समाचार

छिम्केश्वरीमा विकासको लहर

‘पहिला यसरी विकास हुन्थेन्, अहिले विकासको लहरै आएको छ ।’ स्थानिय ७७ वर्षीया सरिता गुरुङले विगतलाई सम्झीदै भनिन् ।‘पहिला बजारमा सामान किन्न जान एक दिन नै लाग्थो, अहिले त तीन घण्टामै आँबुखैरेनी बजारबाट सामान लिएर आउन सकिन्छ । ’ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा रहेको छिम्केश्वरी पुग्न अझै पनि कच्ची सडक खण्ड रहेको छ । छिम्केश्वरीको लाब्दी सम्म कच्ची सडक खण्डले रहेको छ । कच्ची सडक खण्ड हुनाले जिप र मोटरसाईकल बाहेक अन्य सवारी साधन सहज रुपले जान सक्दैन । वर्षायाम त हिलो हुन्छ भने अन्य समयमा धुलो उड्छ । जस्ले गर्दा स्थानियले र पर्यटनले सास्ती भोगिरहेका छन् । यही सास्ती अन्त्य गर्न गण्डकी प्रदेश सरकारले आँबुखैरेनी बजारदेखि छिम्केश्वरीको लाब्दीसम्मको सडकमा पिच गरिने भएको छ । महाभारत पर्वतीय श्रृङ्खलाको सबैभन्दा उचाइमा रहेको छिम्केश्वरी मन्दिरसम्म पुग्न प्रदेश सरकारको रु ३० करोडको लागतमा नयाँ ट्रयाक खोलेर पिच गर्ने कार्यलाई अगाडी बढाईएको छ ।

बहुवर्षीय योजनाअन्तर्गत तीन वर्षमा काम सम्पन्न गर्ने प्रदेश सरकारले उक्त सडक निर्माणका लागि गत वर्षमा रु ५३ करोड विनियोजन गरे पनि ठेक्का प्रक्रियामार्फत काठमाडौँस्थित शर्मा एण्ड काष्ठमण्डप जेभीले रु ३० करोडको लागतमा ठेक्का पाएको थियो । उक्त सडकको १६ किलोमिटर खण्ड तीन वर्षमा कालोपत्र सम्पन्न गरी हस्तान्तरण गरिसक्नुपर्ने सम्झौता रहेको छ । उक्त खण्डमा ४.२५ मिटर चौडाइ कालोपत्र र एक मिटर नालासहित सात मिटर चौडाइको सडक रहने भएको छ । आँबुखैरेनी गाउँपालिका–४ का वडाध्यक्ष पूर्णबहादुर आलेले छिम्केश्वरी सडक सञ्जालले जोडिएपछि त्यहाँस्थित मन्दिर दर्शन गर्न जाने भक्तजनको सङ्ख्यामा उल्लेख्य वृद्धि हुने अनुमान गरिएको बताए । “अहिले पनि पैदलयात्रामार्फत थुप्रै भक्तजन छिम्केश्वरी मन्दिर पुग्ने गरेका छन्, सडक सञ्जाल भएपछि थप भक्तजनको आगमन बढ्ने विश्वास छ”, उनले भने । गाउँपालिकाले लाब्दीदेखि केही माथिसम्म गत वर्षनै बाटासमेत विस्तार गरेको छ । सवारी साधनको अन्तिम विन्दुदेखि करीब २५ मिनेटको पैदलयात्रामा छिम्केश्वरी मन्दिर पुग्न सकिन्छ । यस अगाडि बाटो विस्तार नहुँदा करीब दुइ घण्टाको पैदलयात्रापछि मन्दिरसम्म पुगिन्थ्यो ।

