दमौली खबर संवाददाता
दमौली, असोज ७
तनहुँको सदरमुकाम दमौलीमा सुविधा सम्पन्न सभाहल निर्माण पुरा भएको छ । सभाहल निर्माण भएसँगै जिल्लाा बासीलाई सभा, गोष्ठी, सेमिनार गर्न सहज हुने भएको छ ।
सभाहलको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नुभयो । सो अवसरमा पौडेलले राजनीतिमा हात नहाल्ने तर विकासबाट हात नझिक्ने बताउनुभयो ।
साथै उहाँले राजनीतिक व्यवस्था बदलिएपनि जनताको अवस्था नबलिएको उल्लेख गर्दै राष्ट्रपति पौडेलले सबै दल मिलेर विकासको लागि एकजुट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशका प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ मुख्यमन्त्री सुरेन्द्र पाण्डे, प्रतिनिधी सभा सदस्यहरु शङ्कर भण्डारी, प्रदीप पौडेल, डा.स्वर्णिम वाग्ले, राष्ट्रिय सभा सदस्यद्धय प्रकाश पन्थ, भगवती न्यौपाने लगायतले विकासको लागि सबै मिलेर हातेमालो गरेर एकताबद्ध हुुन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो । कार्यक्रम संघीय सरकारको शहरी विकास मन्त्री सीता गुरुङको अध्यक्षतामा भएको थियो ।
सभा हल सङ्घीय सरकारको शहरी विकास मन्त्रालयको सहयोगमा २३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रुपियाँ लागतमा श्री डाँफे एमए प्रतिष्ठा जेभि काठमाडौंद्वारा निर्माण गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । यस अघि राष्ट्रपति पौडेलले व्यास नगरपालिका–३ स्थित बीपी पार्कको उद्घाटन गर्नुका साथै बेलको बृक्षामा जल सिंचन गर्नु भएको थियो । राष्ट्रपतिले उद्घाटन गर्नु भएको बीपी पार्क र बीपीको सालिक गण्डकी प्रदेश सरकारको १० लाख र पाँच लाख रुपियाँ विभिन्न सङ्घसस्था तथा व्यक्तिहरुबाट चन्दा सङ्कलन गरी निर्माण गरिएको पार्क संरक्षण समितिका अध्यक्ष सूर्यचन्द्र हड्खलेले जानकारी दिनुभयो । सालिक अनावरण कार्यक्रम गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आलेले स्वागत मन्तव्य दिनुभएको थियो ।
२०३६ साल असोज ६ गते यही ठाउँमा रहेको बेलचौतारीबाट पहिलोपटक बिपीले यस्तो उद्गार गर्नु भएको थियो –‘‘सबै नेपाली मै सरह’’ भन्दै म चाहन्छु, सबै नेपालीको एउटा बस्ने घर होस्, एउटा दुहुनो गाई होस्, बिहान र बेलुका खान पुगोस्, केटाकेटीलाई पढाउन सकुन् र बिरामी पर्दा ओखतीमूलो गर्ने सामथ्र्य होस् ।’’ गृह जिल्ला भ्रमणको क्रममा शुरुमा राष्ट्रपति पौडेलले आफ्नो जन्म गाउँ नजिकै भानु नगरपालिका–१३ मिर्लुङ स्थित भयरस्थान देवता मन्दिरको पूजाअर्चना गर्नु भएको थियो ।