Uncategorizedपत्रपत्रिकाबाट

राहतको सट्टा रोजगारी दिदै बन्दिपुर गाँउपालिका

दमौली खबर सम्बाददाता
जेठ २६ दमौली, तनहुँको बन्दीपुर गाँउपालिका वडा नं २ की तुलमाया मगर मजदुरी काम गर्छिन् ।
लकडाउन भएसँगै उनले काम गर्न पाएकी छैनन् । स्थानीय सरकारले उनलाई लकडाउनबाट प्रभावित भएको भन्दै राहत पनि उपलब्ध गरायो ।उनले तेस्रो चरणको राहत समेत पाइसकिन् । तर लकडाउन लम्बिँदै जाँदा उनले पाएको राहत पनि सकियो । उनि फेरि राहत माग्न गाउँपालिका पुगिन् ।तेस्रो चरणको राहत पाइसकेकी उनले घरमा खाना सकिएपछि पुनः राहातका लागि गाँउपालिकामा पुगेकी थिइन् । उनलाई गाउँपालिकाले राहत हैन, अब श्रम गर्ने ठाउँ सिकाएर पठाइदियो ।

उनी राहतको सट्टामा श्रममा गइन् । पहिलेजस्तै काम पाएपछि उनले राहत माग्नुपर्ने अवस्था आएन । सोही वडाकी निर्माण मजदुर अमृता स्यातन पनि राहत माग्न वडा कार्यालय पुगिन् । वडाका जनप्रतिनिधिले राहत नदिने बरु काम खोजिदिने भन्दै काममा पठाइदिए । उनी पनि नियमित रुपमा अहिले श्रम गरिरहेका छन् ।दुबै जनाले राहतले २÷४ छाक टार्न मात्रै सहज भएको अवस्थामा काम नै पाइएपछि अभावको समस्या हटेको बताए ।उनीहरुले नियमित काम पाउँदा खुसी भएको सुनाए । यी दुई जना मात्र होइन, १० महिला र १७ पुरुष गरी अहिले २७ जनाले एक महिनाको रोजगारी पाएका छन् ।

बन्दीपुरमा यतिवेला राहत बन्द गरेर राहतलाई श्रमसँग जोडेपछि धेरै श्रमिकहरु काममा जुटेका छन् ।तेस्रो चरणमा गाँउपालिकाभित्रका गरीब, विपन्न र श्रमिकहरुलाई राहत वितरण गरेपछि गाँउपालिकले राहतको साटो श्रम दिएर पारिश्रमिक दिन थालेको छ ।
राहतको चाप अत्यधिक बढ्न थालेपछि त्यसको व्यवस्थापन र दीर्घकालीन समस्या समाधानका लागि राहतको साटो श्रम दिन लागिएको गाँउपालिका अध्यक्ष पूर्णसिं थापाले बताए ।‘राहात अल्पकालीन हुन्छ। सुरक्षित भएर श्रम गर्ने वातावरण भएमा त्यो दीर्घकालिन हुन्छ भनेर यो नीति ल्याएका हौँ । अहिले वास्तविक विपन्न, श्रमिक, गरीबले काम गरेर खाने वातावरण बनेको छ’, उनले भने, ‘असक्त, वृद्धहरुलाई भने गाँउपालिकाले आवश्यकता अनुसार राहात दिइरहेका छौं ।’ बन्दिपुरमा थप पर्यटनलाई आकर्षित गर्नका लागि अहिले निर्माण गर्न लागिएको मुकुन्देश्रवरी रामकोट साइकल लेनका लागि स्थानीय मजदुरहरुलाई काम दिइएको हो ।

प्रधानमन्त्री रोजगारी कार्यक्रम अन्तरगत कामका लागि पारिश्रमिकमा आधारित उक्त योजना सुरु गरिएको अध्यक्ष थापाले बताए ।
साढे पाँच लाखको बजेट रहेको उक्त लेन पाँच किलोमिटर लामो बन्नेछ । । अध्यक्ष थापाले भने, ‘लेन निर्माण कार्य सकिएपछि साईकल यात्रीहरु प्राकृतिक सौन्दर्य र रमणीय हिमालहरुको मनोरम दृश्यवलोकन गर्दै पर्यटकीय गाँउ रामकोट पुग्न सक्छन् ।’
विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरेर मात्र उक्त आयोजना सुरु गरिएको उनले बताए । अहिले गाँउपालिकाभित्र अलपत्र परेका विकास निर्माणका काम सुरु भएका छन् ।
कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण जिल्लामा चैत ११ देखि नै विकास निर्माणका काम ठप्प थिए । अहिले भने लकडाउन कायम रहेकै अवस्थामा विकास निर्माणका केही काम सुरु गरिएका छन् ।

Show More

Related Articles

Back to top button