सम्मको काम २०८१ सालको भदौसम्ममा सकिनुपर्छ तर आधा समयमा आठ दशमलव १५ प प्रतिशत मात्रै पुरा भएको छ । निर्माण कम्पनीले चाहिँदो जनशक्ति र स्रोत परिचालन नगर्दा प्रगति असाध्यै कम भइरहेको पश्चिम खण्डका आयोजना प्रमुख अमृत श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो,‘‘सुस्त गतिमा काम भएकोले हाल सम्म आठ दशमव २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ ।’’ ठेकेदारलाई समयमा नै काम पुरा गर्न बारम्बार ताकेता गर्ने र पत्र लेखिरहेका छौं तर पनि सन्तोष जनक प्रगति नभएको उहाँले बताउनुभयो । निर्माण कम्पनीलाई त्रुटी सच्याउन मौका दिइने र त्यसपछि पनि यस्तै अवस्था रहे ठेक्का खारेजसम्मको अवस्थामा पुग्नुपर्ने आयोजना प्रमुख श्रेष्ठ बताउनुहुन्छ । बिजुलीको पोल सार्ने, खानेपानीको पाइप सार्ने लगायतका काममा भइरहेको ढिलाइले पनि असर गरेको उहाँले जानकारी दिनुभयो ।
पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस खण्डको म्याद विसं २०८१ भदौसम्म छ । विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ । पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरी क्षेत्र बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौंडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । सडकलाई विस्तार गरी सहरी क्षेत्रमा सर्भिसलेन सहित चार लेन र अन्यत्र चार लेनमा विस्तार गरिने सम्झौतामा उल्लेख छ
चार लेन मध्ये पहिलो चरणमा दुईलेनको कालोपत्रे सुरु गरिएको पोखरा–मुग्लिन सडक योजना (पूर्वी खण्ड)का प्रमुख नरेन्द्र सुवेदीले जानकारी दिनुभयो । पूर्वि खण्ड ३१ दशमवल पाँच प्रतिशत काम पुरा भएको सुवेदीले बताउनुभयो । सुवेदीका अनुसार हालसम्म दुई किलो मिटर कालोपत्रे गरिएको छ । यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने , तथा खाल्टोहरु पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माण तथा विजुलीको पोल सार्ने काम भइरहेको जानकारी सुवेदीले दिनुभयो ।
सुवेदीले भन्नुभयो,‘‘निर्धारित समयमा पुरा गर्ने गरी कामलाई तीव्र पारेका छौ । ं’’ पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।