हेडलाईनसमाचारबन्दीपुर

मकुन्देश्वरी मन्दिरमा भव्य रुपमा चैतेदशैं मेला सम्पन्न

दमौली खबर संवाददाता

दमौली, वैशाख ४ गते

तनहुँको बन्दीपुर गाउँपालिका–२ मुच्चुक स्थित मुकुन्देश्वरी मन्दिरमा आयोजित चैते दशैं मेला भव्य रुपमा सम्पन्न भएको छ । चैतेदेशैंको उपलक्ष्यमा मुकुन्देश्वरी मन्दिर, दरबार निर्माण तथा संरक्षण समिति बन्दीपुर–२, मुच्चुकको आयोजनामा गरिएको मेलाको गण्डकी प्रदेशका विना विभागीय मन्त्री हरिबहादुर चुमानले उद्घाटन गर्नु भएको थियो ।

सो अवसरमा मन्त्री चुमानले गण्डकी प्रदेश सरकारले समृद्धिको मूख्य आधार धार्मिक पर्यटन भएकोले यसको विकासको लागि पहिलो प्राथमिकता राखेको बताउनुभयो । त्यसपछि गण्डकी प्रदेशको मूख्य आम्दानीको स्रोत जलस्रोत भएकोले त्यसको प्रबद्र्धन गर्ने बताउनुभयो । कृषिमा आत्मनिर्भर प्रदेश बन्न प्रदेश सरकारले योजना बनाएको उहाँको भनाई थियो । मुकुन्देश्वरी मन्दिर, दरबार क्षेत्रको विकासको लागि गाउँपालिकाले पहिलो नम्बरमा राखेर पठाएमा प्रदेशको तर्फबाट आफूले बजेट विनियोजन गर्न पहलकदी गर्ने मन्त्री चुमानले बताउनुभयो ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले यो ऐतिहासिक स्थलको अनुसन्धान गरेर प्राचिन स्वरुपलाई नबिगारी धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा विकास गर्न गाउँपालिका लागेको बताउनुभयो । विपी विचार समाज तनहुँका अध्यक्ष हरिशरण पण्डितले लामो समय देखि नेपालमा हिन्दुत्वको प्रभाव परेकोले यो देशमा धार्मिक पर्यटनको प्रयाप्त सम्भावना रहेकोले यसैबाट देशको विकास हुने बताउनुभयो । मुकुन्देश्वरी मन्दिर, दरबार निर्माण तथा संरक्षण समिति बन्दीपुर–२, मुच्चुका अध्यक्ष सुकुमलाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी रेशमलाल गुरुङले गर्नु भएको थियो । वाइसी चौविसी कालका पाल्पाली राजा मणिमुकुन्द सेन राजाद्वारा स्थापित सो मन्दिरमा चैते देशैंको उपलक्ष्यमा वैदिक विधिपूवर्कक पूजा गरिएको थियो ।

सो मन्दिरमा राजा मणिमुकुन्दसेन शक्तिपुञ्ज देवी खड्गमाईको पूजाआरधना गर्दथे । अकस्मात एक दिन उनी आफ्ना गुरुखलक भट्टराई थरका ब्राह्मणको घरमा बास बस्न पुगेको र ब्राह्मणका घरमा राखिएको खड्गमा देवी चढेकोले झाक्रीको माध्यमबाट यही मुकुन्देश्वरीको चुचुरामा खड्गदेवी स्थापना गरी पूजाआजा हुँदै आएको किबदन्ती पाईन्छ । समितिका अध्यक्ष सुकुमलाल गुरुङका अनुसार शिखरमा पानीको अभाव रहँदा यहाँका बासिन्दाले नजिकैका काँठमा बसाइ सरे पछि खड्गदेवीको पूजामा निरन्तरता आउन सकेन । मुकुन्देश्वरी शिखरमा स्थापना गरिएको मन्दिरमा वडादशैमा नियमित पूजाआजा नभए पछि तनहुँसुरका राजा हरकुमारदत्त सेनले बन्दीपुरका बन्दे कामीलाई बनाउन लगाएको तरवारमा खड्गदेवी प्रकट भए पछि शिखरको देवी मुकुन्देश्वरीलाई खड्गदेवीका नाउँमा पूजाआजा हुँदै आएको विश्वास गरिन्छ । अहिले बन्दीपुरको खड्गमाईको विशेष धुमधामका साथ बरालथोक, बन्दीपुरमा पूजाआजा हुँदै आएको छ ।

Show More

Related Articles

Back to top button