Uncategorizedपत्रपत्रिकाबाट

व्यासका सबै वडा तथा स्वास्थ्य केन्द्र भाडामुक्त हुदै

दमौली खबर सम्बाददाता
जेठ २६, दमौली । तनहुँको व्यासनगरपालिको चौध वटै वडामा वडा कार्यालय र स्वास्थ्य केन्द्रका आ–आफ्नै कार्यालय भवन निर्माण भएपछि भाडामुक्त हुदै गएका छन् ।  व्यासनगरपालिकाको आर्थिक सहयोगमा प्रत्येक वडामा वडा कार्यालय र स्वास्थ्य केन्द्र भवन निर्माण सम्पन्न हुदै गएपछि व्यासका सबै स्थानीय तह भाडामुक्त हुदै गएका हुन् ।  स्थानीय तहका आफ्नै कार्यालय नहुँदा भाडामा लिएर कार्यालय संञ्चालन गर्नुपर्ने समस्या थियो,बर्षेनी भाडा तिर्नुपर्ने अवस्थाको अन्त्य गर्दै व्यासनगरपालिकाले सबै वडालाई भाडामुक्त बनाउन सफल भएको छ ।

चौध वटा वडा मध्ये बाँकी रहेको व्यासनगरपालिका–१ नं वडाले समेत आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण गरी वडा कार्यालय भवन निर्माणको लागि शुरु गरेपछि भाडामुक्त हुदै गएको व्यासनगरपालिका कार्यालयले जनाएको छ ।
करिब आठ आना क्षेत्रफल जग्गामा रु.५० लाखको लागतमा दुई ढलानको वडा कार्यालय भवन निर्माण गर्नका लागि जमिन खार्ने काम भैरहेको वडाध्यक्ष खरसिं दरैले बताए । वडा कार्यालयको पहिलो तलामा हल सहित दुई र दोस्रो तलामा तीन वटा कोठा हुनेछ । उक्त भवन आर्थिक बर्ष ०७७÷०७८ मा सम्पन्न गर्ने लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ । उक्त वडा कार्यालयको भवन गतबर्ष नै सम्पन्न गर्ने लक्ष्य रहेपनि जग्गाको बिषयमा विवाद हुँदा निर्माण कार्य एक बर्ष पछि धकेलिन पुगेको हो ।
त्यसैगरी व्यासनगरपालिका–१ स्थित चारकुनेमा आधारभूत स्वास्थ्य केन्द्र भवनको निर्माण कार्य सम्पन्न गरी अहिले रङ्रोगन गर्ने कार्य भैरहेको छ । करिब रु.६३ लाखको लागतमा साढे तीन आना क्षेत्रफल जग्गामा एक ढलानको ६ कोठे स्वास्थ्य केन्द्र भवन निर्माण गरिएको वडाध्यक्ष दरैले बताए । व्यासनगरपालिकाको वडा नं १२, १३ र १४ मा भने साबिकको गाउँपालिकाको कार्यालय रहेको स्थानमा वडा कार्यालय र स्वास्थ्य केन्द्र संञ्चालन गरिदै आएको व्यासनगरपालिका–१४ का वडाध्यक्ष काजीमान श्रेष्ठले जानकारी दिए ।
वडामा आयुर्वेदिक स्वास्थ्य केन्द्र भवन निर्माण भएपनि आधारभूत स्वास्थ्य केन्द्र भने पुरानै संरचनाबाट संञ्चालन गरिएको उनले बताए । त्यसैगरी यसै आर्थिक बर्ष ०७६÷०७७ मा व्यासनगरपालिका– ७ को वडा कार्यालय भवन निर्माण गरिएको छ । करिब रु.७० लाखको लागतमा वडा कार्यालय भवन निर्माण गरिएपछि गत मंसिर महिना देखि आफ्नै भवनमा बसेर काम गर्दै आएको व्यासनगरपालिका–७ का वडाध्यक्ष सतिशचन्द्र न्यौपानेले बताए । वडामा आधारभूत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य केन्द्र समेत रहेका छन् । उनले भने ‘दुबै स्वास्थ्य केन्द्रले आ–आफ्नै भवनमा कार्यालय संञ्चालन गर्दै आएका छन् ।’ नगरपालिका भित्र रहेका सबै वडा तथा स्वास्थ्य केन्द्रका आफ्नै भवन निर्माण गर्नका लागि नगरपालिकाले भौगोलिक अवस्था अनुरुप बजेट बिनियोजन गरेको व्यासनगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए । नगरपालिकाको सबै वडा र स्वास्थ्य केन्द्रलाई भाडामुक्त बनाउने उद्देश्य अनुरुप बजेट बिनियोजन गरी निर्माण कार्य सम्पन्न गरिएको उनले जानकारी दिए ।
व्यासनगरपालिका–५ को वडा कार्यालय भवन निर्माण सम्पन्न गरी सर्न मात्रै बाँकी रहेको र व्यासनगरपालिका–१ को वडा कार्यालय निर्माण प्रक्रियामा रहेको छ । उनले भने ‘उक्त भवन कार्तिक÷मंसिर महिना सम्म सम्पन्न हुने बिश्वास गरिएको छ ।’–––

Show More

Related Articles

Back to top button