समाचार

मानहुँकोटमा केबलकार सहितको रिसोर्ट बनाउने प्रस्ताव

जिल्लाको पर्यटकी गन्तव्यको रुपमा परिचित मानहुँकोटमा केबलकार, जिपलाइनसहित रिसोर्ट बनाउने प्रस्ताव आएको छ । व्यास हिल्स प्राइभेट लिमिटेडेको नाममा उद्योगी आनन्द बतासको समूहले करिब ४ अर्बको लगानी गर्ने गरी प्रस्ताव गरेका हुन् । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले करिब चार अर्ब लगानी गर्ने गरी व्यास हिल्सको नाममा प्रस्ताव परेको जानकारी दिए । कम्पनीको प्रस्तावपछि नगरपालिकाले विस्तृत परियोजना रिपोर्ट (डीपीआर) का लागि स्वीकृत प्रदान गरिएको उनले बताए। उनले भने,‘

स्विमिङ पुलसहितको रिसोर्ट, जिपलाइन, केबलकार बनाउने प्रस्ताव आएको छ । हामीले डीपीआरका लागि अनुमति दिएका छौं’ उनले भने । कम्पनीले पाटनबाट मानहुँकोटसम्म जिपलाइन एवं केबलकार बनाउने प्रस्ताव रहेको छ । कम्पनीले उक्त परियोजनाका लागि केही जग्गा खरिद गर्ने र केही जग्गा भाडामा लिनको लागि पनि नगरपालिकासँग प्रस्ताव गरेको छ । कम्पनीले ४० रोपनी भाडाको लागि माग गरेको छ । कम्पनीले ग्लास पुल अर्थात् ‘सिसाको पुल’ बनाउने प्रस्ताव गरेको पनि उनले जानकारी दिए ।

मानहुँकोटमा जिपलाइनका लागि यसअघि पनि प्रस्ताव गएका थिए तर लगानीकर्ताले त्यसलाई निरन्तरता दिएनन् । नगरप्रमुख न्यौपानेका अनुसार यो आकारको लगानीका लागि पहिलोपटक प्रस्ताव आएको हो । यस्तै २÷३ वर्षअगाडि एक कम्पनीले केबलकारको पनि प्रस्ताव गरेको थियो तर त्यसले काम नै अगाडि बढाउन नसकेको उनले बताए । व्यास नगरपालिकाको विकासका लागि लगानीकर्तालाई आकर्षित गर्ने कानुन बनाइरहेको बताए ।

“नगरपालिकामा लगानीकर्ताको आकर्षण आउनु राम्रो पक्ष हो । हामीले उद्योगमैत्री ढंगबाट निजी लगानीकर्तालाई आकर्षित गर्ने गरी कानुन बनाइरहेका छौं,’ उनले भने । उनका अनुसार नगरपालिकाले सार्वजनिक निजी साझेदारी नियमावली पारित गरिसकेको छ । “नगरपालिकाले मात्रै सबै किसिमको विकास गर्न सक्दैन । लगानीकर्ता जलविद्युत्तिर आकर्षित भएका थिए अहिले पर्यटन उद्योगतर्फ लागेका छन्’ उनले भने, “यो व्यास नगरपालिकाको विकासको टर्निङ पोइन्ट पनि हुन सक्छ ।” व्यास नगरपालिकाको विकासका लागि गुरुयोजना पनि बनाइरहेको मेयर न्यौपानेले बताए । उनका अनुसार गुरुयोजना अन्तिम चरणमा पुगेको छ ।

Show More

Related Articles

Back to top button