दमौली खबर संवाददाता
दमौली, भदौ ११
व्यास नगरपालिका वडा नं. ५ को कार्यालयले सामुदायिक विद्यालयहरुको आधारभूत विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरुसँग बिहिबार अन्तरक्रिया गरेको छ ।
शैक्षिक गुणस्तर सुधार गर्न अन्तरक्रिया गरिएको हो । वडामा रहेको ५ वटा आधारभूत विद्यालयका प्रधानाध्यापक र अध्यक्षसँग वडाका जनप्रतिनिधिहरुले अन्तरक्रियामा सहभागिता रहेको थियो । वडाभित्र रहेका विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार गर्न सबैले चासो र चिन्ता व्यक्त गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए । सामुदायिक विद्यालयहरुबाट हुने सिकाइ उपलब्धीलाई थप प्रभावकारी बनाउन के गर्नुपर्ला भन्ने विषयमा प्रधानाध्यापक र अध्यक्षहरुसँग राय, सल्लाह र सुझाव संकलन गरिएको थियो । व्यास नगरपालिका वडा नं. ५ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ (हिमाल) ले वडाभित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारमा आफुहरु लागेको बताउनुभयो । हामीले शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेका वडाध्यक्ष श्रेष्ठको भनाई थियो । घर बलियो बनाउन जग बलियो हुनुपर्छ भन्दै अध्यक्ष श्रेष्ठले सामुदायिक विद्यालयहरु राम्रो बनाउन बाल विकास र कक्षा १ देखि नै बालबालिकाहरु राम्रो हुनुपर्ने बताउनुभयो । वडा सदस्य सुन्दर वाग्लेले शिक्षक, विद्यार्थी र अभिभावकहरु एक हुन सके सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार हुुने बताउनुभयो । सामुदायिक विद्यालयहरुमा दक्ष र योग्य शिक्षक हुँदाहुँदै पनि अभिभावकहरु बालबालिकाहरु लिएर किन जान सकिरहेका छैनन त्यसको कारण खोज्नुपर्ने वाग्लेको भनाई थियो । अर्का वडा सदस्य खिम थापाले पनि वडा नं. ५ का विद्यालयहरुलाई नमुना विद्यालय बनाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
प्रधानाध्यापकहरुले विद्यालयहरुलाई मसलन्द खर्चको वडाले व्यवस्थापन गर्नुपर्ने, दिवा खाजामा रकम बढाउनुपर्ने, विद्युत, खानेपानी, इन्टरनेटको व्यवस्था गर्नुपर्ने, भौतिक पूर्वाधारहरु पर्याप्त मात्रामा निर्माण गर्नुपर्ने, पर्याप्त शैक्षिक सामग्रीहरुको व्यवस्था वडा कार्यालयहरुले मिलाइदिनुपर्ने सुझाव दिएका थिए ।
शुक्र आधारभूत विद्यालयका प्रधानाध्यापक टिकाराम दाहाल, सिन्धु आविका प्रधानाध्यापक मदन वाग्ले, संगम प्राविका प्रधानाध्यापक सोम थापा, मानुङ प्राविका प्र.अ. झुलबहादुर थापा, पदम प्राविका प्र.अ. कृष्ण परियार, लगायतकाले सामुदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्ष जिम्मेबार हुनुपर्नेमा जोड दिनु भएको थियो ।



