दमौलीमा घर भत्काउन ढिलोहुँदा पृथ्वीराजमार्ग विस्तारमा बाधा व्यास नगरपालिकाद्धारा सडक सिमा भित्रको संरचना हटाउन आग्रह
दमौली खबर संवाददाता
पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा खण्डको काम तनहुँको सदरमुकाम दमौलीमा राजमार्गको क्षेत्रधिकार भित्र रहेको घरभत्काउन ढिलाई हुँदा प्रभावित भएको छ । राजमार्गको अन्यन्त्र काम धमाधम भईरहेपनि दमौलीमा सडक विस्तार हुन सकेको छ । यसले गर्दा दमौली धुलो उडेर प्रदुषण फैलिरहेको छन् यात्रुले सहज रुपमा यात्रा गर्न पाएका छैनन् ।
अधिकांशले घर भत्काउन आलटाल गरेपछि सोमबार व्यास नगरपालिकाले चासो व्यक्त गर्दै प्रेस विज्ञप्ति प्रकाशित गरी तुरुन्त घर भत्काएर निर्धारित समयमा काम पुरा गर्न सहयोग गर्न आग्रह गरेको छ । व्यास नगरपालिका प्रमुख वैकुण्ठ न्यौपानेलेद्धारा जारी विज्ञप्तिमा संरचना हटाउन ढिलाइ भएको प्रति नगरपालिकाको ध्यान आकर्षण भएको जनाईएको छ । सडक विस्तार अभियानमा सडक अधिकार क्षेत्रभित्रका संरचना हटाउन आयोजनाको तर्फबाट क्षतिपूर्ती समेत उपलब्ध गराईएको छ ।
दमौली बजार अन्तर्गत वडा नं.२ र ४ का केही घरहरुले सडक अधिकार क्षेत्रका संरचनाहरु हटाई सहयोग पुयाउनु भएकोमा त्यस्ता घरधनी सामाजिक संघ÷संस्थालाई हार्दिक धन्यवाद ज्ञापन गरिएको छ । साथै अझै केही घरधनीहरु सम्पर्कमा नआएका, केही घरधनीहरुले मुआब्जाको पहिलो किस्ता बुझेर पनि संरचना हटाउन ढिलाइ गर्नु भएको प्रति नगरपालिकाको ध्यान आकर्षण भएको जनाईएको छ । अब केही महिना पछि बर्षा लाग्ने भएकाले सडक निर्माण कार्यलाई तिब्रता दिई शहरको सौन्दर्यता र धुलोले वातावरणमा पु¥याएको असरलाई कम गर्न सबै सरोकारवाला घरधनीहरुलाई २०८० चैत्र महिनाभित्रै आयोजनामा सम्पर्क राखी आ–आफ्नो मुआब्जा रकम बुझ्न तत्काल सडक क्षेत्रका घर संरचना हटाई सडक विस्तार, विद्युत पोल स्नानान्तरण कार्यमा सहयोग गर्न आग्रह गरिएको छ ।
यस कार्यको लागि सहजीकरण गरिदिनु हुन सामाजिक संघ-संस्था, राजनैतिक दल, सुरक्षा निकाय समक्ष नगरपालिकाले आग्रह गरेको छ ।पूर्वी खण्डको कामका लागि वि.स. २०७७ माघ १७ गते सम्झौता भई वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । काम थालिएको लामो समयसम्म बजारको घर नभत्काउँदा यहाँका सडक धुलाम्मे बनेका छन् । सडकमा उडेको धुलोले सवारी साधन प्रयोगकर्तादेखि सडकयात्रु र छेउछाउमा बसोबास गर्नेहरूलाई सास्ती भएको छ । सडक नजिकका बस्तीहरूमा धुलोले असर गरेपछि स्थानीय बासिन्दा आक्रोशित छन् ।
मुआब्जा समेत निर्धारण गरिसकिकोले चाँडै भत्काएर राजमार्ग विस्तारको काम मद्धत गर्नु पर्ने पूर्वी खण्डका प्रमुख इंन्जिनियर श्यामकुमार यादवले बताउनुभयो ।सडक अतिक्रमण गरी बनाईएका घर नभत्काउँदा आयोजनाको समय अवधि लम्बिने र लागत मूल्य बढ्ने भएकोले गंभिर हुनुपर्ने यादवले बताउनुभयो ।


