समाचारव्यास

व्यास नगरपालिकाले स्थापना दिवस मनाउने

तनहुँको व्यास नगरपालिकाले स्थापना दिवस मनाउने भएको छ । विसं २०४८ सालमा स्थापना भएको नगरपालिकाले चैत ३० गते २९ औ स्थापना दिवस मनाउने तयारी गरेको हो । स्थापना दिवस भव्य रुपमा मनाउन नगरप्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा ७ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको छ। शुक्रबार सम्पन्न कार्यपालिकाको बैठकले उक्त समिति गठन गरेको हो । साथै नगरपालिकाले गरेको उल्लेखनीय कार्यहरुको प्रकाशन तयार गर्न नगर शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीको अध्यक्षतामा सबै शाखा प्रमुख रहने गरी प्रकाशन समिति गठन गरिएको छ ।

व्यास नगरपालिका भित्रका सामुदायीक तथा संस्थागत विद्यालयहरुको व्यवस्थापन समितिको ३ वर्षे कार्यकाल समाप्त हुने भएकाले २०७८ जेठ मसान्त भित्र नयाँ व्यवस्थापन समिति गठन गर्न शिक्षा तथा सामाजिक विकास शाखालाई निर्देशन दिने र आ–आफ्ना वडा भित्रका विद्यालय व्यवस्थापन समिति गठन कार्यको अनुगमन गर्ने कार्यको जिम्मेवारी सम्बन्धित वडा अध्यक्षहरुलाई तोक्ने निर्णय समेत शुक्रबार बस्ने वैठकले गरेको छ । व्यास नगरपालिका भित्र युवाहरुको सहभागितामा युवाका लागि शहर भन्ने अवधारणा बमोजिम यस नगरपालिकाका महत्पुर्ण स्थानहरुको डिजिटल नक्साङ्कन तयार गर्ने कार्य अघि बढाउने निर्णय पनि गरेको छ ।

त्यस्तै व्यास नगरपालिका भित्र प्राकृतिक श्रोत बाट प्राप्त हुने आयलाई खर्च व्यवस्थापन सम्बन्धि कार्यविधि तयार गर्न सैदान्तिक सहमति गरी कार्यविधि पेश गर्न विधायन समितिलाई जिम्मा दिने भएको छ । भुमीहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा वितरण एवं दर्ता सम्बन्धमा कार्यविधि अनुरुप न.पा मा शहरी, अर्ध शहरी र ग्रामिण क्षेत्र तोक्ने भएको छ । बैठकले व्यास नगरपालिका भित्रका विद्यालयहरुमा प्रविधिमैत्री शिक्षा अघि बढाउन हरेक वडामा मा.वि तथा आधारभुत विद्यालयहरु मध्ये १÷१ विद्यालय छनोट गर्ने निर्णय पनि गरेको छ ।

Show More

Related Articles

Back to top button