छिम्केश्वरी मन्दिर जाने बाटोमा गत वर्षप्रदेश सरकारको सहयोगमा ५०० मिटर पैदलमार्ग निर्माण गरिएको छ । ४० लाख रुपैयाँको लागतमा मन्दिरसम्म पुग्नका लागि ढुङ्गा छापेर पैदलमार्ग निर्माण गरिएको छ भने बाटोमा फलामको रेलिङमा पनि राखिएको छ ।आँबुखैरेनी गाउँपालिकाले छिम्केश्वरी मन्दिरको पुनःनिर्माण पनि शुरु गरिसकेको छ । सडक नपुगेका कारण मानिसले बोकेरै निर्माण सामग्री छिम्केश्वरी पुर्याएका थिए । जसकारणले निर्माण कारणमा ढिलाई भएको थियो । तीन वर्ष्भिभत्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको मन्दिरको पुनःनिर्माणका लागि रु ८० लाख भन्दा बढी लाग्ने अनुमान गरिएको छ । मन्दिरको धार्मिक महत्वलाई प्रचारप्रसार गरी आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न आवश्यक रहेको गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापाले जानकारी दिए ।  गाउँपालिकाले मन्दिर पुनःनिर्माणका लागि गत वर्ष रु २० लाख विनियोजन गरेको थियो । यस वर्ष पनि गाँउपालिकाले १५ लाख रकम विनियोजन गरेको छ । आँबुखैरेनी गाउँपालिका ५ लाब्दीमा शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले मन्दिरको पुनर्निर्माणका लागि थप रु १५ लाख बजेट बजेट विनियोजन गरेको हो । त्यस्तै कार्यपालिका बैठकबारे जानकारी दिदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरलले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस वर्ष गाउँपालिकामा सूचिकृत ५४१ जना बेरोजगारहरुलाई रोजगार उपलब्ध गराउन न्युनतम १० लाख देखि १८ लाखसम्मका विभिन्न योजनाहरु छनौट गरिएको पनि बताए । यस्तै बैठकले गाउँपालिकाको नयाँ बनिरहेको प्रशासकिय भवन आसपास रहेका अव्यवस्थित बसाईका घरहरुलाई केहि क्षतिपुर्ती सहित व्यवस्थापन गर्ने भएको छ भने सुरक्षित आवास कार्यक्रम अन्तर्गत गाउँपालिका भित्र खरको छाना भएका १ सय ९२ घरधुरीलाई जस्तापाता सहितको नयाँ आवास निर्माण गरिदिने भएको छ।

समुद्री सतह देखि करिब २ हजार १ सय ३४ मिटर उचाईमा रहेको छिम्कालेक तनहुँ जिल्ला कै अग्लो डाडाँ मात्र नभै महाभारतीय पर्वतीय श्रृङ्खलाको पनि सबैभन्दा अग्लो पहाड हो। यहि डाडाँ छिम्केश्वरी माईको मन्दिर रहेको छ। प्रायः सधैं बादलको घुम्टो ओढिरहने छिम्केश्वरी महाभारत शृंखलाको सबैभन्दा अग्लो पहाड रुपमा चिनिन्छ । छिम्केश्वरीबाट उत्तरतर्फ मनोरम हिमालका दृश्य देखिनुका साथै काठमाडौँ, पोखरा, तराईका फाँट र भारतका केही भागसमेत देख्न सकिने छ । छिम्केश्वरी, मनकामना, अकला, थानीको थान, ढोरबाराही, गोरखाकालिका र छाब्दीबाराही ६ जना दिदीबहिनी मानिन्छ । अरु दिदीबहिनीले सुँगुरको बलि खाएकाले छिम्केश्वरी रिसाएर ढाड उल्टा फर्काएर बसेकी हुन् भन्ने किंवदन्ती रहेको मन्दिरका पुजारी धनबहादुर गुरुङले बताए । प्रदेश सरकारद्वारा प्रस्तावित प्रदेशको ११० वटा पर्यटकीय गन्तव्यस्थलमध्ये छिम्केश्वरी मन्दिर एक हो । छिम्केश्वरी माईको मन्दिर समुद्र सतहबाट करिब २ हजार १ सय ३४ मिटर उचाइमा पर्छ ।

Show More

Related Articles

Back to top button