हेडलाईनसमाचारशिक्षा

शैक्षिक सत्र सुरु हुनु अघि नै तनहुँमा पाठ्यपुस्तक भित्रिए

दमौली खबर संवाददाता

नयाँ शैक्षिक सत्र सुरु नहुँदै तनहुँमा पर्याप्त मात्रामा पाठ्यपुस्तक भित्रिएको छ । पाठ्यपुस्तक भित्रिएसँगै विगतमा शैक्षिक सत्र सुरु भइसक्दा पनि पाठ्यपुस्तक अभावमा खाली झोला बोकेर विद्यालय जान बाध्य बालबालिका यसपटक भने विद्यालय खुल्नासाथ झोलाभरि पाठ्यपुस्तक बोकेर जान पाउने भएका छन् ।

नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ तनहुँले सामुदायिक विद्यालयलाई आवश्यक पर्ने पाठ्यपुस्तक बिक्री–वितरण थालेको छ । विगतका नेपाली र अङ्ग्रेजी माध्यमका किताव प्रशस्त रुपमा नपाईरहेको अवस्थामा यसपटक पर्याप्त मात्रामा पुस्तक आएको नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ तनहुँका अध्यक्ष रामचन्द्र सापकोटाले बताउनुभयो ।

अध्यक्ष सापकोटाले तनहुँबाट सबै व्यवसायीहरु जनक शिक्षा सामग्री केन्द्रमा गएर माग गरिएको चाहिएको र माग गरेको सङ्ख्या बराबर पुस्तकहरु उपलब्ध भएको छ । अध्यक्ष सापकोटाले भन्नुभयो, ‘हामीले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई आवश्यक सरकारी पाठ्यपुस्तक जिल्लामा ल्याइसकेका छौँ यसपटक अभाव हुँदैन ।’ विद्यार्थीको अनुमानित सङ्ख्याका आधारमा पुस्तक ल्याईएको महासङ्घले जनाएको छ । महासङ्घ अनुसार अपुग भएर सम्बन्धित विद्यालयबाट माग भएमा थप पाठ्यपुस्तकसमेत ल्याउने प्रबन्ध मिलाईएकोले यो वर्ष जिल्लामा वैशाख १ गतेभित्रमा विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने भएको छ ।

यो वर्ष महासङ्घमा आबद्ध जिल्लाका करीव ७० जना व्यवसायीले करीव १५ देखि २० लाख लगानी गरेर कक्षा १ देखि १० सम्मको माग अनुसार पुरै पुस्तक ल्याईएको केन्द्रीय कोषाध्यक्ष ताराराम श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार निजी विद्यालयको भने ८० प्रतिशत पाठ्यपुस्तक आईपुगेको छ । विगतका वर्षमा शैक्षिक सत्र सुरु भएको महिनौँ बितिसक्दा पनि विद्यालयमा पुस्तक अभाव हुने गरेको थियो तर आगामी शैक्षिक सत्र ०८१ का लागि सरकारी पाठ्यपुस्तक अभाव नहुने कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो । तनहुँमा पाँच सय ५१ सामुदायिक र एक सय १९ निजी विद्यालय छन् ।

Show More

Related Articles

Back to top button