हेडलाईनसमाचार

सुविधा थप्दै दमौली अस्पताल

तनहुँको दमौली अस्पतालले पछिल्लो समय जिल्लाबासीलाई गुणस्तरिय सेवा दिनका लागी नयाँ–नयाँ यन्त्र उपकरण थप गर्न थालेको छ । लकडाउन अगाडीसम्म आफैमा बिरामी अस्पतालको परिचय बनाएको जिल्ला अस्पतालले सेवा थप्दै क्रमिक सुधारको अभियानमा देखिन्छ ।

अस्पतालमा हालै थाइराइड परिक्षण गर्ने मेसिन थपिएको छ । गण्डकी प्रदेश सरकारले मेसिन उपलब्ध गराएपछि अस्पतालले थाइराइड परीक्षणको तयारी भईरहेको अस्पताल बिकास समितिका अध्यक्ष प्रदिपराज अधिकारीले बताए ।

प्रदेश सरकारले उपलब्ध गराएको मेसिनलाई दश लाख रुपैयाँ परेको छ । ‘अस्पतालमा सेवा थप गर्ने योजना बमोजिम थाइराइड परीक्षण गर्ने उपकरण आएको हो । केही दिनमा परिक्षण पनि सुरु हुन्छ’, उनले भने । अब थाइराइडका बिरामीले चर्को शुल्क तिरेर निजि स्वास्थ्य संस्थामा परीक्षण गराउनुपर्ने बाध्यता अन्त्य हुने उनको भनाई छ ।दमौली अस्पतालबाट सेवा दिन थालिएसंगै जिल्लामै पहिलो पटक सरकारी स्वास्थ्य संस्था बिरामीले सेवा पाउनेछन् ।

अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. सुनिल पौडेल थाइराइड विशेषज्ञ हुन् । उपकरण सञ्चालनका लागि ल्याबका प्राविधिकलाई तालिम दिइने उनले बताए । ‘उपकरण जडान गर्ने बेलामा इन्जिनियर आएर तालिम दिएपछि लगत्तै सेवा दिन थाल्छौँ’, अधिकारीले भने ।

अस्पतालमा एक सात अगाडी मात्रै चार थान भेन्टिलेटर पनि ल्याइएको थियो । पछिल्लो समय अस्पताले सेवा थप गर्दै लगेको छ । केही समय अगाडी दन्त सेवाका लागी डिजिटल एक्सरे मेसिन सञ्चालनमा ल्याइएको थियो । ‘डिजिटल एक्सरे मेसिनले बिरामीको साथै स्वास्थ्यकर्मीलाई पनि सहज बनाएको छ’, दन्त सेवाका इञ्चार्ज डा. अपिल बस्नेतले भने,‘पहिला बिरामीलाई सेवा दिदाँ पुरानो मेसिनका कारण ढिलो हुन्थ्यो । नयाँ मेसिन राखेपछि कसैले पनि पालो पर्खनुपर्ने अवस्था छैन । ’

पोखरा लगायतका स्थानमा रहेका ठुला अस्पतालमा दिईने स्तरको दन्त सेवा दिन गरेको उनको भनाई छ । अहिले दैनिक एक सय देखि एक सय ५० जनासम्म बिरामीले सेवा लिने गरेका छन् । छिमेकी जिल्ला गोरखा, लमजुङ र कास्कीका विभिन्न स्थानबाट बिरामी दमौली अस्पताल आउने गरेका छन् ।

लकडाउनको समयमा टिटी सुई लगायत अधिकांश औषधि अभाव हुँदा बीमा गरेका बिरामी प्रभावित बनेको खबर सार्वजनिक भएको थियो । तर, अहिले त्यस्तो अवस्था नरहेको अध्यक्ष अधिकारीले दाबी गरे । लकडाउन पछि अस्पतालमा नयाँ मेशिन जडान र स्तरोन्नतीमा ४ करोड रुपैयाँ बराबर खर्च उनले जानकारी दिए ।

२०५९ सालमा अस्पतालको रुपमा स्तरोन्नति भएको दमौली अस्पताल उपकरण थप्ने अभियानमा जुटेको छ । गत महिना मात्रै अस्पतालमा एनेस्थेसिया मेसिन जडान गरियो । बिना अक्सिजन शल्यक्रिया गर्न सकिने २० लाख रुपैयाँ बराबरको उक्त मेसिन स्वास्थ्य तथा जनससंख्या मन्त्रालयले उपलब्ध गराएको थियो ।

ऋस्पतालमा करीब दुई महिनादेखि आँखा परीक्षण यन्त्र र एक महिनादेखि एक्सरे मेशिन बिग्रिएका छन् । १५ शैय्या क्षमताको प्रादेशिक ‘क’ वर्गको अस्पतालले आँखा, दाँत, डायलाइसिस, भिडियो एक्सरे, एक्सरे, प्रसूति , ओपिडी, मानसिक, एचआइभी संक्रमितका लागि एआरटी, क्षयरोग, प्रयोगशाला, स्वास्थ्य बीमा, गर्भवती , खोप, औषधालय लगायत सेवा प्रदान गर्दै आएको छ ।

१५ शैय्याको अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्ने तयारी छ । त्यसका लागी जग्गा अभावले समस्या उत्पन्न गराएको छ । प्रदेश सरकार मातहत रहेका दुई सरकारी कार्यालयको जग्गा उपलब्ध गराइदिन मुख्यमन्त्रीसँग अस्पताल प्रशासनले अनुरोध गरेको छ । । कृषि ज्ञान केन्द्रको स्वामित्वको जग्गामध्येबाट पाँच रोपनी र भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्वामित्वको जग्गा आठ रोपनी अस्पताललाई उपलब्ध गराउन माग गरिएको हो ।

अस्पतालमा मातहतमा हाल साढे १५ रोपनी जग्गा रहेको छ । ५० शैय्याको अस्पताल बनाउन कम्तिमा ३५ रोपनी जग्गा आवश्यक पर्दछ । अध्यक्ष अधिकारीले अस्पताल स्तरोन्नति गर्न सकिए विशेषज्ञसहितको थप सेवा दिन सकिने बताए ।

Show More

Related Articles

Back to top button