दमौली खबर संवाददाता
दमौली, वैशाख ४ गते
तनहुँको बन्दीपुर गाउँपालिका–२ मुच्चुक स्थित मुकुन्देश्वरी मन्दिरमा आज चैतेदेशैंको उपलक्ष्यमा भव्य पुजाआजा गरिने भएको छ । मुकुन्देश्वरी मन्दिर दरबार निर्माण तथा संरक्षण समिति बन्दीपुर–२, मुच्चुकको आयोजनामा गरिने भएको हो । वाइसी चौविसी कालका पाल्पाली राजा मणिमुकुन्द सेन राजाद्वारा स्थापित सो मन्दिरमा वैदिक विधिपूवर्कक पुजा गरिने कार्यक्रम रहेको छ ।
सो मन्दिरमा राजा मणिमुकुन्दसेन शक्तिपुञ्ज देवी खड्गमाईको पूजाआरधना गर्दथे । अकस्मात एक दिन उनी आफ्ना गुरुखलक भट्टराई थरका ब्राह्मणको घरमा बास बस्न पुगेको र ब्राह्मणका घरमा राखिएको खड्गमा देवी चढेकोले झाक्रीको माध्यमबाट यही मुकुन्देश्वरीको चुचुरामा खड्गदेवी स्थापना गरी पूजाआजा हुँदै आएको किबदन्ती पाईन्छ । समितिका अध्यक्ष सुकुमलाल गुरुङका अनुसार शिखरमा पानीको अभाव रहँदा यहाँका बासिन्दाले नजिकैका काँठमा बसाइ सरे पछि खड्गदेवीको पूजामा निरन्तरता आउन सकेन ।
मुकुन्देश्वरी शिखरमा स्थापना गरिएको मन्दिरमा वडादशंैमा नियमित पूजाआजा नभए पछि तनहुँसुरका राजा हरकुमारदत्त सेनले बन्दीपुरका बन्दे कामीलाई बनाउन लगाएको तरवारमा खड्गदेवी प्रकट भए पछि शिखरको देवी मुकुन्देश्वरीलाई खड्गदेवीका नाउँमा पूजाआजा हुँदै आएको विश्वास गरिन्छ । अहिले बन्दीपुरको खड्गमाईको विशेष धुमधामका साथ बरालथोक, बन्दीपुरमा पूजाआजा हुँदै आएको छ ।
चैतै देशैमा विशेष कार्यक्रम गरी फूलपाती भित्राउने र बली दिने बताईएको छ । सो मन्दिरको पुनर्र्निर्माणको काम समितिले अघि बढाएको छ । प्रारम्भमा चन्दा संकलन गरी मन्दिरको पुनर्निर्माणको लागि काम अघि बढाईएको गुरुङले जानकारी दिनुभयो । चैते दशैको अष्टमीको दिन गरिने पूजाको लागि स्थानीय वासिन्दा तथा इलाका प्रहरी कार्यालय बन्दीपुर मिलेर सरसफाई गरिएको थियो । यसै व्यास नगरपालिका–१२ कलुर्ङ स्थित गुफामा पनि चैतेदशैं मेला लाग्ने भएको छ । यसैगरी व्यास नगरपालिका–४ स्थित तनहुँ कालिका मन्दिरमा विशेष पूजाआजा गरिने जनाईएको छ । जिल्लाका विभिन्न शक्तिपिठहरुमा परम्परागत बली पुजा तथा बजार लाग्ने परम्परा समेत रही आएको छ ।


